शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

हुलाकी सडक : साढे ६ वर्षमा पनि सकिएन कञ्चनपुर खण्डको काम

images
मंगलबार, कात्तिक २१ २०८०
images
images
हुलाकी सडक : साढे ६ वर्षमा पनि सकिएन कञ्चनपुर खण्डको काम

३० महिनाभित्र सम्पन्न गरिसक्ने गरी निर्माण थालिएको साढे ६ वर्षमा पनि कञ्चनपुर खण्डको काम पूरा हुन सकेको छैन।

images
images

महेन्द्रनगर- ३० महिनाभित्र कालोपत्र गरिसक्ने गरी कञ्चनपुरमा ६४ किलोमिटर हुलाकी सडक निर्माण थालिएको साढे ६ वर्षमा पनि पूरा हुन सकेको छैन। विसं २०७३ फागुनमा निर्माण सम्झौता भई कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने एकमात्र सडक तोकिएको समयभन्दा दोबर समय बितिसक्दा पनि कालोपत्र हुन नसकेपछि स्थानीयस्तरमा विरोधका कार्यक्रम अघि बढ्न थालेका छन्।

images
images

धनगढीस्थित हुलाकी राजमार्ग योजना कार्यालयका इन्जिनियर दीपक सुनारले कञ्चनपुरको तीनवटा प्याकेजमध्ये हुलाकी सडकको दुईवटा खण्डको ५० प्रतिशतभन्दा बढी काम बाँकी रहेको बताए। 'पाँचौँ पटक थपिएको म्याद गत असारमा सकिएपछि निर्माण कम्पनीलाई काम गर्ने समय थप गरिएको छैन,' उनले भने, 'अहिले आएर बल्ल ठेकेदारहरुले काम गर्ने तयारी गरिरहेको देखिन्छ।'

images
images

कञ्चनपुरमा डोकेबजारदेखि बेलौरीसम्मको २० किलोमिटरको पहिलो प्याकेज पाँचौँ पटकको म्याद थपमा सकिएको थियो। यहाँ बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजमा साढे नौ किलोमिटर सडक मात्रै कालोपत्र भएको छ भने बाँकी कालोपत्र गर्न निर्माण कम्पनीले सुरसार गरिरहेको कार्यालयको भनाइ छ।

images
images

उक्त कामको जिम्मा ४१ करोड ४१ लाख रूपैयाँमा बाबा हंस-सिद्धिसाई जेभीले पाएको थियो। सो प्याकेजको पचुँइ क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्र गर्न गरेको अवरोध कायम छ।

त्यसैगरी हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी-दैजी) २२ किलोमिटरमध्ये साढे आठ किलोमिटर सडक मात्रै कालोपत्र भएको इन्जिनियर सुनारले बताए। सो प्याकेजमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने भूभाग कालोपत्र हुन सकेको छैन। समयमा सडक बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीले बुधबारदेखि सो हुलाकी सडकमा पैदल यात्रा गर्ने अभियान सञ्चालन गर्दैछ।

उक्त पार्टीका नेता जनक धामीले दोबर समय सकिँदा पनि सडक नबनेपछि आफूहरु रचनात्करुपमा दबाद दिन ६४ किलोमिटर नै पैदल यात्रा गर्न लागेको बताए। 'समयमा सडक नबन्दा दुई जनाले सो सडकमा ज्यान गुमाउनुका साथै दक्षिण क्षेत्रको उत्पादन बजारसम्म सहजरुपमा पुर्‍याउन सकिएको छैन', उनले भने, 'सडकको धुलोधुवाँले स्वास्थ्यमा असर पार्नाका साथै खाल्डाखुल्डी सडकले सिकिस्त खालका बिरामीलाई अस्पताल पुर्‍याउन पनि गाह्रो छ।'

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा हुलाकी सडक निर्माणाधीन छ। कैलालीमा ७३ किलोमिटर सडक विभिन्न प्याकेजमा निर्माणाधीन रहेको हुलाकी सडक आयोजना कार्यालयले जनाएको छ।

हुलाकी राजमार्ग योजना कार्याला इन्जिनियर दीपक सुनारले कञ्चनपुरमा ०७३ फागुन र कैलालीमा २०७७ असारदेखि सडक निर्माण थालिएको जानकारी दिए। कैलालीको लम्कीदेखि टीकापुरसम्मको २९ किलोमिटर सडकमा आठ किलोमिटर कालोपत्र भएको छ भने बाँकी खण्डमा निर्माण जारी छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक २१ २०८०१०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend