नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिकामा ‘मेट्रिक’ घर नम्बर प्रणाली आजदेखि सुरु भएको छ। नेपालगञ्ज-१२ बीपी चोकमा ‘विपी मार्ग रोड नेम प्लेट’ को शुभारम्भ गर्दै नगरप्रमुख प्रशान्त विष्टले मेट्रिक घर प्रणाली सुरु गरेका हुन्।
रोड नेम प्लेटको शुभारम्भपछि नगरप्रमुख विष्ट र उपप्रमुख कमरुद्दिन राईले उपमहानगरपालिका कार्यालयमा घर नम्बर प्लेट राखेर अभियानको सुरुवात गरेका थिए। पहिलो चरणमा वडा नं १२ का ५० घरमा परीक्षणका रूपमा नम्बर प्लेट राखिने उपमहानगरपालिकाका इन्जिनियर चन्दनराज दासले जानकारी दिए।
पहिलो चरणमा परीक्षणका रुपमा घर नम्बर प्लेट राख्न सुरु गरिएको उल्लेख गर्दै दासले वडा नं १ देखि २३ का सबै घरलाई मेट्रिक घर नम्बर प्रणालीमा जोड्ने लक्ष्य रहेको बताए। चालु आर्थिक वर्षमा वडा नम्बर १ का लागि १० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ।
सो प्रणालीमा मूल सडकको मुख्य बिन्दुदेखि मिटर (दुरी) का हिसाबले घरमा ‘नम्बरिङ’ गरिन्छ। मूल सडकको मुख्य बिन्दु देखि जति दुरी (मिटर)मा घर अवस्थित छ, त्यति नै नम्बर उक्त घरलाई दिइनेछ। मुख्य बिन्दुदेखि दायाँतिर जोड नम्बर र बायाँतिर बिजोर नम्बर राखिने दासले जानकारी दिए।
मेट्रिक घर नम्बर प्रणालीमा सफ्टवेयरमा घरको फोटो, घरधनीको नाम, कित्ता नम्बरलगायत सामाजिक, आर्थिक तथ्यांक प्रविष्ट गरिएको बताइएको छ। 'परीक्षणका रूपमा जापान अन्तर्राष्ट्रिय सहयोग नियो (जीआइजेड) ले हामीलाई उपलब्ध गराएको सफ्टवेयरमा घरको डाटा इन्ट्री गरेपश्चात दोस्रो चरणमा नम्बर प्लेट राख्छौँ', इञ्जिनियर दासले भने, 'यो प्रणाली सुरु भएपछि नागरिक (सेवाग्राही) को घर-घर जानुपर्दैन, आवश्यक सूचना सफ्टवेयरबाटै लिन सकिन्छ।'
नेपालगञ्जमा पहिलो चरणमा १० ठाउँमा रोड नेम प्लेट राखिनेछ। हाललाई कौशल्या मार्ग, विपी मार्ग, इदगाहा मार्ग, प्रगतिनगर मार्ग, आदर्शनगर मार्ग, कर्मशा मार्ग, शीतलनगर मार्ग, कस्तुरी मार्ग, बागेश्वरी मार्ग र खजुरा रोड नामका रोड नेम प्लेट राखिने उपमहानगरपालिकाले जनाएको छ।
नगरप्रमुख विष्टले नगरलाई ‘डिजिटलाइज’ गर्ने अभियानमा लागि परेको बताउँदै नागरिक-स्थानीय सरकारबीच सहज पहुँचका लागि घर नम्बर प्रणाली लागु गरिएको उल्लेख गरे। नगरको एकीकृत दिगो विकास र समृद्धिका लागि उपमहानगरपालिकाले थुप्रै योजना अघि सारेको जनाउँदै विष्टले प्रविधिको उच्चतम् प्रयोग गरेर अघि बढ्ने लक्ष्य भएको बताए। उपप्रमुख राईले यसबाट हरेक घरको जानकारी उपमहानगरपालिकालाई हुने हुँदा सहज हुने बताए। रासस