शनिबार, साउन १२ गते २०८१    
images
images
images

मुग्लिन-पोखरा सडक विस्तार : पूर्वी खण्डमा ९ किलोमिटर कालोपत्र

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २२ २०८०
images
images
मुग्लिन-पोखरा सडक विस्तार : पूर्वी खण्डमा ९ किलोमिटर कालोपत्र

यसअघि आँबुखैरेनी-१ सत्रसयबाट सुरु गरेर मार्किचोकसम्म गरी तीन दशमलव पाँच किलोमिटर दूरीमा कालोपत्र सम्पन्न भइसकेको छ।

images

दमौली- पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन-पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ। तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा सो प्रगति हासिल भएको हो।

images
images

सडक फराकिलो बनाइएका ठाउँमा कालोपत्र गर्ने काम अगाडि बढेको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। ४१ दशमलव पाँच किलोमिटर खण्डमध्ये हालसम्म नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र सकिएको उनले जानकारी दिए। 

images

त्यस्तै थप पाँच किलोमिटर कालोपत्र गर्ने काम बुधबारदेखि सुरु भएको छ। आँबुखैरेनी गाउँपालिका-३ गाउँपालिका चोकबाट मार्कीचोकसम्म जोड्ने गरी अल्स्फाट प्रविधिको कालोपत्र सुरु गरिएको उनले बताए। उनले भने, 'गाउँपालिका चोकबाट सुरु गरेर गत असार महिनामा कालोपत्र गरिएको स्थान मार्कीचोकसम्म जोड्ने गरी बुधबारदेखि कालोपत्रको काम अगाडि बढेको छ।' 

यसअघि आँबुखैरेनी-१ सत्रसयबाट सुरु गरेर मार्किचोकसम्म गरी तीन दशमलव पाँच किलोमिटर दूरीमा कालोपत्र सम्पन्न भइसकेको छ। अहिले १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्यका साथ कालोपत्रको काम काम अघि बढेको आयोजनाले जनाएको छ।

images

उनका अनुसार बन्दीपुर गाउँपालिका-१ नाहालाबाट छिर्कनेसम्म पाँच दशमलव पाँच किलोमिटर र आँबुखैरेनी-१ बरादीमा तीन दशमलव पाँच किलोमिटर खण्ड कालोपत्र सकिएको छ। उनले भने, 'दुई ठाउँमा एकतर्फीरूपमा नौ किलोमिटर खण्ड कालोपत्र सकिएको छ। केही समयपश्चात् अर्कोतर्फ पनि कालोपत्रको काम हुनेछ।'

पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन-पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा धमाधम काम भइरहेको छ। आँबुखैरेनीबाट जामुनेसम्मको खण्डमा काम तीव्रगतिमा अगाडि बढेको उनको भनाइ छ। पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणले पनि गति लिएको छ। 

राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ। यो खण्डमा छ सय ३१ घरटहरा भत्काइने छ। त्यसका लागि २२ करोड ४५ लाख मुआब्जा वितरण गरिनेछ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ बैशाख २ गतेदेखि काम सुरु भएको थियो। एकचालीस दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ। यो खण्डको म्याद विसं २०८१ बैशाखसम्म रहेको छ।

पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ। यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ। पश्चिम खण्डको काम भने १२ प्रतिशतमात्रै सकिएको बताइएको छ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ। 

चार लेनको बन्दा सडकसीमा दुईतर्फी २५-२५ मिटर हुनेछ। बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ। तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने जनाइएको छ। रासस


प्रकाशित : शुक्रबार, मंसिर २२ २०८००९:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend