काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले डिजिटल प्लेटफर्मले सबैलाई समान अवसर दिएको बताएका छन्।
सीआईएन युथ इन्टरपेनियर फोरम नेपाल स्टार्ट अप फेस्ट २०२३ को उद्घाटन गर्दै मन्त्री डा. महतले भने, ‘डिजिटल प्लेटफर्मले बिजनेसलाई मात्र होइन, हरेक क्षेत्रलाई अवसर दिन्छ। जो उत्पादनमा लागेका छन्, उनीहरुले डिजिटल प्लेटफर्ममार्फत् बजारमा सजिलै पहुँच पुर्याउन सक्छन्। न्यून खर्चमा आम्दानी बढाउन सक्नेछन्।’
‘यो अवसर सबैका लागि उपलब्ध छ, त्यसले युवा उद्यमीहरु सहज महसुस गर्छन् । त्यसैले सरकारले आईटी नीति बजेटमार्फत् व्यावहारिक कार्यान्वयनतर्फ लगिएको छ’, मन्त्री डा. महतले भने, ‘५० प्रतिशतभन्दा थोरै हामीले कर लगाउने व्यवस्था गरेका छौँ। र, जसको व्यवसायले फड्को मार्दैछ र नेपाल बाहिर पनि सुरुवात गर्न चाहन्छ, उनीहरुका लागि पनि आफूले कमाएको आम्दानीको केही हिस्सा बाहिर लगानी गर्न सक्ने व्यवस्था गरिएको छ।’
राज्यले दिएको यो सुविधाले आईटी बिजनेस बढाउन मद्दत पुग्ने मन्त्री डा. महतले बताए। मन्त्री महतका अनुसार यसले बिजनेस सुरु गर्न र वृद्धि गर्न मद्दत पुग्नेछ। आउँदा दिनमा आईटी नीति अझ सहज हुने जानकारी दिँदै मन्त्री महतले भने, ‘नेपाली युवाहरुलाई जुन क्षेत्रमा काम गर्ने मन छ, त्यसमा सहजीकरण गर्न सरकार तयार छ।’
नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले भने, ‘अहिले पनि ठूलो मात्रामा विदेश सफ्टवेयर निर्यात हुँदैछ। नेपालभित्रै पनि विभिन्न डेमोस्टिक क्षेत्र विकसित हुँदैछ। जसले गर्दा विभिन्न क्षेत्रको बिजनेस व्यवसाय सहज हुँदैछ, लागत घट्दैछ। यसमा सरकारले सकेसम्म योगदान दिनुपर्छ।’
आईटी सेक्टरमा निर्यात बढिरहेको र आउँदा दिनमा अझ बढ्ने भन्दै अर्थमन्त्री महतले यसको संस्थागत विकासमा युवापुस्ताको महत्वपूर्ण भूमिका हुने र युवा विदेश पलायनलाई रोक्न पनि आईटीलाई प्रवर्द्धन गर्न जरुरी रहेको बताए।
‘झन्डै ४० प्रतिशत युवा यो क्षेत्रसँग जोडिएको कार्यक्रममा बताइयो। १२ कक्षापछि विदेश जाने चलन छ, तिनीहरुलाई रोक्नुपर्छ। हेर्दा विदेशमा रमाइलो जस्तो देखिन्छ, तर त्यो सबैका लागि हुँदैन’, मन्त्री महतले भने, ‘१२ कक्षापछि विदेश जाने परम्परालाई रोक्न यही प्लेटफर्ममार्फत् थाल्न अनुरोध गर्दछु।’