बाँके- बाँकेको नेपालगञ्ज-कोहलपुर रत्न राजमार्गका पाँच ठाउँमा आकाशे पुल निर्माणको ठेक्का सम्झौता भएको छ। तर सडक विभागले निर्माणादेश नदिएका कारण सम्झौताअनुरूप आकाशे पुल निर्माण तीव्र गतिमा अघि बढ्न सकेको छैन।
निर्माणका लागि सम्झौता भएको १३ महिना बिते पनि निर्माण व्यवसायीले सम्झौताअनुरूप काम गर्न पाएका छैनन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले डिजाइन स्वीकृत नगर्दा आकाशे पुल निर्माण कार्यमा ढिलाइ भएको हो।
सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नीरज शाक्यले पुलको ‘डिजाइन रिभ्यु’का लागि विभागको पुल महाशाखामा पठाएको बताए। 'फाइल पुल महाशाखामा थन्किएको छ। कहिले स्वीकृत हुन्छ यकिन छैन', उनले भने।
आकाशे पुल निर्माणका लागि २०७९ कात्तिकमा चितवनको भरतपुरस्ति डाइनामिक कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको थियो। प्रमुख शाक्यका अनुसार १५ महिनामै काम सक्ने सहमति भएको छ। तर १३ महिना बित्दा पनि सम्झौता कार्यान्वयन हुन सकेको छैन।