शनिबार, वैशाख २२ गते २०८१    
images
images

व्यावसायिक तरकारीखेती र बाख्रापालनबाट गाउँमै लाखौँ आम्दानी गरिरहेका छन् पूर्णकुमार

images
images
images
व्यावसायिक तरकारीखेती र बाख्रापालनबाट गाउँमै लाखौँ आम्दानी गरिरहेका छन् पूर्णकुमार

'युवा जनशक्ति विदेश पलायनसँगै गाउँघर रित्तिँदै गएका बेला म चाँही स्वेदशमै पसिना बगाउने संकल्पका साथ यही व्यवसायमा लागिरहेको छु।'

images
images

फिक्कल- फाकफोकथुम गाउँपालिका-४ इलामका पूणर्कुमार राई (दिपेन) ले ६ वर्ष दुबईमा बसेर फर्केपछि फाकफोकथुम-४ लुम्देस्थित फावाखोला डाँडामा व्यावसायिक बाख्रापालन व्यवसाय सञ्चालन गरे। वडा कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय इलाममा विसं २०७५ मा ‘जुरीथुम्का बाख्रापालन’ फार्म दर्ता गरेर उनले व्यावसायिक बाख्रापालन गर्न थालेका हुन्।

images
images
images

'तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले सञ्चालन गरेको सशस्त्रयुद्धका लडाँकु थिएँ। विसं २०५८ मा कक्षा ७ मा पढ्दापढ्दै राज्यव्यवस्था परिवर्तनका लागि भन्दै आन्दोलनमा होमिएको हुँ। विसं २०६२/६३ जनआन्दोलनपछि शान्तिप्रक्रिया भएसँगै जीवनको यात्रा पनि मोडियो', राईले भने।

images

विसं २०६७ मा दुबई गएर छ वर्षपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने लागेर फर्केको उनको भनाइ थियो। 'विसं २०७३ मा करिब १८ लाख रूपैयाँ लिएर नेपाल फर्केको थिएँ। गाउँ फर्किएपछि फाकफोकथुम-५ लुम्देस्थित फावाखोला डाँडाको यथावामा ५६ रोपनी जग्गा ६ लाखमा खरिद गरेपछि मेरो व्यावसायिक कृषि र पशुपालनको यात्रा सुरु भयो', राईले भने। उनका अनुसार गाउँमै बाख्रापालन फार्म सञ्चालन गरेपछि अन्य युवाले समेत गाउँमा स्वरोजगारीका लागि योजना बनाउन थालेका छन्।

images

वैदेशिक रोजगारीबाट गरिएको बचत र बैंकबाट लिएको कर्जा १० लाख गरी २० लाख रूपैयाँको लगानीमा बाख्रापालन सञ्चालनमा ल्याएको राईले जानकारी दिए। उनका अनुसार फार्ममा अहिले विभिन्न जातका सानाठूला गरी एक सय बढी बाख्रा छन्। स्थानीय तथा उन्नत जातका बाख्रासमेत थप गर्ने योजना रहेको उनले सुनाए। उनको फार्ममा बाख्रासँगै पशुतर्फ गाई र राँगा एवम् कृषितर्फ अलैँची, केरा, कफी, मेवा, लसुन, कागती खेती विस्तार गरेका छन्।

images
images

पूर्णकुमारले गाउँमै व्यावसायिक कृषि र पशुपालनबाट लाखौँ आम्दानी गरिरहेका छन्। व्यवसाय सुरु गरेपछि उनलाई घरखर्च टार्न कुनै समस्या छैन। 'अहिले घरखर्च टार्न कसैलाई माग्नु परेको छैन। यही व्यवसायबाट सहजरुपमा जीविकोपार्जन भइरहेको छ', उनले भने, 'युवा जनशक्ति विदेश पलायनसँगै गाउँघर रित्तिँदै गएका बेला म चाँही स्वेदशमै पसिना बगाउने संकल्पका साथ यही व्यवसायमा लागिरहेको छु।'

राईले वैदेशिक रोजगारीबाट सिकेको सीप गाउँघरमै प्रयोग गरिरहेको बताए। फुङ्ग धुलो उड्ने सुख्खा डाँडो अहिले हरियाली भएको छ। बाख्रापालनबाट संकलन भएको मलबाट डाँडामा फलफूल, तरकारी खेती र अलैँचीका बोटले हराभरा भएका छन्। उनको मेहनतबाट स्थानीय किसानसमेत उत्साहित भएका छन्।

पूर्णकुमारले आफ्नो ५६ रोपनी जग्गा नपुगेर घाँस र चरन क्षेत्रका लागि सात सय रोपनी जग्गा भाडामा लिएको जानकारी दिए। रोजगारीका लागि विदेश जानु भन्दा गाउँघरमै कुनै न कुनै व्यवसाय गरेर आम्दानी गर्न सकिने उनको भनाइ थियो।

उनको फार्मले प्रोत्साहनस्वरुप तीन वर्षअघि तत्कालीन प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट व्यावसायिक नमुना बाख्रा फार्म कार्यक्रमअन्तर्गत १० लाख रूपैयाँ अनुदानसमेत पाएको छ। सो अनुदानबाट आधुनिक बाख्रोको खोर निर्माण गरेको राईले बताए। उनका अनुसार बोका, माउ बाख्रा, खसी एवम् पाठापाठीका राख्ने खोर अलगअलग बनेका छन्।

पैसा कमाउन विदेश नै गइराख्नु पर्दैन भन्ने सन्देश दिन आफूले गाउँमै बाख्रापान सुरु गरेको राईको भनाइ थियो। 'बेरोजगार युवा विदेशिने क्रम रोक्न तथा गाउँघरमै स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन व्यावसायिक बाख्रापालन सुरु गरेको हुँ', उनले भने, 'बैंकको कर्जा बिस्तारै तिरिसक्न लागेँ। कर्जा चुक्ता गरेपछि अझ बाख्रा थप्ने योजनामा छु।' रासस

images

प्रकाशित : सोमबार, पुस ९ २०८००३:११

प्रतिक्रिया दिनुहोस