काठमाडौं- नेपाल वायु सेवा निगमका 'कार्यकारी अध्यक्ष युवराज अधिकारी बहिष्कार'को आन्दोलन हुने भएको छ। निगम कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवरले जारी गरेको विज्ञप्तिमा अध्यक्ष अधिकारीको बहिर्गमनको विषय उठान गरिएको छ।
नेपाल वायु सेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ सेवालाई जोगाउनदेखि बढ्दो आर्थिक विकृत रोक्नका लागि कार्यकारी अध्यक्ष अधिकारीको बहिर्गमनको विषय सुरु भएको कुँवरले बताए।
अधिकारीले जहाज मर्मतमा कमिसनको बार्गेनिङ गर्दै ढिलासुस्ती गर्दा उडान अस्तव्यस्त भएको समेत विज्ञप्तिमा उल्लेख छ।
एमआरओ हुँदाहुँदै एओजी गराएर तथा अनावश्यक प्रचारबाजी गरी निगमको करोडौँ रकम अपचलन गरेका कारण पनि बहिर्गमनको विषय अगाडि सारेको उनले बताए।
कर्मचारी संघले भदौ १० गते जारी गरेको विज्ञप्तिलाई बेवास्ता गर्दै मनोमानी ढंगले मासिक तथा ज्यालादारी र करारका कर्मचारी भर्ती गरी स्थायी तथा योग्य कर्मचारीको मनोबल गिराउने काम गरेको विषय समेत बहिर्गमनको एजेन्डामा राखिएको छ।
संघले वर्षौँ अगाडि नै फेज आउट भएको बोइङ कलसाइन नाइन एन एसीबी जहाजको पार्किङ तथा बीमाबापतको रकमबाट निमगलाई आर्थिक भार बढाएको समेत जनाएको छ।
साथै उडान बन्द भएका जहाजको करोडौँ रुपैयाँका जहाजका पार्टपुर्जा अलपत्र पार्दै निगमलाई थप आर्थिक भार पारेको विषय समेत बहिर्गमनको एजेन्डामा राखिएको छ। यसैगरी चिनियाँ जहाजका लागि नियुक्ती भएका पाइलट तथा कर्मचारीको वृद्धि विकासमा वेवास्ता गरेको विषय समेत रहेको छ।
यसैगरी जहाजको इन्जिन तथा मर्मत तथा इन्जिन भाडामा लिने काम एउटै कम्पनीबाट गराउँने निर्णय गराउँदा समयमा नै इन्जिन मर्मत हुँदा इन्जिन भाडाँमा करोडौँ रकम खर्च भएको विषय पनि बहिर्गमन एजेन्डामा रहेको छ।
जहाजको मर्मतमा कमिसन खोज्दा एयरबस ३२० जहाज ग्राउन्डेडको श्रंखला बढेको छ। जसबाट निगमको आर्थिक भार बढेको उल्लेख छ।