काठमाडौ- प्रतिनिधिसभाका सदस्य बिराजभक्त श्रेष्ठले दूरसञ्चार क्षेत्रमा देखिएका गतिविधिले देशमा भइरहेको भ्रष्टाचारलाई उजागर गरिदिएको बताएका छन्।
अर्थ समितिको आजको बैठकमा बोल्दै विगतदेखि सुषुप्त रहेको भ्रष्टाचार छताछुल्ल भएको उनले बताएका हुन्। विगतदेखिकै कारोबार, सरकारी अधिकारीको साँठगाँठ तथा नेताहरूको मिलेमतोलाई अहिले आएर उजागर गरिदिएको उनको भनाइ छ।
‘अजियाटा समूहको प्रबन्धकले जुन कुरा नेपालका बारेमा भने त्यो हाम्रा लागि चिन्ताको विषय हो। देशमा लगानीको वातावरण छैन भनेर जसरी भनेका छन् त्यसले देशकै इज्जतमा धब्बा लागेको छ। यो किन भयो कसरी भयो?’ उनले भने।
आजकै बैठकमा बोल्दै उनले दूरसञ्चार प्राधिकरणले कम्पनीहरूलाई कसैलाई अर्बौं शुल्क छुट दिने प्रवृत्ति देखिएको भन्दै आलोचना गरेका थिए।