काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘दक्षिण एसियारी खुला व्यापार क्षेत्र’ (साफ्टा) बहुपक्षीय व्यापार सम्झौताको औचित्यमाथि प्रश्न उठाएका छन्।
अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दे साफ्टालाई अहिलेसम्म नेपाललेमात्र पालना गरिरहेको र यसबाट देशको उत्पादन तथा व्यापार वृद्धिमा कुनै लाभ नरहेको भन्दै प्रश्न उठाएका हुन्।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)ले नै राम्रोसँग काम नगरेको सन्दर्भमा यो व्यापार सम्झौता प्रभावकारी नभएको उनको भनाइ छ। बंगलादेश, पाकिस्तान लगायतका देशले पालना नगर्ने तर नेपाललेमात्र पालना गर्दा स्वदेशी उत्पादन निरुत्साहित भएको महतको भनाइ छ।
आफूले साफ्टाका बारेमा बहुपक्षीय तथा द्विपक्षीय छलफलमा पनि उठाउँदै आएको बताएका छन्।
विशेषगरी कृषि वस्तुमा लाग्ने भन्सार महसुलका विषयमा साफ्टाकै कारणले गर्दा न्यून कर लाग्दै आएको र यही कारणले गर्दा आन्तरिक उत्पादन प्रभावित भएको उनको भनाइ छ।
सन् २००४ मा साफ्टा सम्झौता भएको थियो। क्षेत्रीय व्यापारलाई बढाउनका लागि भन्दै यो सम्झौता भएको थियो। तर पछिल्लो समय द्विपक्षीय सम्झौता नै प्रभावकारी भएको भन्दै साफ्टाको विरोध नेपाली व्यवसायीहरूले पनि गर्दै आएका छन्।
महालेखा परीक्षकको कार्यालयले पनि प्रत्येक वर्ष साफ्टाको लाभको विश्लेषण गर्नुपर्ने औँल्याउँदै आएको छ।