काठमाडौं- नेपाल इन्टरमोडल यातायात समिमिले नेपालगञ्ज एकीकृत जाँच चौकी सञ्चालनमा ल्याउन पहल थालेको छ।
नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई थप सरल, व्यवस्थित र सहज बनाउने उद्देश्यले नेपाल-भारतबीच चार सीमा नाकाहरु (विराटनगर, वीरगञ्ज, भैरहवा र नेपालगञ्ज) मा दुवैतर्फ समानरुपमा एकीकृत जाँच चौकीको निर्माण गर्न नेपाल सरकार र भारत सरकारबीच अगष्ट ३, २००५ मा भएको समझदारी भएको थियो।
सोहीअनुरुप वीरगञ्ज र विराटनगरमा एकीकृत जाँच चौकीको निर्माण कार्य सम्पन्न भइ सञ्चालनमा आइसकेका छन् भने नेपालगञ्ज एकीकृत जाँच चौकीको निर्माण कार्य २०७७ असोज २६ गते सुरु भएको हो।
४४.३६ हेक्टर क्षेत्रफलमा फैलिएको यस एकीकृत जाँच चौकीको निर्माण कार्य हाल अन्तिम चरणमा रहेको छ। नेपाल र भारतका प्रधानमन्त्री पुष्पकमल दाहाल र नरेन्द्र मोदीले २०८० जेठ १८ गते संयुक्तरुपमा उक्त एकीकृत जाँच चौकीको उद्घाटन गरेका थिए।
हालै नेपालगञ्ज एकीकृत जाँच चौकीमा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपालगञ्ज भन्सार प्रमुख, नेपाल इन्टरमोडल यातायत विकास समितिका उपनिर्देशकलगायत सरोकारवालाले निर्माण कम्पनीसँग नेपालगन्ज आईसीपीको बाँकी काम सम्पन्न गर्नमा देखिएका समस्याहरुका बारेमा छलफल भएको थियो। छलफलको क्रममा भारतका परराष्ट्र मन्त्रालयका सहसचिवले निर्माण कार्यलाई तीव्रता दिन र बाँकी काम १ महिनाभित्र सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिएका थिए।
नेपालगञ्ज एकीकृत जाँच चौकीमा पानी ट्यांकी, सिसिटिभि जडान, नेटवर्किङ, फायरफाइटिङ सिस्टमलगायतका कार्यहरु बाँकी रहेको र उक्त कार्य सम्पन्न गर्न करिब १ महिना लाग्ने देखिएको छ। उक्त जाँच चौकी सञ्चालनको लागि नेपाल इन्टरमोडल यातायात विकासबाट सम्पूर्ण तयारी पूरा भएको र उक्त जाँच चौकी हस्तान्तरणको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत भारतीय दूतावासमा अनुरोधसमेत गरिएको जानकारी समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले गराए।
जाँच चौकी समितिलाई हस्तान्तरण भएपछि तुरुन्त सञ्चालन गर्न सक्ने गरी तयारी गरिएको र नेपाल इन्टरमोडल यातायात विकास समितिबाट सम्बन्धित निकायहरुसँग समन्वय भइरहेको हुँदा हस्तान्तरण भए पश्चात सञ्चालन सुरु गर्न कुनै समस्या नहुने समेत कार्यकारी निर्देशक गजुरेलले बताए।