काठमाडौं- एमाले अध्यक्ष तथा पूर्वप्रधानमनत्री केपी शर्मा ओलीले ट्रंकलाइन र डेडिकेटेड लाइन विवादमा एकाएक उद्योगको बिजुली काट्ने काम गलत भएको बताएका छन्।
झुलाघाट-चिवा भञ्ज्याङ यात्रापछि आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ओलीले अहिले उद्योगहरू आफै बन्द भइरहेका बेला सरकारले लाइन काट्नु गलत भएको बताएका हुन्।
गत शुक्रबार प्रधानमन्त्री दाहालको अनुमतिमा नै नेपाल विद्युत प्राधिकरणले चार ठूला उद्योगको बिजुली काटेको थियो।
ट्रंकलाइन र डेडिकेटेड लाइनको विवाद नयाँ नभएको बताउँदै ओलीले यसमा सरकारले समिति पनि गठन गरेर राय लिइसकेको अवस्थामा समाधान नखोजी प्राधिकरणले बिजुली काट्ने काम गलत भएको बताए।
उद्योगीहरू तर्सिएका बेला प्रधानमन्त्रीले सहजीकरण गरेर आश्वस्त पार्नुपर्नेमा लाइन काट्न निर्देशन दिनु दुःखद भएको ओलीले बताएका छन्। ‘लोडसेडिङ अन्त्य भएपछि र तार टाँगे पनि लाइन नदिँदाको समेत बिल पठाएको तथा उपयोग नगर्नेबाट असुल्न खोजिएको छ,’ ओलीले भने।
सरकारको व्यवहार मुलुकको आर्थिक क्षेत्रमैत्री नभएको उनले टिप्पणी गरेका छन्।