मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

बेनी-भकुण्डे सडक : ट्र्याक खुलेको डेढ दशकसम्म भएन स्तरोन्नति

images
मंगलबार, मंसिर ५ २०८०
images
images
बेनी-भकुण्डे सडक : ट्र्याक खुलेको डेढ दशकसम्म भएन स्तरोन्नति

समय सयममा सामान्यरुपमा सडक मर्मतको काम हुने भए पनि अझैसम्म यातायातका साधन सञ्चालन हुन सक्नेगरी मर्मत हुन नसकेको स्थानीयवासीको गुनासो रहेको छ।

images
images

गलेश्वर- म्याग्दीको बेनी नगर कार्यपालिकाको प्रवेशद्वारदेखि सोही नगरपालिका-२ ज्यामरुककोटको भकुण्डे जोड्ने बेनी-लभ्लीहिल-भकुण्डे सडक खुलेको १६ वर्ष पुगिसकेको छ। सडक खुलेको लामो समय बितिसक्दा पनि सडकको अवस्था उस्तै छ। सडकको अवस्थामा सुधार नहुँदा स्थानीयवासी बेनी-रत्नेचौर-भकुण्डे हुँदै घुमाउरो र कठिन यात्रा गर्न बाध्य छन्।

images
images
images

विसं २०६५ मा ‘ट्र्याक’ खुलेको बेनी-लभ्लीहिल-भकुण्डे सडक स्तरोन्नति नहुँदा अहिलेसम्म मोटरसाइकल र ट्र्याक्टरबाहेक अरू सवारी साधन सञ्चालन हुन नसकेका स्थानीय कृष्णबहादुर घिमिरेले बताए। सवारीसाधन सञ्चालन हुने गरी सडक मर्मत नहुँदा स्थानीयलाई सास्ती भोग्नुपरेको उनको भनाइ छ। विसं २०६५ मा ट्र्याक खोल्ने काम भए तापनि बाटोमा संघ, प्रदेश र स्थानीय सरकारको ध्यान नजाँदा जोखिम मोलेर यात्रा गर्नु परेको खबराका चन्द्रबहादुर कार्कीले बताए।

images

'अहिलेसम्म बेनीबाट जिप वा बसमा चढेर गाउँमा आउन पाइएको छैन,' कार्कीले भने, 'खेतबारीमा फलाएका तरकारी र फलफूल पनि डोकोमा बोकेर बिक्री गर्न बजार लैजानुपर्छ, सडक हुनु र नहुनुको अर्थ नै भएन।'

images
images
images

समय सयममा सामान्यरुपमा सडक मर्मतको काम हुने भए पनि अझैसम्म यातायातका साधन सञ्चालन हुन सक्नेगरी मर्मत हुन नसकेको स्थानीयवासीको गुनासो रहेको छ। बर्सातको समयमा बाढीपहिरो तथा हिलाम्य र हिउँदको समयमा धुलाम्य भएर पैदल र मोटरसाइकलमा कठिन यात्रा गर्नु परेको बेनी नगरपालिका-२ सानालेखका नारायण शर्माले बताए। साढे सात किलोमिटर कच्ची उक्त सडकमा जिप, बसलगायतका साधन चल्न सक्ने अवस्था नहुँदा बेनीबाट रत्नेचौर हुँदै साढे १४ किलोमिटरको घुमाउरो सडक पार गरेर जिप भकुण्डेसम्म पुग्छ।

बाटोको समस्याकै कारण म्याग्दीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल ज्यामरुककोटको खड्गभवानी कोतमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई समस्या भएको छ। बाटोको मर्मत सुधार गरी यातायातका साधन सञ्चालन हुनसक्ने बनाउन सके ज्यामरुककोटमा पर्यटक पुग्नाका साथै स्थानीयलाई दैनिक उपभोग्य सामग्री खरिद गर्न सहज हुने स्थानीय भीमबहादुर पौडेलले बताए। उक्त सडक मर्मतका लागि हालसम्म करिब एक करोड रूपैयाँ खर्च भइसकेको छ।

वडा नं २ का वडाध्यक्ष यामबहादुर कार्कीले कमजोर भूबनोट, धेरै घुम्ती भएको र वन क्षेत्र रहेकाले बेनी-भकुण्डे मोटरबाटो जति मर्मत गरे पनि सुधार हुन नसकेको बताए। सडकको स्तरोन्नतिका लागि ठूलै बजेट आवश्यक पर्ने उनको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, मंसिर ५ २०८००८:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend