काठमाडौं- नेपाल इकोनोमिक्स ओलम्पियाड, २०२४ का लागि आवेदन खुला गरिएको छ।
कक्षा ११ र १२ मा अध्ययनरत तथा कक्षा १२ को परीक्षा दिएर बसेका व्यवस्थापन, अर्थशास्त्र र वित्तीय साक्षरतामा रुचि राख्ने विद्यार्थीहरुका लागि ओलम्पियाडको आवेदन खुला गरिएको हो।
इच्छुक विद्यार्थीहरुले ७ डिसेम्बर २०२३ (२१ मंसिर २०८०) भित्र आवेदन दिइसक्नु पर्नेछ। आवेदन दिनको लागि नेपाल इकोनोमिक्स ओलम्पियाडको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा गएर अनलाइन आवेदन दिन सकिनेछ।
१३ जनवरी २०२४ (२८ पुस २०८०) मा देशभरका विभिन्न १७ वटा परीक्षा केन्द्रहरुबाट क्षेत्रीय प्रतिस्पर्धा गराइ राष्ट्रिय ओलम्पियाडमा भाग लिने विद्यार्थीहरुको छनोट गरिने नेपाल इकोनोमिक्स ओलम्पियाड (नियो)का पार्टनरसिप डाइरेक्टर दीपक भण्डारीले जानकारी दिए।
नेपाल इकोनोमिक्स ओलम्पियाड सन् २०१९ देखि हरेक वर्ष आयोजना हुँदै आइरहेको प्रतिस्पर्धा हो। जसले व्यवस्थापन, अर्थशास्त्र र वित्तीय साक्षरतामा रुचि राख्ने विद्यार्थीहरुका लागि प्रतिस्पर्धाका माध्यमबाट क्षेत्रीय र राष्ट्रिय हुँदै अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आइरहेको छ।
उक्त संस्थाको बोर्ड अफ ट्रस्टीहरूमा अर्थशास्त्री डा. विश्व पौडेल, डा. गुणाकर भट्ट, बैंकर भुवन दहाल, प्रो. डा. कुशुम शाक्य र अर्थशास्त्री उत्तम शर्मालगायत छन्।
जनवरी १३ मा हुने क्षेत्रीय प्रतिस्पर्धाबाट छनौट भएका उत्कृष्ट ७५ जना विद्यार्थीहरु २०२४ को मार्चमा हुने राष्ट्रिय प्रतिस्पर्धाका लागि सोझै छनोट हुनेछन् भने राष्ट्रिय प्रतिस्पर्धाबाट छनौट हुने उत्कृष्ट पाँच जना विद्यार्थीहरुले २०२४ को जुलाइमा हुने अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछन्।
२०१९ देखि भाग लिन थालेको नेपालले अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा हालसम्मका सबै प्रतिस्पर्धाहरुमा पदक जित्न सफल रहेको छ। गत वर्ष ग्रीसको भोलसमा सम्पन्न छैटौँ अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपालको तर्फबाट भिक्टर हमाल र भार्गभ चटौतले ब्रोन्ज मेडल जितेका थिए। यो वर्ष नेपालको तर्फबाट स्वर्णपदक नै जित्ने गरी कडा तयारी गरिने पनि भण्डारीले बताए।
देशभरिका विद्यार्थीहरूलाई क्षेत्रीय र राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी गराइ नेपाली विद्यार्थी र शिक्षाको गुणस्तर अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्नका लागि नेपाल इकोनोमिक्स ओलम्पियाड उत्कृष्ट मञ्च रहेको भण्डारीको भनाइ छ।
यस्तो खालको अवसरहरुमार्फत अर्थशास्त्र, व्यवस्थापन, वित्त र वित्तीय साक्षरताका क्षेत्रहरुमा योगदान गर्दै उत्कृष्ट भावी जनशक्ति उत्पादनमा टेवा पुर्याउनु नै नियोको लक्ष्य रहेको उनले बताए।