काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरुले अधिक ब्याज लिएको आरोप लगाउँदै मेडिकल सञ्चालक दुर्गा प्रसाईँले ऋण नै नतिर्ने भन्दै अभियानै चलाए। सोही आन्दोलनमा उनले राजा फर्काउनेसम्म भन्न भ्याए। प्रसाईँको आन्दोलनलाई राष्ट्र बैंक मात्र नभएर बैंकर्स र सरकारले नै अराजकता भएको भन्दै नियतवश ऋण नतिर्नेमाथि डन्डा चलाउने सर्वदलीय बैंठकबाटै निर्णय गरे।
यता राष्ट्र बैंकले पनि मौद्रिक नीतिको पहिलो समीक्षामार्फत नियतवश ऋण नतिर्नेमाथि कडाई गर्ने संकेत गरेको छ।
तर दुर्गा प्रसाईँ अराजक भएको आरोप लगाउने नेताहरू नै पछिल्लो समय सिष्टममा चलिरहेको बैंक तथा वित्तीय संस्थाविरुद्ध खनिएका छन्। जसले नियामकको नियमनमा बसेका संस्थाहरुलाई झस्काएको छ।
आइतबार पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरुमाथि मिटरब्याजीजस्तो बनेको आरोप लगाए। एमालेको झुलाघाट-चिवाभञ्ज्याङ यात्राअन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तरक्रियामा आफूखुशी ऋणको ब्याजदर बढाएर बैंकहरु मिटरब्याजीजस्तो बनेको उनले आरोप लगाएका हुन्। ‘बैंकले निर्मम साहुजी र मिटरब्याजी तरिका होइन विकासका लागि सहयोगी संस्थाका रुपमा काम गर्नुपर्छ,’ उनले भने।
ओलीले बैंकले ऋणीको महत्त्व नै नबुझेको भन्दै बैंकहरुले अप्ठेरोमा पारेर धकेलेर लिलामीतिर लैजाने गरेको गम्भीर आरोपसमेत लगाए। केही समयअघिसम्म प्रसाईँविरुद्ध गालीगलौजमा उत्रिएका ओली अहिले प्रसाईँपथमै देखिएका हुन्।
यता नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पनि सबैभन्दा ठूला मिटरब्याजी नै बैंकहरू भएको दाबी गरे। शनिबार चितवन-काठमाडौं प्रजातान्त्रिक संगमको १२औँ अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले भनेका छन्, ‘सबैभन्दा ठूलो मिटरब्याजी त बैंकर्सहरू नै भए भन्छु म त आजकाल, बैंकहरू भए भनेर त बोलिरहेकै छु म। हो होइन मलाई थाहा छैन।’
उनले देशको आर्थिक कुरा गर्दा सबै चिज अप्ठ्यारोमा भएको तर बैंकहरू भने फस्टाइरहेको र बोनसहरू बाँडिरहेको बताए। उनको प्रश्न थियो, ‘कसरी हुन्छ यस्तो?’
सरकारले कृषिको निम्ति ५ प्रतिशत ब्याजमा ऋण लिन पाइने भनेको भए पनि सबैलाई नदिने गरेकोमा कोइरालाले असन्तुष्टि जनाए। ‘तपाईँहरु जानुस्, चिनजान छ भने दिइहाल्छ बैंकले, नत्र दिँदैन', उनले भने।
के बैंकहरुले अधिक कमाएका छन्?
नेपालका बैंक वित्तीय संस्थाहरु राष्ट्र बैंकको नियमनभित्र व्यवसायिक ढंगबाट सञ्चालन भएका छन्। अर्थतन्त्रमा आएको शिथिलताले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंकको अधिक नियमनको चापमा परेका छन्। जसले गर्दा खर्बौँ लगानी रहेको बैंकहरुको रिर्टन अफ इक्वीटी घट्दो अवस्थामा छ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा अधिकांश बैंकको नाफा घटेको छ। ५० अर्ब लगानी भएका बैंकको नाफा करोडमा आउन थालेको छ। लगानीको तुलनामा प्रतिफल कम भएपछि पछिल्लो समय बैंकका संस्थागत लगानीकर्ताहरु नै धमाधम सेयर बिक्री बाहिरिन थालेका छन्।
बैंकहरुको खराब कर्जा बढेपछि नाफामा घटेको छ। खराब कर्जा बढेकाले बैंकहरुले लोन लस प्रोभिजनिङका लागि इम्प्रियरमेन्ट चार्जमा बढी खर्च बुक गर्दा बैंकहरुको खुद नाफा घटेको छ। बैंकहरुको नाफा घटेसँगै सरकारलाई प्राप्त हुने आयकर पनि घटेको छ। गत वर्षको तुलना पहिलो त्रैमासको तुलनामा बैंकहरुको नाफा करिब २८ प्रतिशतले घटेको छ।
पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकमध्ये ८ वाणिज्य बैंकले मात्रै सामान्यरुपमा नाफा बढाएका छन्। १२ वाणिज्य बैंक नाफामा गिरावट देखिएको छ। सोही कारण पनि नेताहरुले भने जस्तो बैंकहरु नाफामा छैनन्।
लघु, घरेलु, साना तथा मझौला उद्योगी व्यवसायीले कर्जा भुक्तानी गर्न नसक्दा रिटेल कारोबार गर्ने वाणिज्य बैंक र बैंकहरुको रिटेल कारोबारमा परेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रिटेल क्षेत्रमा कर्जा प्रवाह गर्ने अधिकांश बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढेकाले खुद नाफा घटेको छ।
राजनैतिक दलका नेता र केही ब्रोकरहरुले विगतमा राजस्वमा हालीमुहाली गरे। अहिले राजस्वमा खेल्न नपाउने अवस्था आउन थालेपछि बैंकहरुमा आँखा लगाउन थालेका छन्। बैंकहरु अहिले सोही कारण पनि ऋण लगानी गर्न डराइरहेको अवस्था रहेको छ।
गत साता अर्थसमितिको बैंठकमा दुर्गा प्रसाईँले अराजक अभियान चलाउँदा साना ऋणीहलाई ऋण दिन बैंकहरु नै डराइरहेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका थिए। यसरी पार्टीका जिम्मेवार नेताहरु नै बैंकहरुविरुद्ध लाग्न थाले भने अवस्था झन् भयावह हुने अनुमान बैंकर्सहरुको छ।