शनिबार, साउन १२ गते २०८१    
images
images
images

पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु, ९० लाख आम्दानीको अपेक्षा

images
बिहीबार , मंसिर २१ २०८०
images
images
पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु, ९० लाख आम्दानीको अपेक्षा

एक सयको टिकटबाट १० र विद्यार्थीको टिकटबाट पाँच रूपैयाँ जाजरकोट भूकम्प प्रभावितका लागि छुट्याइने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले बताए।

images

गण्डकी- पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित ३२औँ राष्ट्रिय औद्योगिक व्यापार मेला आजदेखि सुरु भएको छ। पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सञ्चालित मेलाको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे।

images
images

सो क्रममा उनले पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गरिने बताए। 'पर्यटकीय राजधानी घोषणाका लागि अध्ययन कार्यदल बनेको छ, त्यसको प्रतिवेदन आइसकेपछि आवश्यक पूर्वाधार तयारीमा हामी लाग्छौँ', मुख्यमन्त्री पाण्डेले भने, 'पोखरा देशकै पर्यटनको केन्द्रका रूपमा स्थापित हुनेछ, सबै पक्षको साथ सहयोग रह्यो भनेमात्र हामी यसमा सफल हुन्छौँ।'

images

उनले फेवातालको मापदण्ड मिचेर बनाइएका अवैध संरचना हटाउन भनी सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। 'यो स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारसँग जोडिएको विषय हो, अदालतको फैसला कार्यान्वयन गर्नुको विकल्प छैन', मुख्यमन्त्री पाण्डेले भने, 'सम्बन्धित पक्षहरूसँग आवश्यक छलफल गरेर समाधान निकाल्नुपर्ने आवश्यकता छ।'

उनले उद्योगी-व्यवसायीको हितका लागि नीति निर्माणदेखि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गरे। मुख्यमन्त्री पाण्डेले बेरोजगारीको समस्याले युवा पलायनको अवस्था भोग्नुपरेको बताए। बेला-बेलामा आयोजना हुने मेला महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने उनले बताए।

images

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले मेला महोत्सवले आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गरे। मन्दीको चपेटामा परेका उद्योग, व्यवसायीलाई महोत्सवले थोरै भए पनि राहत पुग्ने उनले विश्वास व्यक्त गरे।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले औद्योगिक, सूचना, प्रविधि, कृषिजन्य, हस्तकलालगायत उत्पादनको प्रवर्द्धन तथा बजारीकरणका लागि मेला आयोजना गरिएको बताए। उनले शिथिल अवस्थामा रहेको अहिलेको अर्थतन्त्रलाई गति दिन मेलाले सघाउने विश्वास व्यक्त गरे।

मेलामा ९० लाख आम्दानी हुने र ८० लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष प्रजापतिले बताए। मेलाबाट बचत भएको पैसा उद्यमशीलता प्रवर्द्धन र व्यवसायीहरूको क्षमता विकासमा खर्च गरिने जनाइएको छ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रवर्द्धक रहेको उक्त मेलामा दुई सय ५० स्टल व्यावसायिक स्टल रहेको आयोजकले जनाएको छ। मेलामा दैनिकरूपमा कलाकारहरूको प्रस्तुतिसहित सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने भएको छ।

संघका अध्यक्ष प्रजापतिका अनुसार मेला अवलोकनमा सर्वसाधारणका लागि एक सय र विद्यार्थीका लागि ६० रूपैयाँ प्रवेश शुल्क तोकिएको छ। ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उनले बताए।

एक सयको टिकटबाट १० र विद्यार्थीको टिकटबाट पाँच रूपैयाँ जाजरकोट भूकम्प प्रभावितका लागि छुट्याइने अध्यक्ष प्रजापतिले बताए। ‘लगानीको संवर्द्धनः उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने आदर्श वाक्यसहित सुरु भएको ३२औँ संस्करणको मेला आगामी पुस १ गतेसम्म सञ्चालन हुने जनाइएको छ। रासस


प्रकाशित : बिहीबार , मंसिर २१ २०८०१८:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend