गण्डकी- झन्डै साढे तीन दशक अघिसम्म हिमाली क्षेत्रमा लगाइने आलुखेती अहिले पहाडी क्षेत्रमा व्यावसायिक रुप लिँदै गएको छ। २०४५/४६ सालतिर मुस्ताङको लेतेबाट ल्याइएको वर्षे सेतो आलु र कास्कीको घान्द्रुक र छोम्रोङबाट ल्याइएको रातो डल्ले आलुको बिउबाट कास्कीको हेम्जामा खेती सुरु गरिएकामा पछिल्ला वर्षमा जिल्लाका विभिन्न क्षेत्रमा विस्तार भएको हो।
सुरुमा हेम्जामा व्यवसायिक आलुखेती थालिएकामा पछिल्लो दशक महेन्द्रगुफा, अर्मला, कुडहर हुँदै लेखनाथ क्षेत्रका गगनगौँडा, मालमूल, बेलबुटे, राजाचौतारा, बागमारालगायत स्थानमा विस्तार भएको हो। पोखरा महानगरपालिका-३२ को तल्लो गगनगौँडा, बेलबुटे, मालमूलका साथै यी स्थानसँग सीमा जोडिएको तनहुँको शुक्लागण्डकी नगरपालिका-१ सेराबेँसीलगायत स्थानमा आलु खेतीतर्फ आकर्षण बढ्दै गएको किसान बताउँछन्।
स्थानीयवासीका अनुसार २०४५/४६ सालदेखि हेम्जामा केही मात्रामा आलुखेती विस्तार भई २०५४/५५ सालयता क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेले बाह्य अनुसन्धान स्थल स्थापना गरेपछि यो ठाउँ आलुखेतीका लागि प्रसिद्ध बन्दै गएको हो। हेम्जामा आलुखेतीको बढ्दो विस्तारसँगै यसको विशिष्टिकृत पहिचानमा सहयोग पुर्याउने लक्ष्यका साथ एक दशकयता उक्त स्थानमा बर्सेनी आलु महोत्सवसमेत गर्दै आइएको छ। ‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ गर्दै आइएको महोत्सव यहाँको विशिष्ट पहिचान बनेको छ।
विसं २०६६ फागुनमा पहिलो पटक एक दिवसीय ‘प्रथम आलु महोत्सव’ गरिएयता लगातार महोत्सव गरिँदै आइएको हेम्जा हाइटेकका सञ्चालक रामचन्द्र त्रिपाठीले जानकारी दिए। आलु खेतीको विस्तार हुँदै जाँदा नार्कअन्तर्गत क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेले यस गाउँलाई औपचारिकरुपमा नै आलु गाउँका रुपमा परिचित गराएको थियो। उनका अनुसार पछिल्लो समयमा यहाँका अधिकांश किसान आलुखेतीतर्फ आकर्षित बनेका छन्।
आलुमा पहिचान नै बनाएको हेम्जामा खानेसँगै बिउ आलुको लागि पनि किसान आकर्षित बन्दै गएका त्रिपाठीले बताए। हेम्जा हाइटेकमार्फत बिउ उत्पादन थालिएको बताउँदै उनले अघिल्लो वर्ष पाँच हजार किलो बिउ उत्पादन गरिएको जानकारी दिए। यस वर्ष १० हजार किलो बिउ उत्पादन गर्ने गरी करिब १६ रोेपनी क्षेत्रफलमा आलु लगाइएको उनको भनाइ थियो।
उत्पादित बिउ महानगरपालिकाले जिम्मा लिएर किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको छ। पछिल्ला समयमा लेखनाथ क्षेत्रमा आलु खेतीतर्फ किसान आकर्षित बन्दै गएको ढलेपिपल ताजा तरकारी किसान समूह पोखरा-२६ का अध्यक्ष धर्मदत्त पौडेलले बताए। समूहमार्फत पाँच वर्षयता आलुको बिउ उत्पादन गरिरहेको भन्दै उनले अघिल्लो वर्ष १३ हजार किलो बिउ उत्पादन गरिएको जानकारी दिए।
'समूहमा ३२ किसान आबद्ध भए पनि आलुको बिउ उत्पादनमा छ जना लागेका छौँ', पौडेलले भने, 'हाल एमएस ४२ जातको आलु लगाइएको छ। यसवर्ष थप ३० रोपनी क्षेत्रफलमा प्रशोधनयोग्य जनकदेव जातको आलुको खेती पनि थालेका छौंँ।'
समूहगत रुपमा महेन्द्र गुफा किसान समूहले पनि आलुको बिउ उत्पादन गरिरहेको छ। समूहले पाँच रोपनी क्षेत्रफलमा आलुखेती गरेकामा गतवर्ष दुई हजार एक सय किलो बिउ उत्पादन गरेको समूहका पूर्व अध्यक्ष निर्मला बस्नेतले बताइन्। उनका अनुसार गतवर्ष बिउ बिक्रीबाट मात्रै समूहले एक लाख २७ हजार रूपैयाँ आम्दानी गरेको थियो।
व्यावसायिक आलुखेतीमा सर्वसाधारणको आकर्षण बढेसँगै पोखरा महानगरले यसको व्यावसायिक खेतीमा जोड दिँदै आएको महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए। उनका अनुसार जिल्लामा एमएस ४२, कुफ्रज्योति, खुमललक्ष्मी, जनकदेव, खुमल सेतो र डेजिरे जातका आलु लगाउने गरिएको छ। पछिल्ला वर्षमा एमएस ४२ जातको आलु अत्याधिक लगाउन थालिएको उनको भनाइ थियो।
कास्कीका हेम्जालगायत स्थानमा आलुको उत्पादकत्वप्रति हेक्टर १८ देखि २० टनसम्म हुने गरेको कडरियाले जानकारी दिए। उनले हेम्जामा लगभग चार सयदेखि चार सय २५ हेक्टर क्षेत्रफलमा खेती गरिएको भन्दै आलु उत्पादनबाट मात्रै वार्षिक २० देखि २१ करोड रूपैयाँसम्मको कारोबार हुने गरेको जानकारी दिए।
कृषि महाशाखा प्रमुख कडरियाका अनुसार नेपालमा वार्षिक एक लाख ९५ हजार दुई सय ६८ हेक्टर क्षेत्रफलमा लगाइएको आलुको उत्पादन २७ लाख ३० हजार दुई सय ९४ मेट्रिक टन हुने गरेको छ। उनका अनुसार प्रतिहेक्टर उत्पादकत्व १२.४ मेट्रिक टन रहेको छ।
पोखरा महानगरले आलु खेती विस्तारमा जोड दिँदै बिउमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको कडरियाले जानकारी दिए। आलुको बिउ प्रतिकिलो ७० रूपैयाँ कायम गरी महानगरपालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको उनले बताए। रासस