काठमाडौं- दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको सेयर बिक्रीका सम्बन्धमा अध्ययन गर्न सरकारले समिति गठन गरेको छ। पूर्वमहालेखापरीक्षक टंकमणि शर्माकोको संयोजकत्वमा सरकारले समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
शर्माको संयोजकत्वमा बनेको समितिमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सञ्चार मन्त्रालयका सहसचिव बाबुराम भण्डारी, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य र आइक्यानबाट सुजनकुमार काफ्ले सदस्य रहेका छन्।
एनसेलको सेयर खरिदबिक्री अस्वाभाविक देखिएको भन्दै सरकारले त्यसका बारेमा अध्ययन गरी प्रतिवेदन तयार पार्न उक्त समिति गठन गरेको हो। समितिको निष्कर्षअनुसार सरकारले थप पक्रिया अघि बढाउने छ।
बुधबारमात्र सार्वजनिक लेखा समितिले सरकारलाई यस विषयमा अध्ययन गर्न निर्देशन दिएको थियो। त्यसअघि नै सत्तारुढ गठबन्धनको बैठकले छानबिन गर्ने निर्णय गरेको थियो।
एनसेलको सेयर खरिदबिक्रीका बारेमा राजनीतिक तहमा तीव्र सक्रियता देखिएको छ।