काठमाडौं- नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा रामु पौडेल चयन भएका छन्। कम्पनीको २३०औँ सञ्चालक समितिको बैठकबाट पौडेल सर्वसम्मतरुपमा अध्यक्षमा चयन भएका हुन्।
आजको औपचारिक कार्यक्रममा उनले डेपुटी गभर्नर बमबहादुर मिश्रबाट अध्यक्ष पदको सपथ ग्रहण गरेका छन्।
नेपाल राष्ट्र बैंकभित्र हालै भएको विभिन्न विभागिय परिवर्तनपश्चात् नेपाल क्लियरिङ हाउसमा गरिँदै आएको प्रतिनिधित्वसमेत परिवर्तन भएको हो। केन्द्रिय बैंकको विभिन्न विभागमा २२ वर्षभन्दा बढी काम गरेको उनको अनुभव छ।
नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन्। एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धित कम्पनी हो।