काठमाडौं- जाजरकोट भूकम्पमा १३ जिल्लामा २६ हजार ५ सय २८ घर पूर्णरुपमा क्षति भएको छ। राष्ट्रिय आपतकालीन सञ्चालन सेन्टरका अनुसार बुधबार ५ बजेसम्म ३५ हजार ३ सय ९५ घरमा आंशिक क्षति भएको छ।
गत शुक्रबार राति गएको भूकम्पमा परेर अहिलेसम्म १५३ जनाको मृत्यु भएको छ भने ३६४ जना घाइते भएका छन्।
सबैभन्दा बढी प्रभावित जाजरकोटमा १०१ जनाको मृत्यु भएको छ भने १४५ जना घाइते भएका छन्। यहाँ २४ हजार ७ सय ७ घरमा आंशिक क्षति हुँदा ९ हजार ७ सय ९४ घरमा पूर्ण क्षति भएको छ।
त्यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु हुँदा २ सय जना घाइते भएका छन् भने यहाँका १६ हजार ५ सय ७० घरमा पूर्ण क्षति भएको छ। त्यस्तै ९ हजार ९ सय ६१ घरमा आंशिक क्षति भएको सेन्टरले जनाएको छ।
६.४ रेक्टरस्केलको भूकम्पपछि रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालिकोट, प्युठान र अछाम जिल्लासम्ममा असर गरेको सेन्टरले जनाएको छ।