शुक्रबार, चैत १६ गते २०८०    
images
images

एक खर्ब लगानी गर्दै विनोद चौधरी : सिमेन्टदेखि टेलिकमसम्म, होटलदेखि विद्युतसम्म

images
images
एक खर्ब लगानी गर्दै विनोद चौधरी : सिमेन्टदेखि टेलिकमसम्म, होटलदेखि विद्युतसम्म

अर्बपति व्यवसायी विनोद चौधरीले पाल्पाको सर्देवामा दैनिक ४ हजार मेट्रिक टन क्षमताको सिमेन्ट उद्योग लगाइरहेका छन्। यही बिचमा दाङमा सञ्चालित सम्राट सिमेन्टको ३० प्रतिशत शेयर हिस्सा खरिद गरे।

images
images

काठमाडौं- अर्बपति व्यवसायी विनोद चौधरीले पाल्पाको सर्देवामा दैनिक ४ हजार मेट्रिक टन क्षमताको सिमेन्ट उद्योग लगाइरहेका छन्। यही बीचमा उनले दाङमा सञ्चालित सम्राट सिमेन्टको ३० प्रतिशत सेयर हिस्सा खरिद गरे। टेलिकम उनको ‘ड्रिम प्रोजेक्ट’ हो, जहाँ ठूलो लगानी गर्न कस्सिएका छन्। टेलिकमकै एउटा  क्षेत्रको रुपमा सीजी नेट सञ्चालनमा आइसकेको छ। 

images
images
images

यस्तै ललितपुरको कुपण्डोल हाइट र काठमाडौंको कान्तिपथमा दुईवटा पाँचतारे लक्जरी होटल सञ्चालनमा ल्याउँदैछन् उनी। विश्वव्यापी फैलिइरहेको हस्पिटालिटी बिजनेस विस्तारमा नेपाल पनि उत्तिकै प्राथमिकतामा छ।

images

चौधरी समूहले फास्ट मुभिङ कञ्जुमर गुड्स (एफएमसीजी), जलविद्युत, सिमेन्ट, हस्पिटालिटी, टेलिकम, हाउजिङ लगायत क्षेत्रमा आक्रामक ढंगले लगानी बढाइरहेको छ। चौतर्फी विस्तार भइरहेका चौधरी ग्रुपका विजनेस भर्टिकल्सहरूमा करिब एक खर्ब लगानीका परियोजनाहरू कार्यान्वयनको चरणमा छन्। 

images
images

समूहका अध्यक्ष विनोद चौधरीले २०७३ चैतमा पत्रकार सम्मेलन गरेर तीन वर्षभित्र विभिन्न क्षेत्रमा ५० अर्ब लगानी गर्न लागेको बताएका थिए। त्यसपछि थपिएका नयाँ परियोजनाहरूमा पनि ग्रुप उत्तिकै आक्रामक लगानीमा जुटेको छ। 

पूर्वको सुनसरीमा स्थापित वाइवाइको प्लान्टको क्षमता विस्तार गर्ने, नवलपुरस्थित सीजी इन्डस्ट्रियल पार्कभित्र वाइवाइ, रियो जुस, बियर, प्याकेजिङ, नवलपरासीमै सञ्चालित सीजी सिमेन्टको क्षमता विस्तार गर्ने काम सम्पन्न भइसकेका छन्।  

सिमेन्टमा जाइन्ट बन्दै सीजी

CG cement palpa.jpg
पाल्पाको सोमादी सर्देवामा निर्माणाधीन सिमेन्ट उद्योग।

चौधरी ग्रुपले पाल्पाको सोमादी सर्देवामा क्लिंकरसहितको ठूलो सिमेन्ट उद्योग निर्माण गरिरहेको छ। यो सिमेन्ट उद्योगको उत्पादन क्षमता दैनिक ४ हजार मेट्रिक टन रहेको छ। सिमेन्ट उद्योग स्थापनाका लागि झन्डै ५ सय रोपनी जग्गा खरिद गरेको बताइएको छ। 

