सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता

images
शनिबार, कात्तिक २५ २०८०
images
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता

भूकम्पले चिराचिरा पारेको घर पानी पर्न सुरु भएसँगै भत्कने चिन्ता थपिएको छ। कसैले एकसरो त्रिपाल नपाएको अवस्थामा कसैलाई दुई पटकसम्म दिएको पाइएको भेरी नगरपालिका-३ का स्थानीय बताउँछन्।

images
images

जाजरकोट- जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितलाई पुग्ने गरी राहत सामग्री पठाएको दाबी गरे पनि सबै भूकम्प पीडितकहाँ अझै राहत सामग्री पुगेको छैन। भूकम्पका कारण घरबिहीन बनेका प्रभावित खुला चौरमा त्रिपाल र खाद्यान्नको कुरिरहेका छन्। त्यसमाथि आज बिहान पर्न थालेको पानीले थप जोखिम थपेको छ।

images
images
images

भूकम्पले चर्किएका घर पानीले भत्काउने सम्भावना बढेको छ। त्रिपालबिना खुला चौरमा बसिरहेका सर्वसाधारणमा ज्वरो, टाइफाइड सुरु भएको नलगाड नगरपालिका-८ का रामप्रसाद खत्रीले बताए।

images
images

बारेकोट गाउँपालिका-१ धौलाकोटमा पनि राहत सामग्री पुग्न सकेको छैन। स्थानीय हरिबहादुर थापाले भूकम्पपीडितमा चिसोका कारण ज्वरो र झाडापखाला देखा परेको बताए। उनले भने, 'गाउँपालिकासँग जति पटक माग्दा पनि राहत पाइएको छैन, भूकम्पको केन्द्रबिन्दु रामीडाँडादेखि धौलाकोट नजिकैको गाउँ हो तर अहिलेसम्म त्रिपाल पनि पुगेको छैन।' 

images
images

बारेकोट चिसो ठाउँ हो। बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले राहत पर्याप्त नभएको र सबैले नपाएको बताए। उनका अनुसार बारेकोटमा अझै एक हजार सात सय थान त्रिपाल अपुग छ।  

नलगाड नगरपालिकामा पनि सबैलाई राहत पुगेको छैन। नगरपालिकाको वडा नं १ देखि ७ सम्म राहत वितरण गरिए पनि वडा नं ८ देखि १३ का बासिन्दाले राहत सामग्री पाएका छैनन्। नलगाड वडा नं ८ बारेकोट गाउँपालिकाको वडा नं ८ सँग जोडिएको पालिका हो भने वडा नं ९ बारेकोटको धुमालगायतका क्षेत्रसँग जोडिएको क्षत्र हो।

नलगाड वडा नं ८ पालिकामा सबैभन्दा धेर जनसङ्ख्या भएको क्षेत्र हो। त्यहाँ केही संस्थाले आफूखुसी राहत सामग्री वितरण गर्दा सबैले नपाएको स्थानीय भीमबहादुर खत्रीले बताए। प्रभावकारीरुपमा अनुगमन तथा निरीक्षण नगरी निर्णय गर्दा आफूहरु पीडित भएको उनको भनाइ छ।

भूकम्पका कारण नलगाड-८ का सबै घरमा क्षति पुगेको छ। बतासे चिउरी बर्मा वन सामुदायिक संस्थाका सचिव जयबहादुर खत्रीका अनुसार बाहिरबाट हेर्दा सग्लो घर देखिए पनि बस्न लायक कुनै पनि घर छैनन्। 

आज बिहानदेखि पर्न थालेको पानीले प्रभावितलाई थप पीडा दिएको छ। अधिकांश घरबाट छाएको ढुंगा झरेका छन्। भूकम्पले चिराचिरा पारेको घर पानी पर्न सुरु भएसँगै भत्कने चिन्ता थपिएको छ। कसैले एकसरो त्रिपाल नपाएको अवस्थामा कसैलाई दुई पटकसम्म दिएका पाइएको भेरी नगरपालिका-३ का रामकली थापाले बताइन्।

सदरमुकाम खलङ्गामा कोठा भाडामा लिएर बस्नेलाई कसैले पनि राहत पाएका छैनन्। राहत माग्न जाँदा घर मालिकको मात्रै नाम भेटिने गरेको र आफूहरुलाई सूचीमा नाम नै नभएको बारेकोट गाउँपालिका-४ घर भइ सदरमुकाममा बस्दै आएका मालबहादुर सिंहले गुनासो गरे। नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य प्रभात चलाउनेले पालिकामा धेरै राहत आएको भनिए पनि अझै ४० प्रतिशतले राहत नपाएको बताए। रासस


प्रकाशित : शनिबार, कात्तिक २५ २०८००७:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend