घोराही- दाङका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका छन्। घोराही उपमहानगरपालिका-१४ स्थित स्वप्न होजियारी उद्योग एवं प्रशिक्षण केन्द्रमा महिला सीप सिकेर स्वरोजगार बन्न थालेका हुन्।
आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सीप सिक्न थालेको घोराही उपमहानगरपालिका-१४ कपासीकी उमेरले ५० वर्ष पुगेकी मीना ओलीले बताइन्। उनले भनिन्, ‘सीप सिक्छौँ, आत्मनिर्भर बन्छौँ, आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौँ।’ यस अघि उनले सुइटर, टोपी, मोजालगायत बुन्न सिकेको बताइन्।
प्रशिक्षण केन्द्रले बेरोजगार महिलालाई स्वरोजगार सिर्जना गर्नका लागि ऊनबाट बन्ने घर सजावटका सामग्री, खेलौनालगायतका सामग्री बुन्ने सीप प्रदान गरेको छ। केन्द्रमार्फत अन्य समयमा पनि विभिन्न बुनाइसम्बन्धी सीपयुक्त तालिम सञ्चालन भइरहन्छ।
यसअघि आफूले सुइटर, मोजा, टोपी बुन्न सिकिसकेको ओलीको भनाइ छ। अब सीप सिकेर ऊनबाट निर्माण हुने विभिन्न प्रकारका डल बुनेर बजारसम्म लैजाने तयारी आफूहरुको रहेको उनले बताइन्।
यो सीपले हाम्रो जीवनस्तरमा सुधार ल्याउने आशा गरेका छौँ', उनले थपिन्, सानो लगानीमा पनि व्यवसाय गर्न सकिने भएकाले आर्थिक अवस्थामा सहयोग पुग्ने आशा गरेका हौँ।' यसअघि चुलोचौको र पानीपँधेरामा सीमित हुने महिलाले सीप सिकेर आयआर्जन गरी आत्मनिर्भरको बाटो रोजेका छन्।
घोराही उपमहानगरपालिका-१६ मघईका ३५ वर्षीया चमेली चौधरीले पनि मङ्सिर ७ गतेदेखि ऊनका सामग्री बनाउन सिक्दै आएकी छिन्। अघिपछि घरमा त्यसै बस्दा आर्थिकरुपमा कसरी सशक्त हुन सकिन्छ भन्ने मात्रै सोचाइ आउँथ्यो तर अहिले व्यस्त हुँदा कुनै नकारात्मक कुरा सोच्नेसमेत समय नहुने गरेको बताइन्। यो अवधिमा पनि धेरै कुरा सिक्न पाएको उनको भनाइ छ। फुर्सदको समयलाई सीपमूलक काममा लगाइयो भने जीविकोपार्जनमा सहयोग पुग्ने उहाँको आशा रहेको छ।
महिलालाई आत्मनिर्भर बनाउन स्वप्न होजियारी उद्योग एवं प्रशिक्षण केन्द्रका प्रमुख प्रशिक्षक रचना सुवेदी र विमला चौधरीले सीप सिकाउँदै आएका छन्। केन्द्रमा हाल १५/१६ जना महिलाले सीप सिक्दै आएका छन्। प्रशिक्षक सुवेदी सीप सिकेर व्यावसायिक रुपले अगाडि बढाउन प्रशिक्षार्थीलाई आग्रह गर्छिन्। सिकेको सीपले बजारमा पाइने रेडिमेटभन्दा हातले बुनेका मोजा, टोपी बलियो र टिकाउ हुने उनको अनुभव छ।
सुवेदीले सीप सिकेर उत्पादन गरेका वस्तु बिक्रीका लागि जिल्लामा बजारको केही समस्या छ', उनले भनिन्, स्थानीय सरकारले यसको बजारीकरणको लागि सहज वातावरण बनाइदिए राम्रो हुन्थ्यो। हाल यही समस्या रहेकाले मुख्य कुरा बजारीकरणको लागि हरेक निकायले पहल गरिदिए सहज हुने उनको भनाइ छ। साथै आयआर्जन न्यून भएका धेरै महिला सीप सिक्नबाट वञ्चित हुँदा सरकारले पनि महिलालाई स्वरोजगार बनाउन ध्यान दिन आवश्यक रहेको उनी बताउँछिन्।
कतिपय महिलाले सीप सिक्न आउँदा दैनिक मजदुरी नै छुट्ने समस्या बताउने गरेको प्रशिक्षक सुवेदी बताउँछिन्। प्रशिक्षक सुवेदीले २०६९ सालदेखि प्रशिक्षकको काम गर्दै आएकी छिन्।
ऊनका सामग्री बनाएर विपन्न तथा आर्थिकरुपमा पछि परेका महिलाको आयआर्जनमा सुधार ल्याउने हिसाबले सीप प्रदान गरिएको अर्का प्रशिक्षक विमला चौधरीले बताइन्। एक महिनासम्म महिलालाई ऊनको धागोबाट विभिन्न प्रकारका खेलौना तथा घर सजावटका सामग्री बुन्न सिकाइरहेको उनको भनाइ छ। तालिमप्रश्चात् प्रशिक्षार्थीले उत्पादन गरेका सामग्रीलाई आफुले काठमाडौं लगेर बजारीकरण गरिदिने उनी बताउँछिन्। रासस