चितवन- अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुने बताएका छन्। १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
‘३ करोडभन्दा कमको आयोजना केन्द्रले अगाडि बढाउँदैन, १ करोडभन्दा कमको आयोजना प्रदेशले हाल्दैन, १ करोडभन्दा तलको आयोजना स्थानीय सरकारले गर्ने कार्यविधि आइसकेको छ', उनले भने, 'राष्ट्रिय गौरवको आयोजनाबाहेक चार गुणाभन्दा बढी नगर्ने निर्णय भएको छ। अर्को वर्षबाट बहुवर्षे आयोजनामा बजेट नराख्ने र ठेकदारले दाबी गर्ने परम्पराको अन्त्य हुनेछ। जति बजेट आवश्यक हो, त्यो मन्त्रालयले माग गर्ने व्यवस्था हुँदैछ। यसले आन्तरिक बजेटमा अनुशासन, बेथितिको अन्त्य हुँदैछ।'
अर्थमन्त्री महतले अर्थतन्त्रको आवश्यकताअनुसार, समयसापेक्ष मौद्रिक नीति हुनुपर्छ भनेर निरन्तर पहल गरिएको बताए। 'अहिलेको मौद्रिक नीतिले कर्जामा लगानी बढाउँछ, ब्याजदर घटाउँछ, लगानी वृद्धि गर्छ। उपभोक्ताले उपभोग गर्न गाह्रो मान्नुपर्दैन, भविष्य सुनिश्चित छ', उनले भने।
अहिले आर्थिक सूचकहरु बिस्तारै सकारात्मक हुँदै गएको उनले बताए। अहिलेसम्मकै बढी विदेशी पर्यटक आगमन भएको, आन्तरिक पर्यटक पनि बढेको र यसले सौराहाको पर्यटन, व्यवसाय र रोजगारी वृद्धि हुने उनले बताए।
‘सेयर बजार उकालो लागेको छ, जग्गा कारोबारमा आएको शिथिलता पनि घट्दैछ। विदेशबाट आएको विप्रेषण पनि बढिरहेको छ, ब्याजदर कम हुँदै गएको, ऋणीलाई चैतसम्म भाका दिइएकाले उनीहरुलाई पनि राहत पुग्नेछ। बैंकबाट कर्जा पनि बिस्तारै बढिरहेको छ। मूल्यवृद्धि साढे ५ प्रतिशतमा झरेको छ। यसले बिजनेस व्यापारको लागत कम गर्नेछ’, मन्त्री महतले भने।
नागरिक समाज, सञ्चारकर्मी, निजी क्षेत्र, उद्यमी र राजनीतिक दलबाट अब सकारात्मक डिकोर्षको आवश्यकता रहेको उनले बताए। 'यो देशमा बसेर केही हुँदैन, यसको भविष्य छैन, यहाँ बस्नुको औचित्य छैन भन्ने नकारात्मक भाष्य त्यागेर सकारात्मकतर्फ लाग्नुपर्छ। तथ्यांकले अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको छ, यो अवसरलाई उपयोग गर्नुपर्छ भन्ने भाष्य अगाडि बढाउन जरुरी छ', अर्थमन्त्री महतले भने।
नेपालको जलविद्युत, कृषि व्यापार, पर्यटन र सूचना प्रविधिले नेपालको अर्थतन्त्रलाई अर्को तहमा पुर्याउने उनको भनाइ छ। 'अवसर यहीँ छ, युवाहरुले सुक्ष्म दृष्टिले यहाँका अवसरहरु खोज्नुपर्छ। यो देशमा धेरै गर्न बाँकी रहेकाले अवसर यहीँ छ।’
कार्यक्रममा मन्त्री डा. महतले चितवन गतिशील जिल्ला भएको पनि बताए। यहाँका आदिवासी थारुहरुको यो जिल्लाको संस्कृति, सभ्यता, भाषा र रितिरिवाज संरक्षण गर्न तथा संसारलाई चिनाउन ठूलो भूमिका रहेको भन्दै उनले संसारभरिका पर्यटकका लागि यहाँका वन्यजुन्त, थारुहरुको संस्कृति र पम्परा यहाँको आकर्षण बनेको र उनीहरुको संरक्षणमा सरकार कटिबद्ध रहेको बताए।
अर्थमन्त्री महतले देशभरिकै विभिन्न स्थानबाट बसाइँसराइ गरेर चितवनमा बसोबास गरेका विभिन्न पृष्ठभूमिका नागरिक समुदायले यहाँको विकासमा खेलेको उल्लेख गर्दै ०४६ पछि चितवनले विकासको फड्को मारेको बताए।
पूर्व-पश्चिम राजमार्ग अब ६ लेनको बन्दैछ। यसले यातायात लागत कम गर्ने र पर्यटनलाई सहयोग गर्नेछ। हेटौँडासम्मको फास्ट ट्रयाक बनिसकेपछि काठमाडौंबाट डेढ घण्टामै पूर्व चितवन आइपुगिने उनले बताए।
‘निकुञ्ज र यस वरिपरी बस्ने जनताको भविष्यसँग जोडिएको छ। दुवैको विकास सँगसँगै जानुपर्छ। निकुञ्ज जनताका लागि र जनता निकुञ्जका लागि भन्ने मान्यता सरकारले अगाडि बढाउँछ। ०२९ सालको ऐन परिवर्तन हुन्छ’, मन्त्री महतले भने, ‘निकुञ्ज र पर्यावरणको नाममा आएको पैसा एड्भोकेशी र रिपोर्ट तयार गर्ने नाममा उै फर्किन्छ। अब एड्भोकेशी र रिपोर्टको थप आवश्यकता छैन। निकुञ्ज र पर्यावरणको नाममा आएको पैसा उतै जाने विधि हामी मान्दैनौँ।’
वन्यजन्तु तीन गुणा वृद्धि भएकाले मानिस र वन्यजन्तुको द्वन्द्व बढेको मन्त्री डा. महतले बताए। उनले संरक्षणका लागि आएको पैसा वन्यजन्तु र मानिसको जनजिविकामा खर्च हुनुपर्ने माग राखे। उनले भने, ‘नेपालको ४५ प्रतिशत जमिनमा जंगल छ। केही वर्षको अन्तरालमा हामीले २७ बाट हामीले ४५ प्रतिशत पुर्याएका हौँ। विदेशी सहयोगले जंगल वृद्धि भएको होइन, हाम्रो सामुदायिक वनको अवधारणाले वृद्धि भएको हो।’