काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षापश्चात् नयाँ एकीकृत निर्देशन जारी गरेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत संशोधन गरिएको विषयलाई समेटेर राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको हो।
राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत समस्यामा रहेका ऋणीहरुको कर्जा आगामी चैत मसान्तसम्मको पुनर्तालिकीकरण गर्ने व्यवस्था गरेको छ। यस्तै जाजरकोट भूकम्पपीडितको आवास निर्माणका लागि कर्जामा सहजीकरण गर्ने नीति राष्ट्र बैंकले लिएको छ।
पछिल्लो समय बैंक वित्तीय संस्थाहरुमा पर्याप्त लगानीयोग्य रकम भए पनि ब्याजदर उच्च रहेकाले कर्जा प्रवाह नभएपछि राष्ट्र बैंकले नीतिगत दरहरु घटाउँदै ब्याजदर घटाउने सन्देश दिएको थियो।
राष्ट्र बैंकले बैंकदर ०.५ प्रतिशत आधार बिन्दुले घटाउँदै ७ प्रतिशत, नीतिगत दर १ प्रतिशत बिन्दुले घटाउँदै ५.५ प्रतिशत र निक्षेप संकलन दर १.५ प्रतिशतले घटाएर ३ प्रतिशत कायम गरेको थियो।
यस्तै राष्ट्र बैंकले कर्जा प्रवाह बढाउन भन्दै सेयर कर्जा र घरजग्गा कर्जाको जोखिमभार घटाएको थियो। दुवै क्षेत्रमा जाने कर्जाको जोखिमभार १५० प्रतिशत रहेकोमा मौद्रिक समीक्षामार्फत यसलाई घटाएर १२५ प्रतिशत कायम गरिएको छ।
समीक्षामार्फत संशोधन गरिएका यिनै विषयवस्तुलाई समेटेर राष्ट्र बैंकले बैंक वित्तीय संस्था र पूर्वाधार विकास बैंकलाई नयाँ एकीकृत निर्देशन जारी गरेको हो। एकीकृत निर्देशन जारी भएसँगै मौद्रिक नीतिको पहिलो समीक्षा कार्यान्वयनमा जाने बाटो खुला भएको छ।