काठमाडौं- लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड सहयोग गर्ने भएको छ।
आज तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए। साथै प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाउने निर्णयसमेत गरेको छ।
प्रदेशले यसअघि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाइसकेको छ। जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट मृत्यु भएका परिवारप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ।
यस्तै कोशी प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत र पुनर्स्थापनाका लागि एक करोड रूपैयाँ पठाउने निर्णय गरेको छ। शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पीडितको राहत, उद्धार र पुनर्स्थापनाका सम्बन्धित प्रदेशलाई एक करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको हो। कोशीले नगदसँगै राहत सामग्री पनि पठाउने निर्णय गरेको छ।
सुदूरपश्चिम र बागमती प्रदेश सरकारले यसअघि नै राहत घोषणा गरिसकेका छन्। भूकम्प पीडितलाई बागमती प्रदेशको डेढ करोड र सुदूरपश्चिम सरकारले एक करोड रुपैयाँ उपलब्ध गराउने भएका छन्।
केन्द्र सरकारले दुवै जिल्लामा तत्काल पाँच/पाँच करोड पठाउने निर्णय गरेको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको बैठकले भूकम्प प्रभावितको खोज/उद्धार र राहत व्यवस्थापनका लागि दुवै जिल्लामा तत्काल ५/५ करोड रूपैयाँ पठाउने निर्णय गरेको हो।