शुक्रबार, फागुन १८ गते २०८०    

ऐतिहासिक नगर पनौती : सम्पदामैत्री घर बनाउनेलाई प्रोत्साहन

images
images
ऐतिहासिक नगर पनौती : सम्पदामैत्री घर बनाउनेलाई प्रोत्साहन

पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार विसं २०५८ मा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ। पनौती विश्व सम्पदामा सूचीकृत भएपछि ‘पनौती युनेस्को विश्व सम्पदा क्षेत्र’ भनिनेछ।

images
काभ्रेपलाञ्चोक- ऐतिहासिक नगरपालिका पनौतीमा सम्पदामैत्री घर बनाउने अभियानलाई निरन्तरता दिइएको छ।
 
विविध जटिलताका कारण गत वर्ष रोकिएको सम्पदामैत्री घर निर्माणको काम हालै मात्र पुनः थालिएको वडा नं ७ कार्यालयले जनाएको छ। वडा नं ७ स्थित पुरातात्विक क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल गर्दै आइएको छ। पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न स्थानीयले प्रक्रियाका लागि पहल गर्न नगरपालिकालाई सुझाव दिएसँगै देखिएका विभिन्न जटिलता समाधान भइ सम्पदामैत्री घर पुनः निर्माण थालिएको वडाध्यक्ष सविन ताम्राकारले बताए।
 
उनका अनुसार सम्पदामैत्री घर निर्माण गर्न स्थानीयको पुर्जामा देखिएको क्षेत्रफलको विषय तथा पुरातत्व विभागको मापदण्डअनुसार निर्माण गर्ने विषयमा देखिएको विवाद समाधान गरिएको हो। संरक्षित क्षेत्रअन्तर्गत ऐतिहासिक पनौती सहरमा पुरातत्व विभागले दिएको मापदण्डानुसारको पुरानो शैलीमा निजी आवास बनाउन नगरले ७ नं वडाका केही स्थानीयलाई प्रोत्सहानस्वरुप आर्थिक सहयोग पनि गरेको थियो।
 
विभागले ताकेअनुसारको सार्वजनिक बाटो, गल्ली र चोकतर्फ मोहडा फर्किएको पुरानो शैलीको घर बनाउनेलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग दिइएको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए। उनका अनुसार पुरानो शैलीका विभागले तोकेअनुसारका घर बनाउँदा हाल महँगो पर्ने भएकाले पुरानो सहरको ऐतिहासिकता जोगाउन नगरले पनि सहयोग गर्न थालेको हो। 
 
ऐतिहासिक एवं पुरातात्विक तथा संरक्षित स्मारक क्षेत्र पनौती संयुक्त राष्ट्र संघीय अंग शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को)द्वारा २६ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो। युनेस्कोको मापदण्डको पूर्ण पालना गर्न स्थानीय घरलाई सम्पदामैत्री गरी पुनःनिर्माण तथा मर्मतलाई नगरपालिकाले प्रोत्साहन रकम दिन थालेको थियो।
 
'पुराना शैलीका घर पुनःनिर्माण वा मर्मत गर्न चाहने स्थानीयलाई दिने गरिएको प्रोत्साहन रकम पुनः दिन थालिएको छ, अब रोकिएका घरको पुनःनिर्माणलाई निरन्तरता दिनेछौँ', वडाध्यक्ष ताम्राकारले भने। उनका अनुसार हालसम्म ८२ स्थानीयले विभागको मापदण्डमा सम्पदामैत्री घर निर्माणार्थ नगरसँग प्रोत्साहन रकम माग गरेका छन्।
 
हालसम्म ११ घरलाई ९९ हजारदेखि तीन लाख ७८ हजार रूपैयाँसम्म प्रोत्साहन रकम प्रदान गरिएको नगरपालिकाले जनाएको छ। प्रोत्साहन रकम दिन थालेपछि आवास पुनःनिर्माण गर्नेले पनि पूरानै शैलीमा बनाउने प्रस्ताव गर्न थालेको जनाइएको छ। साथै पुरानै शैलीमा घर बनाउन चाहनेले झिंगटी, बलिया किसिमका काठ उपलब्ध गराउन तथा मर्मतसम्भारका लागि आर्थिक सहयोग उपलब्ध गराउन नगरसँग माग गर्दै आएको नगरपालिकाले जनाएको छ।
 
पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार विसं २०५८ मा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ। विश्वभर रहेका प्राचीन सम्पदाको पहिचान गरी त्यसलाई युनेस्कोले निर्धारण गरेको मापदण्ड पूरा भएपछि विश्व सम्पदाको सूचीमा राख्ने गर्दछ। यसैको सूचीमा सूचीकृत हुन पनौती लामो समयदेखि प्रक्रियामा रहेको हो। ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीको विश्वसम्पदा सूचीमा राख्न २६ वर्षदेखि प्रक्रिया थालिएको थियो।
 
यस्तै पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य तीन वर्षअघि बढाइएपछि युनेस्कोका नेपाल प्रमुख क्रिष्टियन मनहर्टले पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विकलगायत सम्पदाको अवलोकन गरेका थिए। अवलोकनका क्रममा मनहर्टले विशेष रुचिपूर्वक मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई मात्र विश्व सम्पदामा सूचीकृत गर्न युनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएका थिए।  
 
पनौती संघीय राजधानी काठमाडौंबाट पूर्वतर्फ २५ किलोमिटरको व्यापारिक नगर बनेपाबाट ६ किलोमिटर दक्षिणमा पर्दछ। नेपाल सरकारले हालसम्म पनौतीसहित १५ ऐतिहासिक एवं पर्यटकीय स्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको जनाइएको छ।
 
पनौती विश्व सम्पदामा सूचीकृत भएपछि ‘पनौती युनेस्को विश्व सम्पदा क्षेत्र’ भनिनेछ। युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने (जस्तै: वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा सहर) धरोहरहरुलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ। त्यो विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ । सोही समितिले नै यस सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्वावधानमा गर्ने नीति छ।
 
नेपालको चार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ। त्यसमा काठमाडौं उपत्यका (उपत्यकाका सात क्षेत्र : काठमाडौं दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन्। 


प्रकाशित : शनिबार, कात्तिक १८ २०८००९:२६

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