काठमाडौं- सरकारले सोमबार सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णयको आलोचना हुन थालेको छ।
मनोरञ्जन सेगमेन्टको सामाजिक सञ्जल टिकटक सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बन्द गर्ने निर्णय गरेको हो। सरकारको उक्त निर्णय बाहिरिएसँगै यसको चौतर्फी आलोचना हुन थालेको हो।
सत्ता पक्षकै सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले टिकटको बन्द गर्ने निर्णय गरेर उल्टो बाटो हिँडेको बताएका छन्।
'सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो। यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो,' थापाले भनेका छन्, 'यसमा सरकारको नियत 'अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता' लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।'
सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो। टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम बढ्दै गएकाले त्यस्त गतिविधि नियन्त्रण गर्न त्यसलाई बन्द गर्ने निर्णय भएको सरकारले जनाएको छ।
पछिल्लो समय टिकटक संसारभर चर्चामा छ। टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेगरि काम अघि बढाएको हो।
टिककट नै विश्व बजारमा सबैभन्दा धेरै रूचाइएको एपमा पर्दछ।