सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

भूमिहीन किसानको गुनासो : ‘कमाएर खाने जग्गाको अधिकार नहुँदा मन दुख्छ’

images
सोमबार, मंसिर १८ २०८०
images
images
भूमिहीन किसानको गुनासो : ‘कमाएर खाने जग्गाको अधिकार नहुँदा मन दुख्छ’
फाइल तस्बिर

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले स्थानीय तहसँग समन्वय गरेर भूमिहीनका लागि जग्गा पुर्जा वितरण गर्ने काम भइरहेको बताए।

images
images

चितवन- बेलका नगरपालिका-१ आम्बासीकी बालकुमारी प्रधानले कमाउँदै आएको जग्गाको जग्गा धनी पुर्जा पाउने आश गरेको धेरै समय बित्यो। राष्ट्रिय भूमिअधिकार मञ्च नेपालको छैटौँ राष्ट्रिय सम्मेलनमा सहभागी हुन उदयपुरबाट चितवन आएकी उनी पुर्जा पाउने आशमा मञ्चका विभिन्न आन्दोलनमा सहभागी हुँदै आएकी छिन्।

images
images
images

जन्मघरदेखि कर्मघरसम्म भूमिहीन भएका कारण आन्दोलनमा उत्रिनु परेको प्रधानले बताइन्। राज्यले आफूहरुलाई जग्गा धनी पुर्जा दिन्छ भन्ने आश मर्न थालेको उनको भनाइ थियो। उनले भनिन्, 'पाउने आश भए त ढुक्कसँग घरमा नै बसिन्थ्यो। राजनीतिक खिचातानीका कारण सम्भावना निकै कम भएकाले विभिन्न भूमि अधिकारको कार्यक्रममा हिँड्नु परेको छ। पुर्जा पाउने पूरै आश भने मारेको छैन।'

images

आफूसँगै गाउँमा पाँच सय घर सुकुम्बासी रहेको प्रधानले जानकारी दिइन्। आफूले चार कठ्ठा जग्गा कमाएर खाँदै आएको भन्दै त्यसको अधिकार आफूसँग नहुँदा मन दुखेर खिन्न लाग्ने गरेको उनको भनाइ थियो। उनले थपिन्, 'आफू त जन्मेदेखि मर्ने बेलासम्म भूमिहीन भइयो। आउने पुस्तामा यस्तो नहोस् भन्ने लाग्छ।'

images
images
images

यस्तै पीडा छ बर्दियाको बडैयाताल गाउँपालिका-६ मैनापोखरका केशबहादुर विकको। तीन पुस्तादेखि मैनापोखर बस्दै आएका उनी अहिले पनि भूमिहीन छन्। बाजेले कमाएको जमिन भाग लगाउँदै गर्दा आफ्नो भागमा १५ धुर घडेरी मात्रै परेको बताउने विकले अहिलेसम्म पनि आफ्नो नाममा पुर्जा नहुँदा निकै पीडा हुने गरेको दुखेसो पोखे।

विकले भने, 'आयोगले नापजाँच गर्छ तर पछि वन र खोलाको क्षेत्र भनेर हामीलाई दिँदैन।' आफ्नो १३ जनाको परिवार यही जग्गाबाट उब्जेको अन्नबाट जीविकोपार्जन गरिरहेको बताउँदै उहाँले बडैयाताल-६ मा १४ घरधुरी आफूजस्तै भूमिहीन परिवार रहेको जानकारी दिए।

वर्षौँदेखि कमाएको जमिनको पुर्जा पाउनुपर्छ भन्ने माग उनको रहेको छ। भूमि अधिकार सम्बन्धी कुनै कार्यक्रम हुँदा पुर्जा पाउने झिनो आशमा उनी पुग्दै आएका छन्।

आफू बस्दै आएको जमिन बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रका परेपछि विसं २०४२ मा बर्दियाकै गुलरिया नगरपालिका-१ कमलपुरमा पुगेका मनबहादुर सुनार आफूले कमाउँदै आएको जग्गा अर्काले मेरो हो भनेर दाबी गरेपछि थप पीडामा छन्।

उनीसँगै आएका अन्यले जग्गा धनी प्रमाण पुर्जाको प्रक्रियामा रहदा आफू भने अहिलेसम्म पनि अलमल परेको सुनारले गुनासो गरे। उनले भने, 'सबैले आ-आफ्नो जग्गा भनेर अधिकार जमाएका छन्। मैले कमाएको जग्गा अर्कैको नाममा छ भनेर समयसमयमा दुःख दिन आउँछन्। भूमिहीन त छदैछु त्यसमाथि पनि थप पीडा भइरहेको छ।'

त्यसैगरी धनुसाका कण्ठा दमाइँ (इच्छाराम परियार) विसं २०४२ देखि मिथिला नगरपालिका-१० लालगढमा बस्दै आएका छन्। आफ्नो श्रम बेचेर घरपरिवार चलाउँदै आएका उनी दुई कठ्ठा जग्गामा बसोबास गर्दै आएका छन्। परिवार चलाउनसमेत मेहनत गर्नुपर्ने भन्दै उनले पुर्जा पाउने आशमा आफ्नो जिन्दगी सकिएको बताए।

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले स्थानीय तहसँग समन्वय गरेर भूमिहीनका लागि जग्गा पुर्जा वितरण गर्ने काम भइरहेको बताए। विभिन्न ऐन र कानूनका कारण भूमिहीन किसानलाई पुर्जा वितरण गर्न समस्या भएको भन्दै यसको दीर्घकालीन समाधान हुने गरी आयोगले काम गर्दै आएको उनले बताए।

निरौलाका अनुसार १३ लाख ५० हजारले फर्म भरेकामा १० लाखको मात्र दर्ता भएको छ। दुई लाख २१ हजारको कित्ताकाट भइसकेको भन्दै हालसम्म पाँच हजारले मात्र जग्गाधनी पुर्जा पाएका उनले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, मंसिर १८ २०८०१६:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend