काठमाडौं- सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आन्तरिम आदेश दिएको छ।
श्रीराम टोवागो उद्योगले हालेको रिटमा उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलगेसम्म महानगरको १२ मंसिरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।
महानगरले सुर्ती, खैनी, गुट्खा, पान परागजस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ। साथै चुरोट खुद्रा बेच्न रोक लगाएको छ भने सार्वजनिक स्थानको एक सय मिटर वरपर धुमपान गरे एक सय रुपैयाँ जरिबाना गर्ने निर्णय समेत गरेको थियो।
उद्योगीहरूले जैविक रुपमा सडेर जाने बायो डिग्रेडेबल जैविक वस्तुमा आफ्ना उत्पादनहरू प्याकिङ गर्न आवश्यक थप लगानी र तयारी गरिरहेको भन्ने भनाइ रहेको साथै रितपूर्वक उद्योग व्यवसाय सञ्चालन गरी कर तथा राजश्वसमेत नियमित तिर्दै आएको अवस्थातर्फ इङ्गित गर्दै उच्च अदालतले उद्योग व्यवसायमा प्रतिकूल असर परी अपूरणीय क्षति पुग्न सक्ने हुँदा रिट निवेदनको अन्तिम सुनुवाइ नभएसम्म सुर्तिजन्य पदार्थ ब्रिक्रीमा प्रतिबन्ध नगर्न आदेश दिएको हो।