दाङ- लुम्बिनी प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिमका लागि २५ जना चिकित्सकको टोली प्रभावित क्षेत्रमा पठाएको छ। भूकम्पबाट घाइते भएकाहरुको उपचारका लागि दुई प्रादेशिक अस्पतालबाट २५ जना चिकित्सकको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाइएको हो।
तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका मेसु डा पदमराज अधिकारीको नेतृत्वमा २० चिकित्सक, औषधि र उपचार सामग्रीसहित प्रभावित जिल्लातर्फ प्रस्थान गरिसकेको प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जानकारी दिए।
उनका अनुसार प्रादेशिक अस्पताल बुटवलका एमडी जिपी डा सुनिल सुनारको नेतृत्वमा पाँचजनाको टोली औैषधि तथा उपचार सामग्रीसहित प्रस्थान गरेको छ। मुख्यमन्त्री चौधरीले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मासँगको समन्वयमा स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइएको बताए।
प्रदेशका सरकारका तर्फबाट प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयको नेतृत्वमा उद्धार टोली प्रभावित क्षेत्रमा प्रस्थान गरेको छ। यसअघि आज बिहान दाङबाट भूकम्पमा परी घाइते भएकाहरुको उद्धार तथा उपचारका लागि सशस्त्र प्रहरीको एक टोली पश्चिम रुकुमका लागि प्रस्थान गरिसकेको छ।
दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीका अनुसार सशस्त्र प्रहरीका १७ जनाको उद्धार टोली त्यसतर्फ पठाइएको हो। भूकम्पपीडितहरुका लागि जिल्लाबाट खाद्यान्नलगायत सामग्री आज नै पठाउने तयारी गरिरहेको उनले जानकारी दिए।
यस्तै गण्डकी प्रदेश सरकारले पनि भूकम्पबाट प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्रीसहितको चिकित्सक र स्वास्थ्यकर्मीको टोली पठाएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज एक अपिल जारी गरी प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउने उद्देश्यले चिकित्सकसहितको टोली त्यसतर्फ पठाइएको जानकारी दिए।
सरकारले प्रदेश सरकार मातहतको सङ्क्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख डा विकास गौचनको नेतृत्वमा मेडिकल, हाडजोर्नी र एनेस्थिेसियाको विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी का साथै उपचार सामग्री भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा पठाएको हो। स्थलमार्ग हुँदै जाने टोली आइतबार बिहान रुकुम पुग्ने र भूकम्पबाट घाइतेको उपचारमा खटिने छन्।
अपिलमा मुख्यमन्त्री पाण्डेले जाजरकोट र रुकुमपश्चिममा भएको ठूलो मानवीय तथा भौतिक क्षतिको घटनाले मर्माहत बनाएको उल्लेख गरेका छन्। 'विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न विभिन्न संघसंस्था तथा नागरिक समाजलगायत सम्बन्धित सबैलाई प्रदेश सरकार अपिल गर्दछौँ', अपिलमा भनिएको छ।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारकोतर्फबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, उपचार, राहत, पुनःनिर्माणलगायतका कार्यमा कर्णाली प्रदेश सरकारसँगको समन्वयमा आवश्यक सहयोग गर्ने प्रयास निरन्तर रहने बताएका छन्।
गएराति जाजरकोटको बारेकोट गाउँपालिका-१ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा मानवीय तथा भौतिक क्षति भएको छ। केन्द्र, प्रदेश र स्थानीय सरकारले उद्धार कार्य जारी राखेका छन्। रासस