काठमाडौं- एनसीएचएल र नेप्स बीच गाभ्ने तथा प्राप्तिसम्बन्धी प्रारम्भिक साझेदारी भएको छ। एनसीएचएलका तर्फबाट मर्जर प्राप्ति समिति संयोजक महेश शर्मा ढकाल र नेप्सका मर्जर समितिका संयोजक सञ्जीवकुमार श्रेष्ठबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
नेपाल क्लियरिङ हाउस लिमिटेडको १५औँ वार्षिकोत्सवका अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर डा.निलम ढुंगाना तिमसिना, नेपाल राष्ट्र बैंकका उच्च पदाधीकारी, नेपाल बैंकर्स संघ, डेभलप्मेन्ट बैंकर्स संघका अध्यक्षलगायतको उपस्थितिमा उक्त सम्झौता भएको हो।
एनसीएचएल र नेप्स दुवै नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गरेका संस्थाहरु हुन्। विद्युतीय भुक्तानी पूर्वाधारको विकास तथा यसको प्रयोग वृद्धि गर्न र डिजिटल नेपालले परिकल्पना गरेको विद्युतीय भुक्तानीका क्षेत्रलाई आधुनिकीकरण तथा अन्तरआबद्धता कायम गर्न राष्ट्रिय भुक्तानी स्वीचको परियोजना अत्यावश्यक रहेकले यी दुई संस्थाहरु आपसमा गाभिएका हुन्।
नेपाल राष्ट्र बैंकले लिएको गाभ्ने/गाभिने वा प्राप्तिसँग सम्बन्धिथ नीति कार्यान्वयनलाई सफल पार्न एनसीएचएल र नेप्स प्राप्ति प्रक्रियाको माध्यमबाट दुवैको कारोबारलाई एकीकृत गरी थप सुधार, प्रतिस्पर्धात्मक र प्रतिफलमूलक बनाउन यी दुई संस्थाहरु आपसमा गाभिएको बताइएको छ।
पुस ८, २०६५ मा स्थापित एनसीएचएले एनपीएस अन्तर्गतको नेशनल कार्ड स्विच र नेपाल पे डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा रहेको छ। ५३ भन्दा बढि बैंक वित्तीय संस्थाहरु र ९५ भन्दा बढि अन्य संस्था निकायहरुले एनसीएचएलको प्रणाली प्रयोग गर्दै आएका छन्।
फागुन १८, २०६९ मा स्थापित नेप्सले विभिन्न बैंक वित्तीय संस्थाहरुको लागी केन्द्रिकृत रुपमा कार्ड जारी गर्ने, स्वीकार गर्ने र कारोबार सम्पन्न गर्न आवश्यक प्रशोधन गर्ने कार्य गर्दै आएको छ। नेप्स अन्तर्गत ११ बैंक तथा वित्तीय संस्थाहरुको १,६०० भन्दा धेरै एटीएम, ९,००० बढि पीओसमार्फत सेवा प्रदान गर्ने, र इकमर्स कारोबारको लागि एसीएस थ्रीडी सेक्युर लगायतका सेवाहरु उपलब्ध गराउँदै आएको छ।