सन् २०२२ को प्रारम्भमा सिमेन्ट उद्योग सञ्चालनमा आउने लक्ष्यका साथ काम भइरहेको छ। ‘कोभिड-१९ का कारण यो परियोजना अलि विलम्ब भएको छ। तर पनि हामी यथाशीघ्र परियोजना सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम गरिरहेका छौँ’, ग्रुपका प्रवक्ता मधुसूदन पौडेलले भने, ‘यो उद्योग नेपालका ठूला सिमेन्ट उद्योगमध्ये एक हुनेछ।’ 

पाल्पाको सिमेन्ट उद्योगमा करिब १६ अर्ब रुपैयाँ लगानी हुँदैछ। पाल्पाको उद्योगले नवलपरासीको दुम्किबासमा सञ्चालित सीजी सिमेन्ट उद्योगलाई क्लिंकर सप्लाई गर्नेछ। 

चौधरी ग्रुपले ८ वर्षअघि नै नवलपरासीमा सीजी सिमेन्ट सञ्चालनमा ल्याएको थियो। सुरुमा दुम्कीबासमा दैनिक १२ सय टनको ग्रान्डिङ युनिट राखिएको थियो। यो युनिटको क्षमता बढाएर दैनिक ३ हजार टन पुर्‍याइएको छ। क्षमता विस्तारमा मात्रै झन्डै साढे दुई अर्ब लगानी थपिएको छ। 

दाङमा रहेको सम्राट सिमेन्ट पश्चिम नेपालकै ठूलो र स्थापित ब्राण्ड हो। यस उद्योगमा सीजीले हालै ३० प्रतिशत सेयर खरिद गरि लगानी विस्तार गरेको हो। यस उद्योगमा सीजीले करिब ३ अर्ब लगानी गरेको छ। 

यो लगानी विस्तार र पाल्पाको उद्योग सञ्चालनमा आएसँगै सीजीसँग प्रतिदिन १० हजार टन सिमेन्ट उत्पादन गर्ने क्षमता पुग्नेछ। सिमेन्ट उद्योगतर्फमात्रै सीजीले २० अर्ब लगानी विस्तार गरेको छ। 

‘पाल्पामा सिमेन्ट उद्योग सञ्चालनमा आएपछि सीजी सम्भवतः नेपालकै ठूलो सिमेन्ट उत्पादक कम्पनी बन्नेछ’, प्रवक्ता पौडेलले भने, ‘हाम्रो उद्देश्य बजार प्रतिस्पर्धी बनोस् र उपभोक्ताले सस्तो मूल्यमा गुणस्तरीय सामान उपभोग गर्न पाउन् भन्ने हो। अन्य क्षेत्रमा जस्तै सिमेन्टको बजारमा पनि सीजीले खेल्ने भूमिका उपभोक्ता हितमा केन्द्रित हुनेछ।’

सिमेन्ट उद्योगमा सीजीको आक्रामक लगानीले आगामी वर्षमा नै सीजी नेपालको सबैभन्दा ठूलो सिमेन्ट ब्राण्ड बन्ने देखिन्छ। विनोद चौधरीको नेपालमा सिमेन्टको ‘जायन्ट’ बन्ने लक्ष्य छ। नेपालको सबैभन्दा ठूलो सिमेन्ट उत्पादक बन्ने लक्ष्यसहित उनी अगाडि बढिरहेका छन्। 

टेलिकम टाइकुनबन्ने सपना

CG-Telecom.jpg

चौधरी समूह टेलिकम क्षेत्रमा प्रवेश गर्न खोजेको झन्डै दशक भयो। सरकारले विभिन्न कारण देखाउँदै सीजी टेलिकमलाई युनिफाइड लाइसेन्स नदिँदा टेलिकम क्षेत्रमा आक्रमक ढंगले लाग्ने विनोद चौधरीको सपना पूरा हुन सकेको छैन।

चौधरीले मुलुकमा भर्खर थ्रिजी सेवा विस्तार भइरहेका बेलामा टेलिकममा सुरुवाति लगानी नै २५ अर्ब हुने घोषणा गरेका थिए। प्रवक्ता पौडेलका अनुसार, अब सीजी टेलिकम आउँदा फाइभजी प्रविधिमा आउँछ। उनी भन्छन्, ‘टेलिकमका लागि सबै तयारी भइसकेको छ, सरकारले लाइसेन्स दिने वित्तिकै काम अगाडि बढाइहाल्छौँ।’

चौधरी ग्रुपले भ्वाइससेवा निःशुल्क र डाटा अहिलेका अपरेटरले दिएकोभन्दा आधा सस्तो मूल्यमा उपलब्ध गराउने घोषणा गरिसकेको छ। निःशुल्क भ्वाइस प्रयोग गर्न पाउनुका साथै डाटाको मूल्य आधा घट्दा उपभोक्ता लाभान्वित हुने पौडेलको भनाइ छ। 

टेलिकमका लागि इक्वीपमेन्ट सप्लाइ गर्न चिनियाँ कम्पनी हुवावेसँग सम्झौता भइसकेको छ। यस्तै,नेपाल लगानी सम्मेलन २०१९ का क्रममा टर्कीको टकसेलसँग टेक्नोलोजीमा रणनीतिक साझेदारी सम्बन्धी सम्झौता भएको थियो। 

सीजी टेलिकमकै एउटा पार्टको रुपमा सीजी नेट बजारमा आइसकेको छ। सीजीले आधा सस्तो मूल्यमा इन्टरनेट प्याकेज सार्वजनिक गरिसकेको छ जसले इन्टरनेट बजारमा नयाँ तरंगसमेत ल्याएको छ। सीजी नेटले १२० एमबीपीएस स्पिडको इन्टरनेट मासिक भ्याटबाहेक ९९९ रुपैयाँमा दिएको छ। १२० एमबीपीएस स्पीड इन्टरनेटको १२ महिनाको प्याकेज ११ हजार ९८८ रुपैयाँ तोकेको छ।

प्रवक्ता पौडेलका अनुसार, अहिले सीजी नेटको काठमाडौं उपत्यकामा तीब्र गतिमा सेवा विस्तार भइरहेको छ। एक वर्षभित्र उपत्यकाभरी सीजी इन्टरनेट पुर्‍याउने लक्ष्य लिएको चौधरी ग्रुपले जावलाखेल, बल्खु, कुलेश्वर, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, टेकु, बलम्बु, नैकाप, गुर्जुधारा लगायत ठाउँमा सेवा विस्तार गरिसकेको छ। 

आइकोनिक होटल बनाउँदै 

cg hotel.PNG

ललितपुरको कुण्डोलमा रहेको पहिलेको चर्चित समिट होटल भत्काएर आधुनिक पाँचतारे लक्जरी होटलसहितको अपार्टमेन्ट निर्माण गर्ने प्रकृया अगाडि बढेको छ। होटल र अपार्टमेन्टको डिजाइन सार्वजनिक भइसकेको छ। 

समिट होटलमा चौधरी समूह, एनई समूह र समिट समूहको लगानी छ। ‘द समिट होटल एन्ड रेसिडेन्सेस्’ नाम दिइएको परियोजना असोजदेखि निर्माण थालनी गरिने बताइएको छ। 

यो परियोजनामा जग्गासहित साढे ७ अर्ब लगानी हुने बताइएको छ। र समिट राजधानी सहरकै सबैभन्दा आइकोनिक प्रोपर्टी बन्ने सीजीका प्रवक्ता पौडेलले दाबी गरे।

यो प्रोजेक्ट मुलुककै सुविधा सम्पन्न हुनेछ। एलिट वर्गलाई तार्गेट गरेर अपार्टमेन्ट निर्माण हुँदैछ भने विश्वका खर्चालु पर्यटकलाई तार्गेट गरेर होटल निर्माण हुँदैछ। होटल र अपार्टमेन्ट सन् २०२५ सम्म निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ।

‘यो पक्कै पनि सीजी र हाम्रा साझेदारहरूको अर्को महत्वाकांक्षी सोच हो। तर म यसलाई हस्पिटालिटी क्षेत्रमा राष्ट्रकै गौरव गर्नलायक परियोजना भन्न रुचाउँछु किनभने यो होटलले नेपालको पर्यटन उद्योगलाई नै अर्को तहमा पुर्‍याउनेछ र नेपालमा गुणस्तरीय पर्यटक आगमनमा नयाँ ढोका खोल्नेछ’, प्रवक्ता पौडेलले भने, ‘यस्ता परियोजनाहरू लगानीका दृष्टिकोणले निजी क्षेत्रको भए पनि राष्ट्रकै गौरव हुन् जसले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि बदल्ने काम गर्नेछन्।’

यस परियोजनामा १२० वटा लक्जरी अपार्टमेन्ट निर्माण हुनेछन्। ९६ वटा रेसिडेन्सियल अपार्टमेन्ट हुनेछन्, जुन निजी व्यक्तिलाई बिक्री गरिनेछ। २४ वटा सर्भिस अपार्टमेन्ट हुनेछन्, जुन लामो समय बस्ने खर्चालु पर्यटकलाई लक्षित गरी निर्माण गर्न लागिएको हो।

अपार्टमेन्ट निर्माण सुरु नहुँदै ५० प्रतिशतभन्दा बढी बुकिङ भइसकेका छन्। यस परियोजनाभित्र बस्नका लागि अढाइ करोडदेखि सात करोड रुपैयाँसम्म खर्च गरेर अपार्टमेन्ट खरिद गर्न सकिनेछ। केही धनाढ्य ग्राहकले अपार्टमेन्टमा ठूलो स्पेश अर्डर गरेर सुविधा सम्पन्न बनाउन ३० करोडसम्म खर्च गर्न लागेका छन्। 

होटलमा १३० कोठाहरू हुनेछन्। २४ वटा सर्भिस अपार्टमेन्टलाई पनि होटलकै रुपमा प्रयोग गरिनेछ। यो होटल व्यवस्थापनमा अहिलेसम्मकै लक्जरीयस ब्रान्ड भित्र्याउने तयारी भइरहेको छ। मेरियट इन्टरनेसनलको पाँचतारे लक्जरीयस ब्रान्ड ‘सेन्ट रेगिज’ले समिट होटल व्यवस्थापन गर्नेछ जुन नेपालकै सबैभन्दा प्रिमियम लक्जरी ब्रान्ड हुनेछ। 

चौधरी ग्रुपको कान्तिपथमा पनि पाँचतारे लक्जरी होटल सञ्चालनमा ल्याउने योजना छ। यो होटलमा पनि करिब ५ अर्ब रुपैयाँ लगानी हुनेछ। यसअघि ग्रुपले झम्सिखेलमा भिभान्ता, चितवनको मेघौलीमा मेघौली सेराई, जंगल सफारी लज र भरतपुरमा एउटै छानामुनि सपिङ मल, मल्टिप्लेक्स, रेष्टुरेन्ट, स्वीमिङ पुल, गेमिङ जोनसहितको द फर्न ब्राण्डमा होटल चितवन सञ्चालनमा ल्याइसकेको छ।

एफएमसीजीको पायोनियर सीजी

wai wai.jpg

चौधरी ग्रुप नेपालमा एफएमसीजी प्रडक्टमा पायोनियर रहँदै आएको छ। नेपालको चाउचाउ ब्राण्ड वाइवाइको विश्वब्यापीकरणसँगै सीजी वर्ल्ड नूडल्स उत्पादकहरूकै महत्वपूर्ण कम्पनीका रुपमा स्थापित भएको छ।

अहिले विश्व नूडल्स बजारमा वाइवाइको हिस्सा ३ प्रतिशत रहेको छ भने विश्वब्यापी उत्पादन युनिटहरुको संख्या करिब २० पुगिसकेको छ। दक्षिण एसियादेखि युरेसियासम्ममा वाइवाइका प्लान्ट फैलिएका छन्। भविष्यमा उत्तर अमेरिकामा वाइवाइ प्लान्ट स्थापना गर्ने लक्ष्य सीजी कर्प ग्लोबलले लिएको छ। नेपालमा मात्रै वाइवाइका ८ वटा प्लान्ट सञ्चालनमा छन्।

चौधरी ग्रुपले करिब १ अर्ब लगानी विस्तार गरेर बियर उत्पादन क्षमतामा ब्यापक बृद्धि गरेको छ। अहिले सीजी ब्रुअरीले वार्षिक साढे सात लाख कार्टुन वियर उत्पादन गर्न थालेको छ। नेपाली बजारमा नेपाली ब्राण्डको बियर ‘नेपाल आइस’ को बढ्दो लोकप्रियतासँगै सीजी ब्रुअरी आक्रामक रुपमा बजार विस्तारमा केन्द्रित भएको हो। नेपाल आईस राजधानी लगायतका सहरहरूमा सबैभन्दा मन पराइएको बियरमा स्थापित भइसकेको छ। यद्यपि नेपाल आइस नेपालमा दोस्रो लोकप्रिय ब्राण्ड हो।

जलविद्युतमा आक्रामक 

middle modi CG.jpg

चौधरी समूहले जलविद्युतमा पनि ठूलो लगानी गरिरहेको छ। ग्रुपले करिब १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् परियोजनामा एक्लै लगानी गरेको छ भने दुधकोशी परियोजनामा साझेदारी गर्दैछ। 

मध्यमोदी परियोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। यो परियोजना पनि कोभिडका कारण निर्माणमा ढिलाइ भएको हो।

दुधकोशी परियोजना ११० मेगावाट क्षमताको हो। यो परियोजनामा प्रारम्भिक चरणमा काम भइरहेको जलस्रोत मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन्। यस परियोजनमा हालका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ पनि साझेदार रहेको बताइएको छ। यस परियोजनासँगै नेपाली लगानीकर्ताहरूले मेगाा जलविद्युत् परियोजना हयाण्डिल गर्न सक्नेछन् भन्ने विश्वास आर्जन हुने देखिएको छ।

चौधरी समूहले यी दुई वटा जलविद्युत परियोजनामा करिब २० देखि २५ अर्ब रुपैयाँ लगानी गर्दैछ।

रियलस्टेट परियोजना

cg hills.jpg

चौधरी समूहले रियलस्टेटमा पनि लगानी गरेको छ। पछिल्लो समय समिट होटलको ठाउँमा एलिट वर्गलाई लक्षित गरेर प्रिमियम श्रेणीको अपार्टमेन्ट बनाउँदैछ चौधरी समूह। यो परियोजनामा १२० अपार्टमेन्ट हुनेछन्। जसमध्ये ९६ निजी आवासीय अपार्टमेन्ट र २४ सर्भिस अपार्टमेन्ट हुन्। 

यो बीचमा चितवनको भरतपुरमा निर्माण भइरहेको सीजी ल्यान्डमार्क सञ्चालनमा आइसकेको छ। करिब दुई अर्ब रुपैयाँ लगानी भएको यो परियोजना भरतपुरको आइकोनिक ट्रेड सेन्टर बनेको छ। 

सीजीले काठमाडौं भैँसेपाटीमा रियलस्टेट परियोजना अगाडि बढाएको छ। जहाँ प्रिमियम हाउजिङहरु निर्माण हुनेछन्। सीजी हिल्स सम्पन्न भइसकेको छ।

images

प्रकाशित : बिहीबार , भदौ २४ २०७८०७:०१
  • सम्बन्धित विषय:

  • # बिनोद चौधरी
  • # सीजी


  • प्रतिक्रिया दिनुहोस
    images
    ट्रेन्डिङ