म्याग्दी- भिरोलो जमिनमा पूर्वतर्फ मोहोडा भएको गाउँ हो, निस्कोट। दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि बनेको पक्की पुल तरेपछि सुरु हुने निस्कोट गाउँ म्याग्दीको मालिका गाउँपालिका वडा नं १ मा पर्छ।
पुल तरेपछि ठाडै उकालो मोटरबाटोबाट सवारी साधनमार्फत डेढ घण्टामा निस्कोट गाउँको शिरानमा रहेको आकर्षक बराहा तालमा पुगिन्छ। यो तालमा धौलागिरि र निलगिरि हिमालको छायाँ स्पष्टै देखिन्छ।
प्रशस्तै मिथक र किंवदन्ती रहेको यस ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण हुनुका साथै जैविक विविधता र सिमसार महत्त्वले समेत महत्त्वपूर्ण छ। समुद्री सतहदेखि दुई हजार तीन सय मिटरको उचाइमा अवस्थित बराह तालको सिमसार क्षेत्र अतिक्रमणको चपेटामा परेको छ। तालदेखि करिब ७० मिटरको दुरीमा पूर्वतर्फ बस्ती विस्तार हुँदा तालको मौलिकस्वरुप नासिँदै गएको छ। तालको सिरानमा रहेको जंगल हुँदै मोटरबाटो खनेपछि माथिबाट बगेर आउने ग्रेगर र माटोले ताल पुरिनुका साथै यहाँको सिमसार क्षेत्र नासिँदै गएको स्थानीय ज्ञानेस पुन मगरले गुनासो गरे।
पहाडको टुप्पोमा रहेको यस तालमा बिहानीपख धवलागिरि र निलगिरि हिमालको छायाँ ऐना हेरेजस्तै स्पष्टै देख्न सकिन्छ। गाउँको सिरानमा र जंगलको पुछारमा रहेको यो ताल कहिल्यै फोहर हुँदैन। यहाँ जंगलका पात पतिङ्गर परिहाले भने पनि पक्षीले चुच्चोले टिपेर बाहिर फ्याँक्ने गर्दथे। तर पछिल्ला चार वर्षयता यहाँका रैथाने चरा देखिन छोडेको र ताल सफा गर्ने चरा पनि कम हुँदै गएका निस्कोट माध्यमिक विद्यालयका प्रधानाध्यापक एवम् स्थानीय बुद्धिबहादुर पुनले बताए।
'ताल वरपरको क्षेत्रमा बस्ती विस्तार हुँदा यस तालको अस्तित्व नै संकटमा परेको छ, सार्वजनिक जग्गामा यहाँका केही स्थानीयले अतिक्रमण गरी घर बनाएर बस्न थालेपछि तालमा फोहर बढ्नुको साथै तालको क्षेत्र पनि साँघुरिँदै गएको हो', स्थानीयवासी टकबहादुर पुनले भने, 'तालको सिरान र जंगलमा घुम्ती नै घुम्ती बनाएर मोटरबाट बनेपछि यस तालको सिमसार क्षेत्र पनि नासिएको छ, चिस्यान घटेको छ। यहाँका चरा देखिन छोडेका छन्। यही अवस्था रहिरहेमा यो तालको अस्तित्व नै खतरामा छ।'
कुनै फोहर वा जंगलका रुखबाट झरेर पात यो तालमा परेमा चराले सफा गर्ने गर्दथे। तर पछिल्लो समय यातायातका साधनको पहुँचसँगै मानिसको भिडभाड बढेपछि यहाँ पाइने चरा बसाइँ सरेर अन्यत्र जान थालेका छन्। 'आँखै अगाडि हिमाल तालमा तिनै हिमालको छायाँ लोभलाग्दो दृश्य हेर्न पाइन्छ', ताल अवलोकनका लागि पहिलो पटक निस्कोटमा आएका पर्वत कुश्माका बलराम श्रेष्ठले भने, 'बराह तालको जैविक विविधता र सिमसार संरक्षणका लागि स्थानीय तहको ध्यान जान आवश्यक छ।'
रोमाञ्चक भू-बनोट, हरियाली र विविधताले युक्त सुन्दर गाउँ, मनमोहक प्रकृति र यही प्रकृतिको सेरोफेरोमा रहेको चित्ता किसान बराहतालमा पछिल्लो समय आन्तरिक पर्यटकको भिड लाग्ने गरेको स्थानीय घरवास सञ्चालक रामकुमारी पुनले बताइन्।
झन्डै दुई रोपनीको क्षेत्रफलमा फैलिएको यो तालबाट मौसम खुलेको समयमा आँखै अगाडि सेताम्मे हिमालको लर्कन देखिन्छन्। बराह तालमा पुगेका पर्यटक यहाँको प्राकृतिक सुन्दरता र जैविक विविधतामा रमाउने गर्दछन्। यो ताल एक सय १३ मिटर लम्बाई, ६५ मिटर चौडाइमा फैलिएको छ। बर्खाको समयमा करिब २० मिटर गहिराइ हुने यो ताल हिउँदको समयमा भने पानीको सतह घटदा ८देखि १० मिटर गहिराइमा रहने पुनले जानकारी दिइन्।
बराह ताल क्षेत्रबाट संसारको सातौँ तथा नेपालको दोस्रो अग्लो चुचुरो धौलागिरि हिमालको साथै गुर्जा, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे, मानापाथीलगायतका आधा दर्जनभन्दा बढी हिमाल र मनोरम दृश्यको प्रत्यक्षरुपमा अवलोकन गर्न सकिन्छ। बराह तालमा वन जंगल र हिमाल देखिने प्रतिविम्ब (छाया)समेत आकर्षक रूपमा देखिने गर्दछ।
हिमालको वरिपरि लुकामारी खेलिरहने बादलको घुम्टोले अझै सुन्दरता थपिदिन्छ। पहाड र आकाश जोडिएको क्षितिजमा पर्ने हिमाल अनि तालमा देखिने हिमालको दृष्यले त्यहाँ पुग्नेलाई अचम्मित बनाउँछ। निस्कोट गाउँमा पुग्ने जो कोही पनि बराह तालको अवलोकन गर्न तथा ताललाई पृष्ठभूमिमा पारेर फोटो र सेल्फी खिच्न भनेर त्यहाँ जाने गरेका छन्।
बराह तालमा बिहान सबेरै दुईवटा जलहाँस जलक्रिडा गर्न आउने गरेको स्थानीयवासीले अनुभव सुनाउँछन्। तर पछिल्लो समय ती जलहाँस देखिन छोडेको उनीहरुको भनाइ छ। छिमेकी जिल्ला बागलुङको ताराखोला जोड्ने पदमार्गमा पर्ने पर्यटकीय महत्त्वको तालको आवश्यक प्रचारप्रसार गर्नुपर्ने स्थानीयवासीको भनाइ छ।
निस्कोट गाउँको डाँडाबाट छिमेकी ओखरबोट, रुमलगायत अन्य गाउँको आकर्षक दृश्य देखिन्छन्। निस्कोट गाउँ पर्यटनका साथसाथै कला र संस्कृतिमा पनि धनी छ। मगर समुदायको बाहुल्यता रहेको निस्कोटमा लोपोन्मुख यानीमाया, सुनीमाया, सालैजोजस्ता गीत सुन्न पाइन्छ। बराह ताल र निस्कोट गाउँको सुन्दरताले पर्यटकको मन लोभ्याइरहन्छ।
बराह ताल मुख्य आकर्षणको रुपमा रहेको निस्कोटमा पछिल्लो समय स्वदेशी पर्यटक भ्रमण गर्नका लागि पुग्ने गरेका छन्। बराह तालको पर्यटन प्रवर्द्धन गर्नका लागि यहाँको जैविक विविधताको संरक्षण गरी पर्यावरणीय शुद्धता कायम पालिकामार्फत आवश्यक पहल गरिने मालिका गाउँपालिका १ निस्कोटका वडाध्यक्ष टंकप्रसाद पुनले बताए।
अध्यक्ष पुनका अनुसार मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि दक्षिण भागमा पर्ने निस्कोट गाउँको सिमाना म्याग्दीको मंगला गाउँपालिका र बागलुङ जिल्लासँग जोडिएको छ। निस्कोटको पहिचान बोकेको बराहा तालको संरक्षणका लागि गण्डकी प्रदेश सरकारबाट प्राप्त चार लाख रूपैयाँ बजेटले ताल वरिपरि पर्खाल लगाइएको छ। यहाँको सीमसार क्षेत्र संरक्षणका लागि पालिकाले पहल गरिरहेको उनले जानकारी दिए।
कुल १७.३ वर्ग किमीमा फैलिएको निस्कोटमा जम्मा एक हजार नौ सय ९४ जनसङ्ख्या रहेको छ। जसमध्य महिलाको सङ्ख्या एक हजार २६ र पुरुष नौ सय ६८ रहेको उनले जानकारी दिए। निस्कोटमा मकै, कोदो, गउँ, जौ, राम्रो हुन्छ। यहाँ पुग्ने पर्यटकलाई घरवास सेवा उपलब्ध छ। यहाँ स्थानीय उत्पादनका खानाका परिकार दिइन्छ। विशेषगरी साउन महिनामा निस्कोटमा रहेको बराह तालको दृष्य निकै नै रमणीय देखिने वडाअध्यक्ष पुनले जानकारी दिए। रासस