काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा सरकारको धारणा प्रस्तुत गरेका छन्। अर्थ मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै महतले पछिल्लो समय सबै मुख्य सूचक सकारात्मक भएको बताएका हुन्।
मौद्रिक नीतिको समीक्षा तथा त्यसपछिका बजारका गतिविधिलाई समेटेर मन्त्री महतले वर्तमान अवस्थाका बारेमा जानकारी गराएका हुन्। अर्थतन्त्रका बारेमा पछिल्लो लामो समयदेखि चलेका हल्ला तथा विश्लेषणलाई काउन्टर दिन मन्त्री महतले सरकारको धारणा सार्वजनिक गरेका हुन्।
महतले व्यापारदेखि ऋण प्रवाह तथा बाह्य अवस्थाका सबै सूचक सुधारोन्मुख देखिएको तथ्यांक देखाउँदै अवस्था सुधारोन्मुख रहेको बताएका छन्।
मुलुकको बाह्य क्षेत्रमा सुधार भएको, पर्यटन आवगमन बढेको, मौद्रिक नीतिको समीक्षामार्फत ब्याजदर घट्ने दिशामा रहेको, राजस्व र सरकारी खर्च बढ्दै गएकाले नेपाली अर्थतन्त्र सुधारोन्मुख हुँदै गएको महतको भनाइ छ।
राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत सहज नीति लिएकाले यसले उद्योगी व्यवसायी र सम्पूर्ण अर्थतन्त्रमा सहजीकरणको सन्देश प्रवाह गर्ने महतले बताए। आफूले जिम्मेवारी लिँदा निकै कमजोर अवस्थामा रहेको अर्थतन्त्रमा पछिल्लो समय सुधार देखिएको उनले बताए।
'मैले अर्थतन्त्र सम्हाल्दा अर्थतन्त्रका सूचकहरू सहज थिएनन्। कोभिडको समयमा राष्ट्र बैंकले अत्यन्तै खुकुलो मौद्रिक नीति अबलम्वन गरेको थियो। त्यसबेला अत्याधिक कर्जा प्रवाह भयो। त्यसलगत्तै राष्ट्र बैंकले निकै कडा मौद्रिक नीति ल्यायो। यसले अर्थतन्त्र प्रभावित बनायो। अर्थतन्त्र संकुचन हुँदा राजस्व प्रभावित भयो', महतले भने।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामार्फत सम्पूर्ण क्षेत्रलाई सहज बनाइएको महतले बताए। यस अवधिमा बहुवर्षीय ठेक्काको कामलाई व्यवस्थित गर्दै चालु खर्चलाई बाञ्छित सीमाभित्र राख्ने काम भएको उनले बताए।
अर्थमन्त्री महतले पुँजीगत खर्च ६ प्रतिशतले बढेको बताए। यस्तै भन्सारबाट आउने राजस्व १३ प्रतिशतले, आयकर १२ प्रतिशत र मूल्यअभिबृद्धि कर ७.१९ प्रतिशत बढेको उनले बताए।
राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत नीतिगत दर १ प्रतिशत बिन्दुले घटाएकाले अब ब्याजदर घट्दै जाने उनले बताए। बैंक तथा वित्तीय संस्थाहरुले पनि ब्याजदर घटाउन थालेको भन्दै महतले बैंकहरुको आधार दर ९.९४ प्रतिशत रहेको बताए।
यस्तै आवश्यकताका आधारमा मात्रै वैदेशिक साहयता लिने, जलविद्युत परियोजनालाई थप व्यवस्थित गर्ने र १२ महिना चल्ने सडक विस्तार गर्ने गरी पूर्वाधार निर्माण गर्ने उनले बताए।
सूचना प्रविधिको क्षेत्रमा युवाहरु आकर्षित रहेको र यसलाई थप व्यवस्थित गर्न सकिने उनले बताए। सूचना प्रविधिलाई नै ध्यान दिएर आगामी बैशाख १० र ११ गते लगानी सम्मेलन आयोजना गरिन लागिएको उनले बताए।
युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न यस क्षेत्रमा वैदेशिक लगानी गरिने पनि उनले बताए। सूचना प्रविधि, जलविद्युत, पूर्वाधार र पर्यटनलाई अर्थतन्त्र निर्माणको मुख्य आधार बनाउँदै आयातलाई निरुत्साहित गरिँदै लागिने उनको भनाइ छ।
पर्यटक आगामण बढेको, निक्षेप संकलन बढ्दै गएको, राजस्व संकलनमा पनि सुधार भएको तथा बाह्य क्षेत्रमा सुधार देखिएकाले स्रोतका हिसाबले नेपाली अर्थतन्त्र ऐतिहासिक रुपमा सबल रहेको मन्त्री महतको भनाइ छ।
अहिलेको स्रोतलाई प्राथमिकीकरण गरेर परिचालन गर्न सकिएको खण्डमा देशले समृद्धिको क्षेत्रमा गति लिने उनको भनाइ छ।
‘परिचालनका सन्दर्भमा सरकार र निजी क्षेत्र अघि बढ्नुपर्छ। सरकारले यसअघि नै प्राथमिकीकरण गर्ने घोषणा गरिसकेको छ, त्यस्तै निजी क्षेत्र पनि यही बाटोमा आउनुपर्छ’ उनले भने।