आइतबार, वैशाख २३ गते २०८१    
images
images

पत्रकार अर्जुन थपलियाले बदलेको छवि

images
images
images
पत्रकार अर्जुन थपलियाले बदलेको छवि

पत्रकारिताले जीवन धान्न कठिन हुने भएकाले जीविकोपार्जनका लागि कृषि पेसा अँगालेको उनले बताए। उनले पछिल्लो समय वार्षिक ४० लाख रूपैयाँभन्दा बढीको तरकारी बिक्री गर्ने गरेका छन्। तरकारी खेतीसँगै उनले पशुपालन पनि गरिरहेका छन्। स्थानीयलाई रोजगारी पनि दिएका छन्।

images
images

सिरहा- धेरैलाई लाग्छ पत्रकारले अरुका सफलता र असफलताका कथा मात्रै लेख्छन्। आजभन्दा चार दशक अगाडिदेखि सिरहाको गोलबजार नगरपालिका-२ गुरुधामका अर्जुन थपलियाको सयम पनि अरुको बारेमा लेख्दै बितिरहेको थियो।

images
images
images

अचेल भने उनी अरुका लागि समाचारको विषय बनेका छन्। पछिल्लो समय उनले व्यावसायिक तरकारी उत्पादक कृषकका रुपमा छवि बनाएका छन्। नेपाल पत्रकार महासंघ सिरहा शाखाको कार्यसमिति सदस्यसमेत रहेका थपलिया पत्रकारितासँगै करिब एक दशकदेखि निरन्तर व्यावसायिक तरकारी खेतीमा सक्रिय छन्।

images

उनले करिब पाँच बिघा जमिनमा तरकारी खेती गरिरहेका छन्। पत्रकारिताले जीवन धान्न कठिन हुने भएकाले जीविकोपार्जनका लागि कृषि पेसा अँगालेको थपलियाले बताए। अहिले वार्षिक ४० लाख रूपैयाँभन्दा बढीको तरकारी बेचेर आम्दानी गर्ने गरेको जनाउँदै उनले पत्रकारितामा हुँदाजस्तो आर्थिक अभावबाट मुक्ति मिलेको बताए।

images

'पत्रकारितामा नाम त छ तर आर्थिकरुपमा जीवन धान्न धौधौ छ। मोफसलमा त विशुद्ध पत्रकारिता गरेर सामान्य जीवनयापन गर्न पनि सकिँदैन', थपलियाले भने, 'आर्थिक अभाव टार्नका लागि पनि मैले व्यावसायिकरुपमा कृषि कर्म सुरु गरेको हुँ।' 

images
images

विसं २०६० भन्दा अगाडि करिब २० वर्षसम्म विभिन्न संघसंस्थामा जोडिएर सामाजिक काम गरेका थपलिया पत्रकारितामा भने सानै उमेरदेखिको रुचिको रुपमा रहेको बताउँछन्। 'पत्रकारिता सानैदेखिको रुचिको विषय भए पनि यसबाट श्रमजीवी पत्रकारको जीविकोपार्जनमा समस्या देखेपछि व्यावसायिक तरकारी खेती सुरु गरेँ। पत्रकारिता र कृषि फरक विधा भएता पनि सँगसँगै लगेको छु', उनले भने, 'अहिले वार्षिक ४० देखि ५० लाख रूपैयाँको तरकारी बिक्री गरिरहेको छु। यसले १५ जना सदस्य रहेको परिवारको जीविका चलाउन सहज भएको छ।'

खेतीपातीमा श्रीमती एलिना राई र भाइ माधव थपलियालगायत परिवारका अन्य सदस्यले पनि साथ दिइरहेको थपलियाको भनाइ थियो। आम्दानीबाट परिवारका सात बालबच्चालाई काठमाडौं राखेर पढाइरहेको उनले बताए।

'वर्षको १०/१२ लाख केटाकेटीको पढाइमा खर्च हुन्छ। परिवारमा १५ जनाकोे जीविका यही तरकारी खेतीबाट चलेको छ', थपलियाले भने, 'कृषिलाई हेयका दृष्टिले हेर्ने चलन छ। आफू उत्पादनसँग जोडिन पाउँदा खुसी लागेको छ। आफूले कर्म गरेपछि कसैको अगाडि हात फैलाउनु पर्दैन।'

बारीभरि लगाइएको तरकारीले जो कसैको मन आनन्दित बनाउने गर्दछ। बारीसम्म तरकारी ढुवानी गर्ने गाडी लिएर व्यापारी पुग्ने गरेको उनले बताए। साथै जिल्लाका स्थानीय हाटबजार तथा गोलबजारमा मङ्गलबार र शनिबार, चोहर्वामा सोमबार र बिहीबार, धनगढीमाइमा आइतबार र बुधबार गरी हप्ताको छ दिन तरकारी बेचबिखन हुने थपलियाले जानकारी दिए। उदयपुरको गाईघाट र कटारी, धनुषाको जनकपुर, सप्तरीको राजविराज र भारतको सीमावर्ती गाउँसम्म पनि तरकारी बिक्रीवितरण हुने उनले जानकारी दिए।

तरकारी खेतीसँगै उनले पशुपालन पनि गरिरहेका छन्। दुई भैँसी र २५ वटा बाख्रा पालेका छन्। पशु चौपायालाई घासपातका लागि करिब दुई बिघामा फैलिएको बाँस र अन्य घाँसे बुट्यानसहितको वन रहेको थपलियाले बताए। 'यही वनले काठ, दाउरा र घाँसपात धानिरहेको छ। वर्षमा दुई लाख बराबरको बाँस मात्र बिक्री गर्ने गरेको छु', उनले भने, 'अब यो वर्षबाट व्यावसायिकरुपमा एक सय बाख्रा थप्ने योजना छ।'

स्थानीयलाई रोजगारी सिर्जना

पत्रकारिताबाट आफ्नो जिन्दगी धान्न मुस्किल रहेको बताउने थपलियाले अहिले गरिरहेको तरकारी खेतीबाट तरकारी टिप्न, गोडमेल गर्न र बजारसम्म लैजानका लागि १० जनालाई नियमित रोजगारी दिएका छन्। सिजनअनुसार १५/२० जनाले थप रोजगारी पाउने उनको भनाइ थियो।

कृषिको विकास र उत्पादनको बजारीकरणबाट मात्र आर्थिक समृद्धिको आधार तयार हुने थपलियाको निष्कर्ष छ। 'काठमाडौं कालीमाटी तरकारी बजारसम्म नेपाली किसानको पहुँच पुग्न नसक्नु र नेपालका अन्य ठूला सहरमा भारतीय तरकारीको हालीमुहाली हुनु नेपाली व्यावसायिक तरकारी कृषकका लागि दुःखको कुरा हो।

भारतीय तरकारीको आलोपालो प्रणाली भएकाले नेपाली किसान मारमा छन्', थपलियाले भने, 'बजारमा स्थानीय उत्पादनको पुर्णरुपमा पहुँच भएको दिन मुलुकको आर्थिक अवस्थामा कायापलट हुने थियो। विदेश गएका नेपालीलाई स्वदेशमै रोजगारी दिन सकिन्छ। यहाँ जनशक्तिको अभाव हुन्छ।' साथै विभिन्न तहका सरकारले किसानका लागि चिस्यान केन्द्र बनाउनुपर्नेमा उनले जोड दिए।

कृषक सहयोगी निकाय नै छैनन्

वास्तविक किसानका लागि कुनै पनि निकाय तथा विभाग सहयोगी नभएको गुनासो थपलियाले गरे। स्थानीय सरकारले कृषि पेसालाई प्रोत्साहनका साथ ध्यान दिन जरूरी रहेको उनको भनाइ थियो। 'व्यावसायिक उत्पादनमा लाग्न खोज्ने कृषकका लागि सस्तो ब्याजदरमा ऋणको व्यवस्था गर्न जरुरी छ', उनले भने, 'कृषिमा गरिएको लगानीबाट देशलाई नै आत्मनिर्भर बनाउन सकिन्छ।'

तरकारी किसानलाई जिल्लाका सरकारी निकायका अधिकारीले बेवास्था गरेको भन्दै थपलियाले हालसम्म अनुदान तथा सहयोग नपाएको बताए। 'पहिलो कुरा हाम्रोमा कृषिलाई हेयका दृष्टिकोणले हेरिएको छ। कृषि ऋणका लागि किसानलाई देखेपछि बैंकका कर्मचारी ‘नदुखेको टाउको डोरी कसेर दुखाउनु’ भने जस्तो गर्छन्', उनले भने, 'वास्तविक किसानलाई १०/२० लाख रूपैयाँ चाहिनेमा बरु फर्जी किसानले सजिलै करोडौँ रुपैयाँ लिएर दुरुपयोग गरिरहेका हुन्छन्।' 

मल, खाद्य, सिँचाइ, कृषि बिमा तथा नयाँ रोगलगायत समस्या झेलेर किसानले तरकारी उत्पादन गरे पनि विचौलियाका कारण किसान मार्कामा परेका थपलियाले बताए। कृषि मन्त्रालय तथा सम्बन्धित निकायले कृषि पेसालाई व्यवस्थित बनाउँदै बजारीकरणमा सहयोग पुर्‍याउनुपर्नेमा उनले जोड दिए।

श्रमजीवी पत्रकार र जीविकोपार्जन

श्रमजीवी पत्रकार ऐनको पूर्णरुपमा कार्यान्वयन नहुनु र पत्रकारलाई न्यूनतम पारिश्रमिकसमेतको व्यवस्था नहुँदा समग्र पत्रकारिता पेसा नै ‘मागीखाने भाँडो’जस्तो बद्नाम हुनसक्ने भएकाले सरकारले यस सम्बन्धमा ध्यान दिन जरुरी रहेको थपलियाको भनाइ छ।

'स्वाभिमान जोगाएर पत्रकारिता गर्ने हो भने या त मिडिया हाउसले श्रमजीवी पत्रकारलाई पुग्नेगरी सामाजिक न्याय र सुरक्षाका हिसाबले न्यूनतम पारिश्रमिक दिनुपर्‍यो, होइन भने पत्रकारले आफ्नो पौरखले कतै केही गर्नुपरो। नभए उपाय छैन', उनले भने, 'आफ्नै पौरख र मेहनतका भरमा व्यावसायिक कृषि पेसामा हात हालियो। सामाजिक विषयमा सशक्त कलम चलाउन छाडेको छैन। म कसैसँग डराउने तथा मोलाहिजा गरेर कलमलाई बन्द गर्दिनँ।'

विसं २०४० मा ८ कक्षामा अध्ययनरत हुँदै गर्दा भित्तेपत्रिका प्रकाशन गरी पत्रकारिता सुरु गरेका थपलिया तत्कालीन समयमा भित्तेपत्रिका निकालेकै आधारमा बिनाकारण दुई दिन थुनामा परेको घटना अहिले पनि ताजै लाग्ने बताए। 'पत्रकारितामा असाध्यै रुचि भए पनि यसैका कारण धेरै दुःख पनि पाइयो। अलि चर्चा हुन थालेपछि समाचार लेखेकैभरमा अनेक मुद्दा लगाएर फसाइयो', उनले भने।

images

प्रकाशित : शनिबार, कात्तिक २५ २०८०११:३९

प्रतिक्रिया दिनुहोस