सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

कृषिजन्य उत्पादनको बजारीकरण गर्दै हाटबजार

images
बिहीबार , मंसिर २८ २०८०
images
images
कृषिजन्य उत्पादनको बजारीकरण गर्दै हाटबजार

हाटबजारका कारण बजार खोज्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको, बिक्री नहुने चिन्ता हटेको किसान बताउँछन्।

images
images

कञ्चनपुर- बेलौरी नगरपालिका-३ का समिर चौधरीलाई बारीमा उत्पादित तरकारी बेच्ने झन्झट हटेर गएको छ। उत्पादित तरकारी सहजरुपमा गाउँ नजिकैको कलकत्ता बजारमा सञ्चालित हाटबजारमा बिक्री हुन थालेपछि उनी निकै खुसी छन्।

images
images
images

हप्ताको प्रत्येक शनिबार बेलौरी-८ कलकत्तामा हाटबजार लाग्ने गरेको छ। त्यही बजारमा चौधरीले च्याउ, काउली, गोलभेँडा, आलु, खुर्सानी, सिमला मिर्च, भण्टा, प्याजलगायत बेच्छन्। तीन हप्तादेखि उनले निरन्तररुपमा हाटबजारमा पुगेर तरकारी बेच्दै आएका छन्। 'काउलीमात्रै प्रतिहप्ता दुईदेखि तीन क्विन्टल बिक्री हुने गरेको छ', उनले भने, 'तीन किलो काउली सयमा बिक्री गरिरहेका छौँ।' अन्य तरकारी ५० देखि सय प्रतिकिलोका दरले बिक्री हुने गरेको उनको भनाई रहेको छ।

images

'हाटबजार सञ्चालन नहुँदा साइकलमा गाउँगाउँ पुर्‍याएर तरकारी बेच्दा निकै श्रम गर्नुपर्ने अवस्था थियो', उनले भने, 'दिनभरी साइकल डुलाउँदा तरकारी बिक्री नभए निकै निराश हुनुपर्ने अवस्था थियो, हाल हप्ताको एक दिन लाग्ने हाटबजारमा तरकारी हातोहात बिक्री हुन्छ, बाँकी अरु दिन थोक व्यापारीलाई तरकारी बेच्छौँ।'

images
images
images

हाटबजारमा तरकारी बेच्दै आएका राजेश केसी हाटबजार सञ्चालनमा आएपछि किसानलाई बारीमा उत्पादित तरकारीका लागि बजार खोज्दै हिँडनुपर्ने अवस्थाको अन्त्य भएको बताउँछन्। महिनामा तीन, चार दिन हाटबजार लाग्ने भएकाले किसानको तरकारी महेन्द्रनगर, धनगढी लगायत बजारबाट आएका व्यापारीले खरिद गरी लैजाने गरेको उनले बताए।

केसीजस्तै हाटबजारमा अनिल चौधरीले आफ्नै फर्ममा पालेका बंगुर र कुखुराको मासु बिक्री गर्दै आएका छन्। हाटबजार लाग्ने दिन उनले ५० देखि ८० किलोसम्म बंगुरको मासु तीन सय ८० का दरले बिक्री गर्छन्। कुखुराको मासु भने २० देखि २५ रूपैयाँ किलोसम्म तीन सय ४० रूपैयाँका दरले बिक्री हुन्छ।

'हाटबजारमा बंगुर र कुखुराको मासु बिक्री हुन थालेपछि ग्राहक नपाउँदा विगतको जस्तो भौतारिँदै हिँडनु परेको छैन', उनले भने, 'हाटबजार नभएका बेला गाउँमै सञ्चालित पसलबाट मासु बिक्री गर्दै आएका छौँ।' हाटबजारमा चिनजान भएका व्यापारीले फार्मबाटै कुखुरा र बंगुर खरिद गर्न पनि आउन थालेको उनको भनाइ रहेको छ।

हाटबजारमा ७५ पसल सञ्चालका लागि प्रदर्शनी कक्षको व्यवस्था गरिएको छ। यसमा हाल तरकारीका १०, कपडाका ३०, मासुका सात, मिठाइलगायत खाद्य परिकारका सात वटा गरी ५४ वटा पसल सञ्चालनमा रहेका छन्। गत वर्षको दसैँ अघिदेखि हाटबजार सञ्चालमा ल्याइएको हो। त्यसपछि हाटबजार निरन्तररुपमा सञ्चालन हुँदै आएको छ। हाटबजार सञ्चालनका लागि स्थानीय कोपिला चौधरीको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ। पहिलो पटक हाटबजार आब ०६०/६१ मा सञ्चालन गरिएको हो। केही वर्ष सञ्चालनपछि बन्द भयो। त्यसपछि विसं २०७३ सालमा पुनः सञ्चालनमा ल्याइयो।

'हाटबजार सञ्चालनका लागि प्रकृया अगाडि बढाउँदा बढाउँदै कोरोना महामारी आयो, सञ्चालन गर्न सकेनौँ', अध्यक्ष चौधरीले भने,' त्यसपछि गतवर्षको असोज १२ गतेदेखि निरन्तररुपमा हाटबजार सञ्चालन हुँदै आएको छ।' तीन महिनासम्म हाटबजारमा आउने किसानलाई निःशुल्करुपमा स्टलमा सामान राखेर बेच्ने व्यवस्था गरिएको उनले बताए।

उनका अनुसार गत वर्षको माघदेखि प्रदर्शनी कक्षमा कृषिजन्य, मासुजन्य र अन्य पसल सञ्चालन गर्ने व्यवसायीबाट ५० रूपैयाँ शुःल्क लिन थालिएको छ। चनाचटपटे, चाट लगायतका स साना पसलबाट ३० रूपैयाँ र टोकरीमा सामान ल्याएर बेच्ने किसानलाई निःशुल्क बेच्न दिने व्यवस्था गरिएको छ।

हाटबजार व्यवस्थापन गर्नका लागि नगरपालिकाले चार लाख रूपैयाँ अनुदान रकम प्रदान गरेकोमा जसबाट तारजाली राख्ने, गेट निर्माण, पानीको धारा र विद्युतको व्यवस्था मिलाइएको अध्यक्ष चौधरीको भनाइ रहेको छ। हाटबजारमा प्रत्येक हप्ता पाँच लाखदेखि सात लाख रूपैयाँसम्मको कृषिजन्य वस्तुको खरिदबिक्रीको कार्य हुने गरेको छ। 

'हाटबजारमा विशेष गरी स्थानीय किसान र स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर बेच्न दिने गरेका छौँ', उनले भने, 'जसबाट स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुगेको छ।' हाटबजारमा स्थानीय कृषि उत्पादन ल्याएर बिक्री गर्न आउने किसानको सङख्या बढदै गएकाले स्टलको कमी, धारा, शौचालयको अभाव हुन थालेको उनको भनाइ रहेको छ।

हाटबजारमा सामान बेच्न आउने र खरिद गर्न आउने व्यक्तिहरुका सवारी र ढुवानीका साधन पार्किङ गर्नका लागि ठाउको अभाव रहेको छ। हाटबजार अढाइ कठ्ठा जग्गामा सञ्चालन हुँदै आएको छ। हाटबजार सञ्चालन भएपछि व्यवसायिक तरकारी खेती र पशुपक्षीपालन गर्ने किसानको सङ्ख्या बढदै जान थालेको छ।

'व्यावसायिक कृषि छाडेका किसान पुनः पुरानै तरिकाले खेती गर्न थालेका छन्', नगरपालिकाको कृषि शाखाका प्राविधिक सहायक हरिश सेठीले भने, 'नगरपालिका क्षेत्रबाट दैनिक दुईदेखि तीन मिनी ट्रक तरकारी कैलालीको धनगढीतर्फ निर्यात हुन थालेको छ।' हाटबजारमा व्यापारीले आएर किसानसँग कुरा गरी तरकारी खरिद गरेर लैजाने गरेको उनको भनाइ छ।

स्थानीय कृषिजन्य वस्तुको बजारीकरण गर्न हाटबजारले निकै सघाउ पुर्‍याएकाले केही महिनाभित्रै नगरपालिकाको वडा नं २ र ४ मा थप हाटबजार सञ्चालन ल्याउनका लागि सम्भाव्यता अध्ययन भइरहेको उनले जानकारी दिए। 'पहिले पनि नगरपालिका क्षेत्रमा तीन हाटबजार सञ्चालनमा थिए', उनले भने, 'दुई बन्द भए हाल एक मात्रै सञ्चालनमा छ।'

नगरपालिकामा वडा नं ३ र ५ मा तरकारी बिक्रीका लागि संकलन केन्द्र सञ्चालित छन्। रासस


प्रकाशित : बिहीबार , मंसिर २८ २०८०१६:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend