नारायणगढ- चितवनको भरतपुर महानगरपालिकाले महानगरभित्र राडारजडित क्यामरा जडान गरिने भएको छ। मुख्य सहरी क्षेत्रमा महानगरले चार सय १६ उच्चस्तरीय राडारजडित क्यामेरा जडान गर्न लागिएको हो।
यसरी सडकमा जडान गरिएका क्यामराले तीव्र गतिमा गुडिरहेको सवारीसाधनको पहिचान गरी त्यसको अभिलेख प्रहरी कार्यालयको नियन्त्रण कक्षमा रहेको सर्भर र क्यामरा दुवैमा रहने छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार महानगरभित्र पहिलो चरणमा एक सय ३७ क्यामेरा जडान गर्ने योजना छ।
स्थान छनोट, उपकरण र प्राविधिक विषयमा प्रहरीले अध्ययन गरिरहेको उनले बताए। प्रहरी नायब उपरीक्षक पण्डितले भने, 'क्यामरा जडान गर्न प्राविधिक र सुरक्षाको काम प्रहरीले गर्छ। अन्य काम महानगरपालिकाले गर्ने छ।'
पहिलो चरणमा महानगरको मुख्य बजार क्षेत्र र राजमार्गमा क्यामेरा जडान गर्न लागिएको उनले बताए। राजमार्गमा तीव्र गतिका कारण हुने सडक दुर्घटना तथा अन्य आपाराधिक घटना बढ्दै गएका र त्यसको छिटो पहिचानका लागि यस प्रकारका क्यामरा सहयोगी हुने प्रहरी नायब उपरीक्षक पण्डितले बताए। 'यसबाट ट्राफिक व्यवस्थापनमा सहज हुने छ। ट्राफिक प्रहरीलाई सडकमा उभिनु पर्दैन', उनले भने।
महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरका २९ वटै वडामा क्यामेरा जडान गरिने बताए। 'यहाँका बासिन्दाको सुरक्षामा चुनौती थपिँदै गएको छ। जनतालाई सुरक्षित महसुस गराउन क्यामेरा जडान गर्न लागिएको हो', उनले भने।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाका अनुसार सबै वडामा क्यामेरा जडानका लागि करिब १० करोड रूपैयाँ खर्च हुनेछ। रासस