काठमाडौं- सिमेन्ट निर्यातमा उत्साह देखिएको छ। नेपालबाट अहिले भारततर्फ तीनवटा सिमेन्ट उद्योगले सिमेन्ट निर्यात गरिरहेका छन्।
चालु आर्थिक वर्ष २०८०/०८१ को चार महिना साउनदेखि कात्तिकसम्ममा नेपालबाट भारततर्फ १ अर्ब १३ करोड रुपैयाँको सिमेन्ट निर्यात भएको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ८ लाख ६ हजार ७ सय १८ टन सिमेन्ट तथा क्लिङकर भारत निर्यात भएको छ। सिमेन्ट निर्यातमा सरकारले अनुदान दिने घोषणासँगै सिमेन्ट निर्यातमा उत्साह सुरु भएको हो।
व्यवसायीले अहिलेसम्म गत आवको सिमेन्ट निर्यातबाट पाउनुपर्ने अनुदान तथा छुटहरु पाएका छैनन्।
सरकारी तवरबाट पहिले विगतका पुरानो बाँकी रहेकाहरुलाई निर्यात अनुदान दिएपछि मात्रै सिमेन्ट उद्योगीले अनुदान तथा छुट पाउने बताएका छन्।
अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले ३/३ महिनामा विवरण बुझाएपनि अनुदान फिर्ता रकम नपाएको बताए।
सरकारले अनुदात फिर्ताको कार्यविधि बनाएपनि कार्यान्वयनमा नआएको उनको भनाइ छ।
व्यवसायीले अहिले अनुादान रकम पाउने आशामै उधारोमा सिमेन्ट निर्यात गरिरहेको उनले बताए। जतिसक्दो छिट्टो अनुदान फिर्ताको निर्णय कार्यान्वयनमा जान्छ त्यति निर्यातमा उत्साह हुने उनको भनाइ छ।