दाङ- तुलसीपुर उपमहानगपालिका-६ मा रहेको कमलपोखरीको पुनःनिर्माण एक वर्षदेखि रोकिएको छ। पहिलोचरणको निर्माण काम सम्पन्न भएको एक वर्ष बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन।
पहिलो चरणको काम सम्पन्न भएको करिब एक वर्ष बितिसक्दा पनि पोखरीलाई उत्खनन गरिएको छैन। अहिले चारैतिर पर्खालले घेरी पानी बिना पुरिएको अवस्थामा पोखरीको रुप देख्न सकिन्छ।
थप निर्माणको काम कहिलेदेखि सुरु हुने हो कुनै जानकारी छैन। अहिले पोखरीलाई दोहोरो पर्खालको घेरामा राखिएको छ। पोखरीको उत्खननदेखि पानी भर्नेलगायतका काम बाँकी छन्।
बजेट अभावका कारण योजना अधुरै रहेको स्थानीयवासी बताउँछन्। पोखरी पुनःनिर्माणलाई निरन्तरता दिइ यसलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न यहाँका स्थानीयवासीले माग गरेका छन्। उनीहरुका अनुसार पछिल्लो समयमा पोखरीको पुनःनिर्माणका लागि विभिन्न निकायबाट एक करोड ५० लाख रूपैयाँभन्दा बढी खर्च भइसकेको छ। योजना अझै अपूरो रहेकाले यसलाई पूर्णता दिइ छिटो सम्पन्न गर्न सम्बन्धित निकायसँग स्थानीयवासीले माग गरेका हुन्।
पोखरी निर्माणका लागि गठित उपभोक्ता समितिका अध्यक्ष डिल्लीप्रसाद रजौरेले हालसम्म पोखरीको संरक्षणका लागि बाहिरी भागमा इँटाको पर्खाल निर्माण, तालक्षेत्रको पानी संकलन गर्न पोखरीको चारैतिर भित्री भागमा ढुंगाको पर्खाल, सिँढी र पर्खाल माथिबाट पाइप रेलिङको निर्माण सम्पन्न भएको जानकारी दिए। ती संरचना निर्माणका लागि उपमहानगरपालिकाबाट २५ लाख, लुम्बिनी प्रदेश सरकार पर्यटन मन्त्रालयबाट ४६ लाख रूपैयाँ प्राप्त भएको थियो।
त्यसैगरी युएसएआइडीको तयार नेपाल विपद् जोखिम परियोजनाबाट ८० लाख पाँच हजार रूपैयाँ रकम पनि पुनःनिर्माणमा खर्च भएको इन्जिनियर कमल थापाले जानकारी दिए।
युएसएआइडीको तयार नेपाल विपद् जोखिम परियोजनाबाट लोकमणि विल्डर्स निर्माण कम्पनीले त्यहाँको निर्माणको जिम्मा प्राप्त गरेको र उसले पोखरीको भित्री भागको चारैतिर ढुंगाको पर्खाल, सिँढीलगायतका पूर्वाधार निर्माण गरेको पनि इन्जिनियर थापाले बताए। उनले दोस्रो चरणका लागि पनि उपभोक्ताबाट बजेट माग भइरहेकाले छिट्टै नै प्रक्रिया अगाडि बढाइने बताए। पोखरीमा पानी संकलन गरी विपद्को समयमा प्रयोग गर्न सहज हुने उनी बताउँछन्।
उपभोक्ता समिति अध्यक्ष रजौरे भन्छन्, 'अझै थुप्रै निर्माणका काम बाँकी छन्। पोखरी उत्खनन, त्यसमा पानी संकलन गर्न बाँकी छ। पोखरीलाई आकर्षक बनाउन पोखरीको बाहिरी भागमा चारैतिर बगैँचा, अवलोकन गर्न आउने पर्यटकको सुविधाका लागि बस्ने ठाउँ, सिढी, शौचालय, धारा जडान, बिजुली बत्ती जडानलगायतका काम बाँकी छन्। यसका लागि बजेट माग गरिरहेका छौँ।'
करिब ९० वर्ष पहिले निर्माण गरिएको सो तालको संरक्षण स्थानीयवासीले गर्दै आएका थिए। बजेट अभावका कारण यसअघि ताललाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न नसकेको स्थानीयले जनाएका छन्। अहिले पोखरी पुनःनिर्माणले भने धेरै आशा पलाएको जनाइएको छ। त्यहाँ निर्माण गरिएका पूर्वाधारले अब पोखरीको अस्तित्व सुरक्षित हुनेमा विश्वस्त छन् यसको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका समाजसेवी तथा रजौरा निवासी ७५ वर्षीय गोविन्दप्रसाद रजौरे।
उनी भन्छन्, 'थप निर्माणका लागि बजेट नआएकाले निर्माणमा ढिलाइ भएको छ। समयमा बजेट उपलब्ध भएमा यसलाई पर्यटकीय क्षेत्रमा विकास गर्न सकिनेछ।' तुलसीपुर बजार नजिकमा यस्तो पोखरी कहीँकतै छैन।
यसमा पूर्वाधार निर्माण गर्नसके यहाँ धेरै पर्यटक भित्र्याउनुका साथै बजार क्षेत्रमा कुनै आगलागीका घटना भएमा त्यही पोखरीको पानी प्रयोग गर्न सजिलो हुने रजौरे बताउँछन्। 'यति पुरानो पोखरीको हामी स्थानीयवासीले संरक्षण गरेर राखेका छौँ, संरक्षण नगरेको भए सो जमिन अतिक्रमण भइसक्थ्यो', उनले भने।
अर्का स्थानीय ५१ वर्षीय रोमहर्ष रजौरेले लामो समय बितिसक्दा अहिलेसम्म यो योजनाले पूर्णता नपाएर आफूहरु दुःखित भएको उनले बताए। पहिलो चरणमा महत्वपूर्ण पूर्वाधार निर्माण भएको छ। अब बाँकी पूर्वाधार निर्माण गर्नसके यसक्षेत्रलाई पर्यटकीय केन्द्र बनाउन सकिने स्थानीयवासी रजौरे बताउँछन्। पोखरी संरक्षण गरेर त्यस क्षेत्रमा माछापालन, जलविहार तथा त्यहाँ जीवजन्तुको अवलोकन गर्न सकिने र यसबाट गाउँको मुहार नै फेर्न सकिने पनि उनले बताए। उपमहानगरपालिकाका इन्जिनियर पवनकुमार योगीले यसपटक पोखरीका लागि कुनै बजेट विनियोजन नभएको बताए।
उपमहानगरपालिकाबाट बजेट नभए पनि युएसएआइडीको तयार नेपाल विपद् जोखिम परियोजनाबाट बजेट विनियोजन भएको भन्ने जानकारीमा आएको स्थानीयवासीले बताएका छन्।
तालको आफ्नै ऐतिहासिक पृष्ठभूमि छ। नब्बे वर्ष पहिले रजौराका स्थानीयवासीले रजौरा, गोलौरा, डुम्रीगाउँलगायत गाउँका गाईवस्तुलाई गर्मीयाममा पानी खुवाउन एक बिघा जमिनमा आफै श्रमदान गरी मानवनिर्मित जलभण्डारको व्यवस्था गरेका थिए। त्यस समयमा पानीको अभाव भएपछि गाउँलेले सोही तालमा नुहाउने, कपडा धुने र भाँडाकुँडा सफा गर्ने गरेको यहाँका थारु अगुवा सीताराम चौधरी बताउँछन्।
त्यसैलाई पछि पोखरीमा परिणत गरिएको थियो। सो पोखरीमा कमलको फूल फुल्ने गर्दथ्यो। त्यो दृश्यले सबैलाई लोभ्याउने गरेकाले कमलफूल हेर्न र टिप्न गाउँगाउँबाट मानिस आउने गर्दथे। त्यसैले त्यस पोखरीको नाम कमलपोखरी राखिएको बताइएको छ। कमलपोखरी ताल तुलसीपुर बजारबाट डेढ किलोमिटर दक्षिणमा पर्ने रजौरा गाउँबाट पाँच सय मिटर पश्चिममा पर्दछ। रासस