काठमाडौं- सेयर बजार परिसूचक नेप्से यो साताको चार दिन निकै उतारचढावमा देखिएको छ। आइतबार घटेको सेयर बजार सोमबार झिनो अंकले बढेको थियो। तर पुन: मंगलबार घटेको बजार बुधबार भने झिनाे अंकले बढेकाे छ।
बुधबार बजार १.८२ अंकले बढेर २७३४.९४ बिन्दुमा पुगेको छ। बुधबार ७४ लाख ४५ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ।
यो साताको पहिलो दिन आइतबार सेयर बजार ११.६० अंकले घटेर २७५७.५३ अंकमा आइपुगेको थियो। यस्तै सोमबार ७.९० को झिनो अंकले बढेको बजार २७६५.४४ अंकमा पुगेको थियो। मंगलबार भने भारी गिरावट आएको थियो। मंगलबार बजार ३२.२९ अंकले घटेर २७३३.१४ बिन्दुमा झरेको थियो।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा यसै साता ल्याउने भएपछि लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा नै रहेका छन्। राष्ट्र बैंकले गत साउन २९ गते सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाइ गरेको थियो। जसको प्रभाव सेयर बजारमा लगातार देखिइरहेको छ।
लगानीकर्ताहरू मौद्रिक नीतिको समीक्षाअघि विश्वस्त भएर कारोबारमा लागेका छैनन्। सम्भवत शुक्रबार माैद्रिक नीतिकाे समिक्षा आउने हल्ला चलाइएकाे छ। जसका कारण पनि लगानीकर्ता समीक्षा कुरेर बसेका छन्। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दबाबमा परेर नीति परिवर्तन नगर्ने भन्दै गरेको संकेतले पनि लगानीकर्ता पर्ख र हेरकाे अवस्थामा नै रहेका छन्।
मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा सीमा घटाएर व्यक्त्तिगत तर्फ ४ करोड र परिवार/संस्थागततर्फ १२ करोड रुपैयाँ तोकेको थियो।
मौद्रिक नीतिको समीक्षामार्फत सेयर धितोकर्जाको संशोधन हुने हल्ला चलिरहेकाले पनि केही दिनदेखि सेयर बजारमा निरन्तर उतारचढाव देखिएको विश्लेषकहरू बताउँछन्।