शुक्रबार, जेठ ४ गते २०८१    
images
images
निगम व्यवस्थापनको चरम लापरबाही

न्यारोबडी जहाज एक महिनादेखि ग्राउन्डेड, इन्जिन भाडा र आम्दानीबाट गुम्यो ३६ करोड

९० दिनमा मर्मत हुनुपर्ने इन्जिनको सय दिनमा पनि छैन अत्तोपत्तो

images
बिहीबार , पुस १२ २०८०
images
images
न्यारोबडी जहाज एक महिनादेखि ग्राउन्डेड, इन्जिन भाडा र आम्दानीबाट गुम्यो ३६ करोड

जहाज विमानस्थलमा ग्राउन्डेड भएर बस्दामात्रै दैनिक १ करोड १५ लाख रुपैयाँ निगमले गुमाइरहेको छ। यही हिसाबमा जहाज उडानबाट एक महिनामा आउने ३४ करोड ५० लाख रुपैयाँ आम्दानी गुमिसकेको छ।

images
images

काठमाडौं- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को एउटा न्यारोबडी जहाज एक महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको छ। निगमको कल साइन 'नाइन एन एकेएक्स एयरबस ३२०' जहाजको इन्जिनमा समस्या देखिपछि एक महिनादेखि ग्राउन्डेड भएको हो।

images
images
images

जहाज उडानका लागि इन्जिन मर्मतको काम हुन सकेको छैन। इन्जिन मर्मत कहिले हुन्छ त्यसको कुनै यकीन पनि छैन। ग्राउन्डेड जहाज उडानमा नरहे पनि जहाजमा प्रयोग भएको भाडाको इन्जिनबापतको रकम भने तिर्नु पर्ने छ।

images

जहाज उडानमा नहुँदा पनि इन्जिन भाडाबापत दैनिक २ हजार डलर तिर्नु पर्छ। एक महिनामै ग्राउन्डेड जहाजको इन्जिन भाडामा निगमको ६० हजार डलर खर्च भइसकेको छ। प्रतिडलर १ सय ३३ रुपैयाँ ६६ पैसाको दरमा एक महिनादेखि ग्राउन्डेड जहाजमा प्रयोग भएको इन्जिन भाडामा मात्रै निगमले ८० लाख १९ हजार रुपैयाँ खर्च गरिसकेको छ। 

images
images

यसबाहेक पनि एक महिनादेखि जहाज ग्राउन्डेड हुँदा निगमले करिब ३५ करोड आम्दानी गुमाइसकेको छ। इन्जिन मर्मत गरेर जहाजलाई उडानयोग्य बनाउनुको सट्टा निगम अध्यक्ष युवराज अधिरकारी आफ्नो कमजोरी लुकाउन नियाकमविरुद्ध कर्मचारीलाई आन्दोलित बनाइरहेका छन्। जहाज मर्मतमा समेत उनले कुनै ध्यान दिएका छैनन्। 

images
images

जहाज विमानस्थलमा ग्राउन्डेड भएर बस्दामात्रै दैनिक १ करोड १५ लाख रुपैयाँ निगमले गुमाइरहेको छ। यही हिसाबमा जहाज उडानबाट एक महिनामा आउने ३४ करोड ५० लाख रुपैयाँ आम्दानी गुमिसकेको छ।

यता निगम व्यवस्थापनले भने कोभिड कालसँगको आम्दानीलाई तुलना गरेर आम्दानी बढेको गलत प्रचार गरिरहेको छ। आम्दानी बढेको प्रचार गरेपनि निगमले गत आर्थिक वर्ष २०७९/२०८० मा आफूले गरेको खर्चको विवरण भने लुकाएको छ।

निगम अध्ययन दलबाट केही महिनाअगाडि सार्वजनिक भएको रिपोर्टलाई आधार मान्ने हो भने निगम गत आवमा साढे २ अर्बभन्दा बढी रकम घाटामा छ। घाटामा गएका कारण निमगले खर्च विवरण लुकाएको हो।

२०८० को बैशाखसम्ममा गत आवको १० महिनामा निगम २ अर्ब १६ करोड घाटामा थियो। १० महिनामा १६ अर्ब ९६ करोड आम्दानी भएको थियो तर २ महिनामा थप ५ अर्ब २८ करोड आम्दानी भएको झुटो विवरण जोडेर निगमले गत आवमा २२ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको प्रचार गरिरेको छ। 

जहाज ग्राउन्डेड भएर कति घाटा बेहोर्नु परेको हो त्यसको विवरण भने गुपचुप राखिएको छ। निगम अध्यक्ष अधिकारीले कर्मचारीलाई निगमको खर्च विवरण मिडियामा सार्वजनिक भएमा कारबाही गर्ने चेतावनी दिएर बसेका छन्। चेतावनीकै कारण कर्मचारी केही बोल्दैनन्।
 
निगम प्रवक्ता रमेश पौडेलले पनि निगमको खर्च विवरण आवश्यकताअनुसार सार्वजनिक गर्ने बताइरहेका छन्। आम्दानी विवरणको विज्ञप्तीमा हस्ताक्षर गर्ने प्रवक्ता पौडेलसमेत आफूलाई नाफाघाटाको विषयमा केही थाहा नभएको बताउँछन्।

राजनीति दल तथा नेताहरूले समेत निगमको बदमासीमा कुनै चासो राखेका छैनन्। अनावश्यक विषयमा हतार हतारमा राष्ट्रवादको लेपन लगाउन विज्ञप्ती जारी गर्न भ्याउने दलहरूसमेत यस विषयमा बोलेका छैनन्। एक महिनादेखि निगमको जहाज ग्राउन्डेड हुँदा कति आम्दानी गुमाएको छ भन्ने विषयमा उनीहरू प्रश्न गर्दैनन्।

एक महिनादेखि एयरबस ३२० ग्राउन्डेड हुँदामात्रै निगमलाई ३६ करोड रुपैयाँ घाटा भइसकेको छ। जहाज २०२३ को जुलाई १६ देखि सेप्टेम्बर १७ सम्म काठमाडौं विमानस्थलमा नै इन्जिनमा समस्या देखिएर ग्राउन्डेड भएको थियो। उक्त समयमा पनि जहाजको इन्जिनमा नै समस्या आएको थियो।

इन्जिन मर्मतका लागि १७ सेप्टेम्बरमा जहाज इजरायलको आईएआईमा लगेर बुझाएको थियो। बिग्रिएको इन्जिन छोडेर भाडाको इन्जिन जडान गरेर जहाज २८ सेप्टेम्बरमा काठमाडौं आएको थियो। उक्त समयमा पनि जहाज विमानस्थलमा ६१ दिन ग्राउन्डेड भएको थियो। ६१ दिन ग्राउन्डेड हुँदा निगमले एयरबस ३२० उडानमा हुने ७० करोडभन्दा बढी आम्दानी गुमाएको थियो। त्यसपछि भाडाको इन्जिन हालेर उडानमा ल्याइएको जहाज फेरि ३० नोभेम्बरदेखि ग्राउन्डेड भएर बसेको छ। 

अधिकतम ९० दिनमा मर्मत हुनु पर्ने इन्जिन एक सय दिन हुँदा पनि मर्मत भएन

सेप्टेम्बर १७ मा इजरायलमा मर्मतका लागि पठाइएको इन्जिन अझै मर्मत भएको छैन। इन्जिन मर्मतको अधिकतम समय ९० दिन हो तर एक सय दिनभन्दा बढी हुँदा पनि इन्जिन मर्मत भएको छैन।

इन्जिन मर्मतमा ढिलाइ गर्दै भाडाको इन्जिन रकममा कमिसन खाने प्रवृति बढेको निगम स्रोत बताउँछ।

अहिले इजरायलमा मर्मतका लागि पठाइएको इन्जिनमा सामान्यमात्रै समस्या देखिएको थियो। कम्पनीले दुईमहिनाभित्रै इन्जिन दिने बताए पनि एक सय दिन हुँदा पनि इन्जिन बनाएर दिन सकेको छैन।

कम्पनीले इन्जिन मर्मतमा ढिला गर्नुको कारण जुन कम्पनीले इन्जिन मर्मतको जिम्मा पाएको छ उसैको इन्जिन भाडामा लिइएको छ।

भाडामा लिइएको इन्जिन प्रयोग भएको जहाज उडान नहुँदा पनि दैनिक २ हजार डलर निगमले तिर्नु पर्छ र कम्पनीलाई इन्जिन भाडाको समय जति लम्ब्याउँदै गयो त्यति नै फाइदा हुन्छ। निगम व्यवस्थापनले पनि त्यसमा कमिसन पाउँछन्। जसका कारण इन्जिन मर्मतमा कुनै चासो दिइएको छैन।


प्रकाशित : बिहीबार , पुस १२ २०८०११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend