काठमाडौं- सरकारले सुन तस्करीको छानबिन गर्न गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगमा चार जना सदस्य थप्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एक उपसचिव, सरकारी वकिल, राजस्वका उपसचिव र प्रहरी नायब उपरीक्षक (डीएएसपी) थप गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
मन्त्रिपरिषद्को असोज १४ को बैठकले पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो। आयोगको सदस्यमा पूर्वसहसचिवद्वय किशोरजंग कार्की र प्रेमराज जोशी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा थिए।
यस्तै बैठकले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरेको मन्त्री शर्माले जानकारी दिइन्।
उपरथी पाण्डेको राजीनामा गत कात्तिक २४ गतेदेखि लागु हुने गरी स्वीकृत भएको हो। उपरथी पाण्डेले व्यक्तिगत कारण देखाएर आफ्नो पदबाट राजीनामा दिएका थिए। यस्तै ऊर्जा सचिव घिमिरेले पनि व्यक्तिगत कारण देखाउँदै पदावधि सकिनु एक महिना अगावै राजिनामा दिएका हुन्।
विद्युतीय सुशासन आयोगको सदस्य पदमा कञ्चनपुरका पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ।
मन्त्री शर्माका अनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रयाङ्क चार दशमलव ४६५ मिलियन (करिब ६५ करोड रूपैयाँ) अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ।