बुधबार, माघ २ गते २०८१    
बुधबार, माघ २ २०८१
images
images

ग्रामीण महिलाको आम्दानीको मुख्य स्रोत आलु र कोदो

images
शनिबार, मंसिर ९ २०८०
images
images
ग्रामीण महिलाको आम्दानीको मुख्य स्रोत आलु र कोदो
फाइल तस्बिर

'यस क्षेत्रका महिला विशेषगरी व्यावसायिक कृषिमा रमाउन थालेका छन्। आलुखेती र कोदोबाट मनग्य आम्दानी हुने भएपछि यही खेतीमा उनीहरुको रस बसेको छ।'

images
images

गलेश्वर- यतिबेला पश्चिम म्याग्दीको ग्रामीण भेगका महिला हिउँदे आलु लगाउन व्यस्त छन्। भर्खरै चाडपर्व मनाएर धान र कोदो थन्क्याएका यहाँका महिला खेतबारी खनजोत गर्ने र आलु लगाउन व्यस्त भएका हुन्।

images
images
images

पश्चिम म्याग्दीको रणबाङ, बाबियाचौर, दरबाङदेखि निस्कोट, देविस्थान, रुमलगायतका गाउँका महिला कोही कोदो केलाउन, सुकाउन र बिक्री गर्न व्यस्त छन् भने कोही हिउँदे आलु लगाउन खेतबारीमा पौरख गरिरहेका भेटिन्छन्।

images

मङ्सिर जाडोको महिना। उत्तरतर्फ आँखै अगाडि चाँदी झैँ सेता टलक्क टल्केका हिमशृङ्खला। नागबेली हुँदै बगेको म्याग्दी नदी। चारैतिर हरियाली। हावामा बयेली खेलिरहेका फूल, भुर्रभुर्र उडिरहेका चरा। चिसो सिरेठोबाट बच्न टाउकामा बाक्लो ऊनको टोपी र शरीरमा पछ्यौरी बेरेर काम गरिरहेका भेटिन्छन् यहाँका महिला। यस भेगका ग्रामीण महिलाको आम्दानीको मुख्य स्रोत भनेको कोदो र आलु हो।

images
images
images

वैदेशिक रोजगार, सहर केन्द्रित बसाइँसराइ र अध्ययन वा व्यापार/व्यवसायलगायत कारणले गाउँ बस्ती युवाविहीन बन्दै गएपछि यहाँको सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्र महिलाकै कारण धानिएको मालिका गाउँपालिका-६ दरबाङका बुद्धिजीवी एवं पूर्वजनप्रतिनिधि सन्तोष सुवेदीले बताए।

'पछिल्लो समय ग्रामीण क्षेत्रका महिला स्वरोजगारतर्फ उन्मुख हुँदै गएका छन्। कुनै सीप, इलम वा व्यवसाय नगरिकन गाउँमा महिला त्यसै बसेका भेटिँदैनन्', उनले भने, 'यस क्षेत्रका महिला विशेषगरी व्यावसायिक कृषिमा रमाउन थालेका छन्। आलुखेती र कोदोबाट मनग्य आम्दानी हुने भएपछि यही खेतीमा उनीहरुको रस बसेको छ।'

पश्चिम म्याग्दीको लेकाली क्षेत्रमा उत्पादन भएको आलु स्वादिष्ट र पोषिलो हुने भएकाले यहाँ उत्पादित आलुलाई बजारको अभाव छैन। मालिका-२ रुमकी टीकाकुमारी विकले यस वर्ष आलु (बर्खेआलु) बिक्री गरेर ३२ हजार रूपैयाँ आम्दानी भएको बताए। विगतका वर्षमा बाँझै छोडिएको बारीमा अहिले आलुसँगै कोदोखेती गरिरहेको उनले बताए।

'चार वर्ष बाँझिएको जग्गालाई खनजोत गरी मल हालेर चार हजार रूपैयाँ खर्च गरी कोदो रोपेको छु। यहाँबाट सात मुरी कोदो उत्पादन भएको छ', विकले भने, 'कोदोका लागि अहिलेदेखि नै सहर बजारबाट माग भइरहेको छ। भकारीमा नथन्क्याउँदै खरिदका लागि ग्राहक आएका छन्।'

ओखरबोट र देविस्थानमा पनि पछिल्लो समय आलु र कोदो खेती विस्तार भएको छ। गत वर्ष चार मुरी कोदो र आलु बिक्री गरेर २२ हजार रूपैयाँ आम्दानी गरेकी मालिका-५ की सुकमती बुढाले यस वर्ष आलुबाट मात्रै १७ हजार रूपैयाँभन्दा बढी आम्दानी भएको जानकारी दिइन्। उनका अनुसार उत्पादित आलु प्रतिपाथी एक सय ५० देखि दुई सयसम्ममा बिक्री हुँदै आएको छ।

मालिका गाउँपालिकाका सातवटै वडामा व्यावसायिकरुपमा आलुखेती गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ।

एकल र समूहगतरुपमा यहाँका महिलाले आलुखेती गरेर मनग्य आम्दानी गर्न सफल भएका दरबाङका टीकाबहादुर सिउथानीले बताए। उनका अनुसार आलुसँगै पछिल्लो सयम यहाँका महिला कोदो उत्पादनतर्फ पनि आकर्षित भएका छन्।

सहरबजारबाट कोदोको माग आउन थालेपछि वर्षौँदेखि बाँझो रहेको जग्गामा खेती विस्तार गरिएको मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगरले बताइन्। 'कोदो घरेलु मदिरा उत्पादन र सहरबजारमा खानाका लागि प्रयोग हुँदै आएको छ। पछिल्लो समय कोदोको माग अत्यधिक हुन थालेपछि यहाँका किसानले भनेको मूल्य पाएका छन्', उनले भनिन्, 'पालिकाले पनि कोदो खेतीलाई प्रोत्साहित गरेको छ। कोदोबाट बनेको मदिरालाई ब्राण्डिङ गरी बजारीकरणका लागि पनि छलफल भइरहेको छ।'

आफूले उत्पादन गरेको कृषिउपजले बजार पाएपछि यहाँका किसान खुसी भएका मालिका-१ का वडाध्यक्ष टंकप्रसाद पुनले बताए। महिला आम्दानीसँग जोडिएपछि गाउँको आर्थिक अवस्था पनि सबल बन्दै गएको स्थानीय जनप्रतिनिधिको भनाइ छ। 

साथै स्थानीय महिलाले वन पैदावरबाट पनि मनग्य लाभ लिँदै आइरहेका वडाध्यक्ष पुनले बताए। उनका अनुसार वनमा पाइने रातो च्याउ, जंगली फलफूललगायतका वनस्पतीबाट पनि यहाँका महिला आम्दानी गर्दै आइरहेका छन्। रासस


प्रकाशित : शनिबार, मंसिर ९ २०८००८:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend