काठमाडौं- नेपाल आयल निगमले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका हेलिकप्टर तथा जहाजमा प्रयोग हुने इन्धन रकम आफैले बेहोर्ने भएको छ।
भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाईजहाज तथा हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धनबापतको रकम आफ्नो आर्थिक वर्ष २०८०/८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट बेहोर्ने निर्णय भएको निगमले विज्ञप्तिमार्फत जनाएको छ।
शनिबार राति करिब ११:४७ मा जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो। भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ।
भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ। भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन्।