पोखरा- अर्थमन्त्री डा. प्रकाशशरण महतले अबको पर्यटन फरक तरिकाले अघि बढ्नुपर्ने बताएका छन्। पोखरामा ८औँ पर्वतीय महोत्सवको उद्घाटन गर्दै मन्त्री महतले प्राकृतिक र अर्गानिक उत्पादन मात्र पस्कन त्यहाँका व्यवसायीलाई अनुरोध गरे।
‘एउटा होटलबाट सुरु गरौँ न यो काम। त्यसपछि यहाँका कृषि उत्पादनले बजार पाउँछ। बजार पाएपछि यहाँका किसानले प्राकृतिक र अर्गानिक खेती गर्न थाल्छन्। खानपिन, रहनसन, भेषभूषा अर्गानिक र पुरानो शैलीको निर्माणले मात्र अब पर्यटकलाई आकर्षित गर्न सकिन्छ’, शुक्रबार भएको कार्यक्रममा मन्त्री महतले भने।
गण्डकी प्रदेश नै सुन्दर ठाउँ भएको भन्दै अर्थमन्त्री महतले यहाँको विशिष्टतालाई पहिचान गरी हिमाल, पहाड, सभ्यता, संस्कृति र जीवनशैलीलाई हामीले संरक्षण गर्नुपर्ने बताए।
‘पर्यटकको आगमनले हाम्रो जनजीवन पनि माथि उठ्छ। स्थानीय उत्पादनलाई सरकारले अनुदान दिन्छ। स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न आयातमा हामीले भ्याट लगाएका हौँ। स्याउको उत्पादनलाई प्रवर्द्धन गर्न आयातितलाई भ्याट लगाइएको हो’ मन्त्री डा. महतले भने, ‘कृषि उद्यमीले अब ठूलो स्केलमा उत्पादन गर्नुपर्छ, जग्गा छ, मान्छे छैन भने उनीहरुको जग्गा पनि भाडामा लिएर उत्पादन बढाउनुपर्छ। अब हामी प्राकृतिक खेतीमा फर्किनुपर्छ। पहिला हामीले जे गरिरहेका थियौँ, त्यही नै ठीक हो। अहिले संसार त्यतैतिर फर्किरहेको छ। अब हामीले जीवनशैलीलाई बिस्तारै परिवर्तन गर्न जरुरी छ।’
मन्त्री महतले जलवायु परिवर्तनमा नेपालको भूमिका नभएता पनि अरु देशका कारण ठूलो क्षति बेहोर्नु परेको बताए। यसको क्षतिको क्षतिपूर्ति चाहिने भन्दै अन्तर्राष्ट्रिय समुदायमाझ कुरा राखेको उनले बताए।
‘कार्बन उत्सर्जनले हाम्रो हिमाल, पहाड र जनजीवन प्रभावित भएको छ। हामीले बेहोरेको क्षतिको तपाईँहरु जिम्मेवार हुनुहुन्छ। यो क्षतिको क्षतिपूर्ति हामीलाई चाहिन्छ। यसले हाम्रो जनजीवन प्रभावित पारेकै छ, साथसाथै विकासको लागत पनि बढाएको छ। यो लागत पनि तपाईँहरुले बेहोर्नुपर्छ।'