काठमाडौं- संस्थापक लगानीकर्ताको पैसा बैंक वित्तीय संस्थाको मुद्दती निक्षेपमा राखेर हिमालयन रि इन्स्योरेन्सले सर्वसाधारणका लागि प्रिमियममा प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ। बीमा कम्पनीहरुले बिमितबाट प्राप्त रकम जोखिम न्यूनीकरण गर्न विभिन्न पुनर्बीमा कम्पनीमा लगानी गर्छन्। पुनर्बीमा कम्पनीहरुले उक्त जोखिम धारण गरी स्वदेश तथा विदेशमा उच्च प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्छन्।
तर, हिमालयन रि इन्स्योरेन्स स्थापना भएको दोस्रो वर्षमै सर्वसाधारणबाट रकम उठाएर संस्थापक लगानीकर्ताको लगानी सुरक्षित गर्ने रणनीतिमा सफल भएको छ। नयाँ पुर्नबीमा कम्पनी भएकाले नेपालका बीमा कम्पनीहरुले यसलाई राम्रोसँग विश्वास गरिसकेका छैनन्। जसले गर्दा हिमालयन रि इन्स्योरेन्स कम्पनीले प्रमुख आम्दानी इन्स्योरेन्स प्रिमियम पर्याप्त प्राप्त गरेको छैन।
बीमा कम्पनीलाई विश्वासमा लिएर आम्दानीको स्रोत नै खोज्न नसकिरहेको कम्पनीले मुद्दती निक्षेपबाट प्राप्त ब्याजलाई मुख्य आम्दानी देखाएर सर्वसाधारणका लागि प्रिमिमयमा प्राथमिक सेयर निष्कासन गरेको छ। हिमालयनले धितोपत्र बोर्डमा बुझाएको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणमा ६ अर्ब ९६ करोड ३४ लाख रूपैयाँ मुद्दती निक्षेपमा लगानी गरेर ५७ करोड ५७ लाख रूपैयाँ प्राप्त ब्याज आम्दानीलाई नाफाको मुख्य अंगको रुपमा देखाएको छ।
जबकी कम्पनीको संस्थापक सेयरधनीहरुको चुक्ता पुँजी ७ अर्ब रूपैयाँ रहेको छ। कम्पनीले यस अवधिमा इन्स्योरेन्स प्रिमियमबाट ४३ करोड ४५ लाख रूपैयाँ मात्रै आम्दानी गरेको छ। गत वर्ष ४ करोड ८५ लाख रूपैयाँ दाबी भुक्तानीसहित खुद प्रिमियम आम्दानी ३८ करोड ६० लाख रूपैयाँ मात्रै रहेको छ। प्रिमियम आम्दानी र ब्याज आम्दानीबाट ९७ करोड ३८ लाख रूपैयाँ आम्दानी गरेको छ। उक्त मुद्दतीमा राखेको ब्याजकै कारण कम्पनीले खुद नाफा २९ करोड २१ लाख रूपैयाँ रहेको छ।
गत आर्थिक वर्ष कम्पनीको प्रतिसेयर आम्दानी ४.१७ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७७/७८ मा यस कम्पनीले २ करोड ३७ लाख ब्याज आम्दानीकै कारण कम्पनी नाफामा गएको छ। उक्त वर्ष कम्पनी स्थापना भएकाले कुल ७८ हजार रूपैयाँमात्रै बीमा प्रिमियमबाट आम्दानी प्राप्त गरेको छ। यस वर्ष कम्पनीले ९४ लाख रूपैयाँ खुद नाफा कमाएको छ।
कम्पनीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को अपरिष्कृत वित्तीय विवरणमा हिमालयन रिइन्स्योरेन्सको प्रिमियम आम्दानी बढेको देखाएको छ। यस अवधिमा कम्पनीको प्रिमियम आम्दानी ४ अर्ब ४८ करोड रहेको देखाइएको छ। यस्तै यस वर्ष पनि कम्पनीले मुद्दती निक्षेपबाट ८० करोड ६४ लाख रूपैयाँ मुद्दती निक्षेपबाट आम्दानी गरेको देखाइएको छ।
यस वर्षको कम्पनीको खुद नाफा ४४ करोड २४ लाख रूपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी यस आर्थिक वर्ष ६.३२ रूपैयाँ हुने अनुमान गरिएको छ। आगामी आर्थिक वर्ष २०८०/८१ मा १०.२६ रूपैयाँ, आर्थिक वर्ष २०८१/८२ मा १५.५२ रूपैयाँ र आर्थिक वर्ष २०८२/८३ मा प्रतिसेयर आम्दानी २२.८३ रूपैयाँ पुग्ने अनुमान गरिएको छ। आर्थिक वर्ष २०७७/७८ मा ०.१३ प्रतिशत रूपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा ४.१७ रूपैयाँ प्रति सेयर आम्दानी रहेको छ।
यस कम्पनीले नेपाल सरकारको ऋणपत्रमा ६ करोड ८६ लाख रूपैयाँ, वाणिज्य बैंकको मुद्दती निक्षेपमा ३ अर्ब ५० करोड रूपैयाँ, विकास बैंकको मुद्दतीमा ३४ करोड ३० लाख रूपैयाँ, वित्त कम्पनीको मुद्दती निक्षेपमा १७ करोड १५ लाख रूपैयाँ, पब्लिक कम्पनीको सेयर तथा डिबेन्चरमा ३४ करोड ३० लाख रूपैयाँ र इन्भेष्टमेन्ट कम्पनीमा २५ करोड रूपैयाँ लगानी गरेको छ। यस कम्पनीले प्रिमियममा सेयर जारी गरेर ६ अर्ब १८ करोड रूपैयाँ उठाउन लागेको छ।
सर्वसाधारणबाट यति धेरै रकम उठाउनका लागि अनुमति दिएको धितोपत्र बोर्डले भने आफ्नो कर्तव्य र उत्तरदायित्व पालना गर्नुभन्दा पनि प्रिमियम जारी गर्नकै लागि सहजकर्ताको भूमिका निर्वाह गरेको छ। प्रिमियममा सेयर जारी गर्न ३ वर्ष नाफा रहेको देखाउनुपर्ने कानूनी व्यवस्थालाई संशोधन गर्दै बोर्डले २ वर्षमा कायम गरेको छ। हिमालयन रिकै सेयर प्रिमियममा जारी गर्ने अनुमति दिनका लागि बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गर्दै २ वर्ष नाफामा भए पुग्ने व्यवस्था गरेको हो।
यस्तै कम्पनीले कुनै पनि माध्यमबाट नाफा देखाए पनि हुने बुझाइ बोर्डको छ। हिमालयन रि इन्स्योरेन्स कम्पनीले कानून बमोजिम दुई वर्षको नाफा देखाएर र कुनै पनि कम्पनीको नाफा नोक्सान हेर्ने काम बोर्डको नभइ सम्बन्धित लेखापरीक्षकको भएको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठको तर्क छ।
‘हिमालयन रि इन्स्योरेन्सले कानून बमोजिम दुई वर्ष नाफामा रहेको वित्तीय विवरण प्रस्तुत गरेर प्रिमियममा प्राथमिक सेयर निष्कासन गर्ने अनुमति पाएको हो। कम्पनीको नाफा नोक्सान परिक्षण गर्ने काम धितोपत्र बोर्डको होइन। सम्बन्धित लेखापरीक्षकको हो’,उनले भने।
कम्पनीले प्रिमियममा सेयर जारी गरिसकेकाले यसको वित्तीय विवरणको आवश्यक अध्ययन गरेर सेयर खरिद गर्ने वा नगर्ने काम लगानीकर्ताको पनि भएको उनले बताए।
कानून र विधिको कसीमा मिलेको भनेर देखाइए पनि सामान्य व्यापारिक धर्मविपरीतको काम कम्पनीले गरेको छ भने नियामकले नियतको विश्लेषण पनि गर्न सकेको देखिएन। यो प्रकरणमा सामान्य नियमअनुसार भनेर जसरी देखाइएको छ, त्यसका लागि खेलिएको छ यो नियम र व्यापार दुवै धर्मविपरीत भएको एक पूर्वअधिकारी बताउँछन्।
'व्यापार व्यवसाय गरी नाफा आर्जना गरेर त्यसको आधारमा प्रिमियम सेयर जारी गर्नु व्यावसायिक मर्यादा हो। नेपालमा पनि पहिलो पटक संस्थापक सेयर लगानीकर्ताबाट संकलन भएको रकम मुद्दती निक्षेपमा राखेर आएको ब्याजको नाफालाई हेरेर हिमालयन रिलाई प्रिमियममा सेयर जारी गर्न दिएको छ', ती अधिकारी भन्छन्, 'हिमालयनले प्रिमियम सेयर जारीका लागि बुझाएको वित्तीय विवरणमा २ आर्थिक वर्षमा कम्पनीको नाफा देखाउँदा ब्याजको नाफालाई लिँदै त्यसको आधारमा कम्पनीलाई प्रिमियम सेयर जारी गर्न दिनु गैरकानूनी नभए पनि व्यवसायी मर्यादा विपरित हो। यसले प्रिमियम सेयर जारीमा विकृति सुरु भएको छ।'
हिमालयन रि इन्स्योरेन्सले प्रिमियममा जारी गर्ने अनुमतिका विरुद्ध अदालतमा मुद्दा समेत परेको थियो। तर, अदालतले रिट खारेज गर्दै हिमालयन रि इन्स्योरेन्सलाई प्रिमियममा सेयर जारी गर्न अनुमति दिएको थियो।
कम्पनीले १०० रूपैयाँमा १०६ रूपैयाँ प्रिमियम थप गरी २०६ रूपैयाँमा सर्वसाधारणका लागि सेयर जारी गरेको छ। यस कम्पनीले २ करोड ४९ लाख कित्ता सर्वसाधारणका लागि सेयर निष्कासन गरिरहेको छ। यसअघि कम्पनीले ३ करोड कित्ताको १० प्रतिशत ३ लाख कित्ता वैदेशिक रोजगारीका लागि प्राथमिक सेयर निष्कासन गरिसकेको छ। कम्पनीको २ प्रतिशत सेयर कर्मचारी र ५ प्रतिशत सेयर सामूहिक लगानीकोषका लागि छुट्याएको छ।
यस कम्पनी ठूला व्यावसायिक घरानाहरुको लगानी रहेको छ। कम्पनीमा हंशराज हुलास चन्द एण्ड कम्पनीका तर्फबाट भने २० करोड रूपैयाँ लगानी रहेको छ। कम्पनीको अध्यक्ष गोल्छासहित सञ्चालकहरुमा साहिल अग्रवाल, अमित मोर र रोहित गुप्ता छन्। कम्पनीको प्रमुख सेयरधनी तथा सञ्चालक साहिल अग्रवालले आफ्ना १० प्राइभेट फर्म मार्फत डेड अर्ब रूपैयाँको लगानी रहेको छ।
जगदम्बा स्टिल प्रालिका तर्फबाट २२ करोड, जगदम्बा मोटर्सको तर्फबाट ३२ करोड, किर्ती एपेक्सको, बन्डर भेन्चर्स, उज्जीवन मर्चेन्ट, अजन्ता होल्डिङको तर्फबाट १०/१० करोड, कारवी ग्लोबल, अटल क्यापिटल, एकाँर्ड क्यापफिन र कालिका फिनकोर्फको तर्फबाट १३.५०/१३.३० करोड रूपैयाँ लगानी रहेको छ।
अर्को सञ्चालक अमित मोर नेपाल उद्योग परिसंघका अध्यक्ष शतिश मोरका छोरा हुन्। हिमालयनमा शतिश मोरको गणपति वनस्पति प्रालिको तर्फबाट २२ करोड ५० लाख रूपैयाँ लगानी रहेको छ। अमित मोरको नाममा भने २ करोड ५० लाख रूपैयाँको सेयर रहेको छ। सञ्चालक रोहित गुप्ता भने उद्योगी रमेश गुप्ताका छोरा हुन्।
रोहित गुप्ताले पनि टेलिडाइरेक्ट प्रालीको तर्फबाट ५ करोड, लुम्बिनी विद्युत उद्योगको तर्फबाट २ करोड, टेलिकम प्रालिको तर्फबाट २ करोड, युनिभर्सल इलेक्ट्रोकम प्रालिको तर्फबाट एक करोड रूपैयाँ लगानी रहेको छ।
हिमालयन रि इन्स्योरेन्स पावर ब्रोकर दिपक भट्टको पनि लगानी रहेको छ। इन्फिनिट होल्डिङ्सका नाममा उनको १० प्रतिशत सेयर रहेको छ। उनले नै हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई अनुमति दिनका लागि मुख्य भूमिका खेलेको बताइन्छ। प्रिमियम सेयर जारी गर्न अनुमति दिलाउने मुख्य योजनाकार पनि उनी नै भएको बताइन्छ।