काठमाडौं- छिमेकी जिल्ला जाजरकोटको बारेकोट गाउँपालिका-१ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण जुम्लामा पाँचजना सामान्य घाइते भएका छन्।
जुम्लाको तातोपानी गाउँपालिका-३ बाहुनवाडा निवासी २६ वर्षीया सृजना गौतमको हातमा र उनका ११ महिनाका छोरा आयुषको आँखामा चोट लागेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार तातोपानी-३ का १४ वर्षीय निराजन उपाध्याय, तिला-३ दानीवाडाका ११ वर्षीया सपना थापा र तातोपानी-४ का हरि बहादुर खत्रीको घरको पर्खाल खसेपछि भाग्न खोज्दा खुट्टामा सामान्य चोट लागेको छ।
तिला गाउँपालिका-३, ५ र ९ का केही घर तथा विद्यालय चर्केका छन् भने चन्दननाथ नगरपालिका-८ निवासी विष्णु महतको घरको एउटा कोठा भत्किएको र अरू कोठा चर्किएका जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। यहाँका आठवटै स्थानीय तहका गाउँगाउँबाट भूकम्पले घरहरु चर्किएका खबरहरु आएको स्थानीय तहका प्रमुख बताउँछन्।
जिल्लामा भूकम्पबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए। जिल्लाकोे यकिन तथ्यांकका लागि प्रहरी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति गरेको छ।
यस्तै भूकम्पले अति प्रभावित जिल्ला रुकुम पश्चिममा ३० जना उपचारपछि घर फर्किएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक नमराज भट्टराईले जिल्ला अस्पताल सल्ले र नगर अस्पताल आठबिसकोटबाट ३० जना उपचारपछि घर पठाइएको जानकारी दिए। हाल ४० जनाको जिल्लामै र गम्भीर घाइते भएका १५ जनालाई थप उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको उनले जानकारी दिए।
उनका अनुसार भूकम्पका कारण जिल्लामा ३८ जनाको मृत्यु भएको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा २८ र सानीभेरी गाउँपालिकामा १० गरी ३८ जनाको मृत्यु भएको हो। हाल पनि घाइतेको उद्धार र खोजी जारी रहेकाले घाइते र मृतकको सङ्ख्या थप बढ्नसक्ने बताए। उद्धार र राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाजरकोट हुँदै रुकुमपश्चिमको चौरजहारी अस्पतालमा पुगिसकेका छन्। रासस