आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

१२ पटकसम्म म्याद थप्दा पनि पूरा भएन काभ्रे एकीकृत खानेपानी आयोजना

images
बुधबार, पुस ४ २०८०
images
images
१२ पटकसम्म म्याद थप्दा पनि पूरा भएन काभ्रे एकीकृत खानेपानी आयोजना
फाइल तस्बिर

आयोजना सम्पन्न नहुँदा तीन नगरका करिब ९३ हजारले खानेपानी पाउन सकेका छैनन्। उक्त आयोजनाबाट सन् २०२४ सम्ममा तीन नगरका एक लाख ४० हजार लाभान्वित हुनेसमेत प्रक्षेपण गरिएको छ।

images
images

काभ्रेपलाञ्चोक- जिल्लाका तीन पुराना नगरपालिका समेटिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको बाह्रवर्ष बितिसकेको छ। सम्झौताको तीन वर्षमा आयोजना सम्पन्न गर्ने जनाइए पनि ठेकेदार कम्पनीलाई १२ पटकसम्म म्याद थप्दा पनि काम सम्पन्न हुन नसकेपछि आयोजनाले ठेक्का तोडेर कानूनी उपचारमा लागेको जनाएको छ। 

images
images
images

चिनियाँ ठेकेदार कम्पनी निम्वो निङसिङ इन्टरनेशनल इंक नामक ठेकेदार कम्पनीलाई १२औँ पटक म्याद थप्दा पनि आलटाल गरी दिइएको समयमा काम नसकेपछि आयोजनाले कानूनी उपचारको बाटो खोजेको हो। इंकले सन् २०२० देखि बाँकी काम नगरेको आयोजनाले जनाएको छ। '१२औँ पटकसम्म म्याद थप्दा इंकले काम नगरेपछि कानूनी उपचारको बाटोमा गइएको छ, अब न्यायालयले आयोजनालाई न्याय दिलाउने अपेक्षा गरिएको छ', आयोजनाका इञ्जिनियर राजकुमार प्रधानले भने। आयोजनाले उक्त कम्पनीलाई १२औँ पटक म्याद थप्दा सन् २०२० को नोभेम्बरमा सक्ने समयसीमा दिएको थियो।

images

आयोजनाको सामुदायिक विकास अधिकृत कृष्णप्रसाद कायस्थका अनुसार १२औँ पटकको समयसीमामा काम सम्पन्न नभएपछि बोर्डको निर्णयबाट ठेक्का तोडिएको हो। हालसम्म आयोजनाको भौतिक प्रगति ९६ दशमलव ६० प्रतिशत सकिएको छ।

images
images
images

आयोजना सम्पन्न नहुँदा तीन नगरका करिब ९३ हजारले खानेपानी पाउन नसकेका हुन्। उक्त आयोजनाबाट सन् २०२४ सम्ममा तीन नगरका एक लाख ४० हजार लाभान्वित हुनेसमेत प्रक्षेपण गरिएको छ।

आयोजनाबाट काभ्रेपलाञ्चोकका तीन पुराना नगर बनेपा, धुलिखेल र पनौती नगरको स्थानीयका घर-घरमा चौबिसै घण्टा स्वच्छ खानेपानी पुर्‍याउने जनाइएको थियो। सन् २०१२ डिसेम्बार १९ मा नेपाल सरकार र एसियाली विकास बैंक(एडीबी)बीच ऋण सम्झौता गरिएको खानेपानी आयोजना करिब एक अर्ब रूपैयाँमा सम्पन्न हुने जनाइएको थियो।

परीक्षणका विविध प्राविधिक समस्या दर्शाउँदै कम्पनीले आयोजनाको खानेपानी वितरणकार्य लम्ब्याएपछि कानूनी बाटोमा गइएको आयोजनाले जनाएको हो। करिब चार महिना पानी वितरण परीक्षणलगायत बाँकी भौतिक काम सकिने बताइन्छ। एडीबीको २९ प्रतिशत, नेपाल सरकार २१ प्रतिशत, नगर विकास कोषको ऋण ३५ प्रतिशत र १५ प्रतिशत स्थानीय सहभागितामा सम्पन्न गर्ने सम्झौता गरिएको आयोजना १२ जुन २०१५ मा सक्ने सम्झौतामा उल्लेख छ।

कोषको ऋणमा वार्षिक पाँच प्रतिशत ब्याज तोकिएको उक्त ऋणको साँवा र ब्याज तीनै नगरबाट २० वर्षभित्र चुक्ता गरी सक्नुपर्ने सम्झौता भएको हो। आयोजनाका अनुसार इन्टेक निर्माण ९८ प्रतिशत, रिजर्भ ट्यांकी निर्माण ९७ प्रतिशत मुख्य प्रसारण पाइप लाइन बिछ्याउने कार्य ९६ दशमलव ८०, ९२ प्रतिशत वितरण पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भएको छ। इञ्जिनियर प्रधानले आयोजनामा हालसम्म ७६ दशलमलव ३२ प्रतिशत प्रगति भएको बताए। आयोजनाको कुल लागत भ्याटबाहेक ९९ करोड आठ लाख सात हजार रूपैयाँ रहेको छ।

आयोजनाअन्तर्गत अन्तिम चरणमा तीनै नगरमा हाल सञ्चालित खानेपानी आयोजना तथा उपभोक्ता समितिमार्फत वितरण भएको पानीको पाइपमा हाल नयाँ खानेपानीको पाइप जडान गर्ने (इन्टर कनेक्सन)को काम सम्पन्न भएको छ। तीन नगर र सडक विभागले सडक विस्तारका क्रममा कतिपय स्थानमा खानेपानीको पाइप फुटेकाले क्षति पुर्‍याइएका सामग्रीको नगर र विभागले नै बनाइदिएका छन्।

तीन नगरका एक हजार एक सय १४ इन्टर-कनेक्शन गरिएको छ। उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन फिल्टर मिडिया जडानसमेत गरिएको छ। खानेपानी वितरणकार्यमा अन्योलता देखिएपछि तीनै नगरका प्रमुखले आयोजनाप्रति चासो देखाउँदै खानेपानी संस्थानको वितरण प्रणालीमा मेनलाइनबाट पानी मिसाइ परीक्षण गराउनुका साथै पनौती-खोपासी सडक, पनौती-बनेपा सडकको दायाँबायाँका वितरण प्रणालीका बिग्रेका पाइप फेर्दै प्रणालीले समेटेका बस्तीमा खानेपानी वितरणका लागि परीक्षण कार्य थाल्न लगाएका छन्।

यस्तै पनौती नपा-९ देवीस्थानस्थित बोर्डको खानेपानी प्रशोधन केन्द्रको अवस्था तथा केन्द्र निर्माणकार्य सक्न बाँकी रहेको जनाइएको छ। आयोजना सम्पन्न भएपछि तीन नगरमा ‘नेपाल स्टायण्डर्ड’को पर्याप्त मात्रामा गुणस्तरीय स्वच्छ खानेपानी उपभोग गर्न पाउने छन्। 'ठकेकेदारले नियमित काम गरेको भए तीन वर्ष अघिनै तीन नगरका नागरिकले स्वच्छ पिउने खानेपानी पाइसक्नुहुन्थ्यो, तर हामी जनप्रतनिधि आ-आफ्ना प्रयासमा लागेका छौँ', बनेपाका नगरप्रमुख शान्तिरत्न शाक्यले भने। उनका अनुसार आयोजना केही वर्ष लम्बिए पनि छिट्टै स्थानीयका घरमा पानी पुर्‍याइने छ। 

यस आयोजनालाई तत्कालीन अवस्थामा एडीबीको सहयोगमा सञ्चालन भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजनाको रुपमा हेरिएको थियो। रासस


प्रकाशित : बुधबार, पुस ४ २०८०१३:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend