काठमाडौं- नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री बन्द गरेको छ।
बैंकले २९ मंसिरदेखि ३ पुससम्मको समय राखेर आवेदन खुलाएकोमा माग भन्दा बढी आवेदन परेको थियो। पुस ३ गते बैंकिङ समयपश्चात् डिबेन्चर बन्द गरिएको नबिलले जनाएको छ।
प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गरिएकोमा पहिलोपटक दिएको समयमा नै सबै डिबेन्चर बिक्री भएको नबिल बैंकले जनाएको छ।
बैंकले बिक्रीमा ल्याएको कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री खुल्ला गरिएको थियो।
सर्वसाधारणलाई छुट्टाइएको १२ लाख कित्तामध्ये पाँच प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६०,००० कित्ता सामूहिक कोषका लागि समेत समावेश गरिएको थियो। यस सात वर्षे ऋणपत्रमा लगानीकर्ताले ९ प्रतिशतको ब्याजदर पाउने नबिलले जनाएको छ।
नबिल बैंकले हाल देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ। यस बैंकबाट १८ लाखभन्दा बढी ग्राहकले बैंकिङ सेवा लिँदै आएको बैंकले जनाएको छ।