बागलुङ- ढोरपाटन सिकार आरक्ष भएर बागलुङ, रुकुम पूर्व र म्याग्दी जोडिने विभिन्न सडक सहज तरिकाले निर्माणका लागि सरोकारवालाबीच छलफल थालिएको छ। सिकार आरक्ष हुँदै बागलुङ र छिमेकी जिल्ला जोड्ने सडक जोड्नका लागि स्थानीय तह र सिकार आरक्ष कार्यालयले सहजीकरण गर्ने गरी छलफल सुरु भएको हो।
‘हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६ को दफा ३० मा संरक्षित क्षेत्रभित्र कुनै भौतिक पूर्वाधार निर्माण गर्नुपूर्व मन्त्रालयको सहमति लिनुपर्ने’ उल्लेख छ। उक्त कानूनी व्यवस्थालाई समन्वय र सहमतिमा कार्यान्वयन गर्ने र बागलुङ, रुकुम पूर्व र म्याग्दी जोड्ने सडक नाका खुलाउन सरोकारवाला सहमत भएका हुन्।
तीन जिल्लाका सरोकारवाला, जनप्रतिनिधि र सिकार आरक्ष कार्यालयबीच भएको ‘संरक्षण कार्यमा सरोकारवाला बीचको समन्वय गोष्ठी’ले चार वटा सडक निर्माणका लागि स्थानीय तह र आरक्ष कार्यालयको समन्वयमा अघि बढ्ने निर्णय गरेका हुन्। निर्णयअनुसार आरक्ष क्षेत्रमा सडक निर्माणका लागि स्थानीय तहले आवश्यक निर्णय लिने छन्।
स्थानीय तहको निर्णय, कार्यालयले पेस गर्ने क्षतिको विवरण र वातावरणी अध्ययनपछि मन्त्रालयले लिने निर्णयले सडक निर्माणमा सहयोग गर्ने आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए।
निसेलढोर-तकसेरा, निसी-भलकोट निसेलढोर, गाडीखोला देउराली ढोरपाटन र तल्लो जलजलादेखि लमसङसम्मको सडक खण्ड कानूनी अड्चनका कारण जोडिन सकेका छैनन्। आरक्षको संरक्षित वन तथा वन्यजन्तु जोगिने र पूर्वाधार पनि निर्माण हुने गरी समन्वय सुरु भएको कँडेलले बताए।
‘कानूनी समस्याका कारण रोकिएका सडक जोड्न छलफल सुरु भएको हो, कतै पनि हानी नहुनेगरी पूर्वाधार निर्माण हुनुपर्छ,’ कँडेलले भने, 'तीन जिल्लाको सडक सञ्जाल जोडिदा ढोरपाटन सिकार आरक्ष र आसपासका स्थानीय सबैलाई फाइदा हुन्छ।'
गोष्ठीले मध्यवर्ती क्षेत्रका विषयमा समेत स्थानीयवासीसँग थप छलफल गर्ने निर्णय गरेको छ। ढोरपाटन सिकार आरक्ष क्षेत्र आसपासका सर्वसाधारण तयार नहुँदा यहाँ मध्यवर्ती क्षेत्र घोषणा हुन सकेको छैन।
सिकार आरक्षमा चोरी सिकारी नियन्त्रणका लागि स्थानीय तह र सरोकारवाला सबैले पहल गर्ने निर्णय भएको छ। ढोरपाटन सिकार आरक्ष क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि आरक्ष कार्यालय र नेपाली सेना,देवीबक्स गुल्मले संयुक्तरुपमा गोष्ठीको आयोजना गरेका थिए। रासस