काठमाडौं- अजियाटाले कर छल्नकै लागि एक डलरमा कम्पनी खोलेर एनसेलको खर्बौंको सेयर कौडीको भाउमा बिक्री गरेको छ।
यसअघि अजियाटाले १ खर्ब ४४ अर्ब रुपैयाँमा खरिद गरेको सेयर करिब साढे ६ अर्बमा बिक्री गरेको छ।
मलेसियाको अजियाटा समूहले आफ्नो नाममा रहेको ८० प्रतिशत सेयर बिक्रीको सम्झौता गरेको जानकारी दिएको छ। यसअघि नै एनसेलको २० प्रतिशत सेयरको हिस्सेदार सतिशलाल आचार्यले बेलायतमा एक पाउण्डमा स्पेक्ट्रलाइट कम्पनी खोलेर बिक्री गरेको हो।
एनसेल सेयर खरिद बिक्रीसम्बन्धी सम्झौतानुसार साढे ६ अर्बमध्ये करिब ६० करोड रुपैयाँ ६ महिनाभित्र दिनुपर्ने उल्लेख छ।
बाँकी रहेको रकम ४ वर्षभित्र भुक्तानी गर्नसक्ने सुविधा अजियाटाले सतिशलालको स्पेक्ट्रलाइटलाई दिएको छ। पहिलो किस्तापश्चात बाँकी रहेको रकम हिस्सेदारी हस्तान्तरण भएको ४८ महिनाभित्र भुक्तानी गर्नसक्ने गरी सम्झौता गरिएको छ।
गएको बुधबार व्यावसायिक वातावरण चुनौतीपूर्ण भएको भन्दै अजियाटा समूहले एनसेलबाट बाहिरिने घोषणा गरेको थियो।
अजियाटा समूहले नेपालको एनसेलका कारणले गर्दा नोक्सानी थपिँदै गएको भन्दै एनसेलमा रहेको सेयर बिक्री गर्ने निर्णय बोर्डमार्फत गरेको छ।
एनसेलमा बाँकी २० प्रतिशत पनि सतिशलालकै सुनिभेरा क्यापिटल भेन्चरको नाममा छ।